बाइबल— जीवन परिवर्तन गर्ने पुस्तक

१७ वर्षका तिनी अस्पतालको बेडमा पस्रिरहेका थिए । तिनले विष सेवन गरेर आत्महत्या गर्ने प्रयास गरेका भए तापनि भाग्यवशः नमरेर तिनलाई त्यहाँ ल्याइएकोरहेछ । तिनी कुरा गर्ने अवस्थामा थिएनन् यद्यपि सुन्न भने सक्थे । कोही एक जनाले तिनकी आमाको हातमा बाइबल थमाइदियो । आमाले छोरोको लागि चर्को सोरमा यूहन्ना १४:१९ पढिन्, “म जीवित भएको हुनाले, तिमीहरू पनि जीवित रहनेछौ ।” ‘जीवित’ भन्ने शब्दले तिनको हृदयलाई छोयो । तिनले तत्काल आफ्नो जीवन येशूमा समर्पित गरे, “हे येशू, तपाईंले नै यो जीवन दिनुहुन्छ भने म यो चाहन्छु । मलाई यो अस्पतालको शय्याबाट कुशलसाथ बाहिर लैजानुहोस् । म प्रतिज्ञा गर्दछु कि सत्यताको खोजीमा म हर सम्भाव्य प्रयास गर्ने छु ।” येशूले तिनलाई अस्पतालबाहिर मात्र ल्याउनुभएन, तर तिनी त संसारभरि नै परिचित प्रचारकसाथै लेखक कहलाइएका छन् । तिनको नाउँ हो— रबी जकरिया ।[i]

बाइबल साँच्चै परमेश्वरको वचन भएकोले जीवन परिवर्तन गर्ने क्षमता यसमा हुनैपर्छ भनी हामीले आशा गर्नु स्वाभाविक नै हो । येशूले दाबी गर्नुभयो, “हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु । मेरो जुवा आफूमाथि लेओ, र मसँग सिक, किनभने म विनम्र र कोमल ह्रदयको छु, अनि तिमीहरूले आफ्ना आत्मामा विश्राम पाउनेछौ । किनकि मेरो जुवा सजिलो छ, र मेरो भारी हलुको छ” (मत्ती ११:२८–३०) । अर्को ठाउँमा येशूले आफ्नो आगमनको उद्देश्य बताउनुभयो, “म त तिनीहरूले जीवन पाऊन् र त्यो प्रशस्त मात्रामा पाऊन् भने हेतुले आएँ” (यूहन्ना १०:१०) ।

बाइबल जीवन परिवर्तन गर्ने पुस्तक हो । यसले दुई-चार जना, दुई-चार सय जना, दुई-चार हजार जनाका जीवन मात्र बद्लेको छैन, तर लाखौँ र करोडौँका जीवनलाई बद्लेको छ । अनैतिकताको सागरमा हिँडिरहेका अगस्टिन बाइबलको वचनद्वारा बद्लिएनन् मात्रै तर प्रभावशाली ईश्वरशास्त्री, दार्शनिकसाथै रक्षाशास्त्रीसमेत बने ।[ii] भयङ्कर डरलाग्दा डाँकुको रूपमा ख्याति कमाएका नर्वेका राजालाई रूपान्तरण गर्ने पुस्तक बाइबल नै थियो । तिनी मध्यकालीन ख्रीष्टियान जगत्‌का नायक बने जसले नर्वेको रूपान्तरणमा उल्लेखनीय भूमिका खेले ।[iii] बाइबलले नै ड्रग्सको कुलतमा फसेका कोडी हफको जीवनमा आमूल परिवर्तन ल्याइदिएको थियो । तिनी आफू मात्र बद्लिएनन्, तर आफ्नो सेवाद्वारा कैयौँ मानिसहरूलाई पनि तिनले परमेश्वरको राज्यमा ल्याइरहेका छन् ।[iv]

दास भएर जन्मेका जर्ज वासिङ्गटन कार्भरलाई परिचित वैज्ञानिक बन्न प्रेरणा दिने पुस्तक बाइबल नै थियो ।[v] बाइबल पढेपछि नै जेफ्री दमार कुख्यात हत्याराबाट झ्यालखानामा नै ख्रीष्टका चेला बने ।[vi] बदमास र सडके चोरको रूपमा परिचित जेरी म्याकअलीले परिवर्तनको अपेक्षासहित झ्यालखानामा नै बाइबल पढेपछि तिनी नयाँ सृष्ट बने ।[vii] जोन न्युटनलाई भयानक ईश्वर-निन्दकबाट महान् प्रचारक, भजन लेखकसाथै सामाजिक सुधारक बन्न अभिप्रेरित गर्ने पुस्तक बाइबल नै थियो ।[viii] ब्रह्माको खोजी गर्दै हिँडेका रबी महाराजले बाइबल पढेपछि सत्यता भेट्टाएका थिए ।[ix]

ख्रीष्टियान विद्वान् हारोल्ड लिन्डसेलले जीवन परिवर्तन गर्ने बाइबलको क्षमतालाई शानदार ढङ्गमा प्रस्तुत गरेका छन्, “हामी बाइबलमाथि भरोसा गर्न सक्छौँ किनकि यसले जे गर्ने छु भनी दाबी गर्छ, यसले त्यो गर्छ, अर्थात् यसले जीवन परिवर्तन गर्छ । दसौँ लाख मानिसले क्षमा पाएका र अनन्त जीवन पाएका गवाही दिएका छन् । तिनीहरूका प्रार्थनाका जवाफहरू दिइएका छन् । तिनीहरूका सबैभन्दा गहन आवश्यकताहरू पूरा भएका छन् । जीवनमा आमूल परिवर्तन आएको छ । चोरहरू अब चोर्दैनन्; झुट बोल्नेहरू इमानदार बन्छन्; व्यभिचारीहरूले पवित्र जीवन जिउँछन्; लोभीहरूले आफ्नो लोभ त्याग्छन् । येशू ख्रीष्टको सुसमाचारले मानिसहरूलाई पारेको हितकर प्रभावको प्रमाणको रूपमा मण्डली, स्कुल र अस्पतालहरू उदय भएका छन् ।”[x]

 

सन्दर्भ स्रोतहरूः

[i]   कमल अधिकारी, इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (काठमाडौँ: सामदान प्रकाशन, ख्रिस्टाब्द २०१९), पृ. सं. ९८ ।

[ii] आइबिड पृ. सं. ३३८ ।

[iii]   आइबिड पृ. सं. २२७ ।

[iv]   आइबिड पृ. सं. ३४१ ।

[v]   आइबिड पृ. सं. २१२ ।

[vi]   आइबिड पृ. सं. ३५३ ।

[vii] आइबिड पृ. सं. ८० ।

[viii] आइबिड पृ. सं. ८२ ।

[ix]   आइबिड पृ. सं. २३८ ।

[x]   कमल अधिकारी, प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू (काठमाडौँ: वरदान प्रकाशन, २०११), पृ. सं. २० ।

 

Facebook Comments

Powered by Youth Circle