बाइबल— संसारमा सबैभन्दा प्रभावशाली पुस्तक

दोस्रो विश्वयुद्ध (१९३९-१९४५) जारी थियो । डुलिटिल रेड नाउँ दिइएको हवाइ आक्रमणमा १९४२ मा अमेरिकाले जापानको राजधानी टोकियोलगायत अन्य सहरहरूमाथि आक्रमण गर्‍यो । आक्रमणकारीहरूको समूहमा जेकब डे साजर नाउँका एक जना सैनिक अधिकृत पनि थिए जो नास्तिक थिए । तिनको टिमले जापानको नागोया सहरमाथि आक्रमण गरेपछि विमानलाई चीनमा सुरक्षित अवतरण गराउन खोज्दा तिनी र बाँकी सहकर्मीहरू प्यारासुटबाट चीनको निङ्गपोमा हामफाल्न बाध्य भए जुन शत्रुहरूको इलाका थियो । जापानीहरूले तिनीसाथै तिनका सहकर्मीहरूलाई पक्रेर झ्यालखानामा हाले । लाग्थ्यो, तिनको जीवनको अन्त्य नजिकिँदै थियो । तिनका दुई सहयात्रीलाई गोली हानि हत्या गरिएको र एक जना भोकले मरेको तिनले आफ्नै आँखाले देखे । जापानी भूमिमा बन्दी जीवन बिताइरहँदा ख्रीष्टियान विश्वासबारे आफूले सुनेका केही कुराहरूलाई याद गर्न थाले तिनले । जेकबको सतत अनुरोधमा झ्यालखानका हाकिमले तिनलाई एउटा बाइबल दिए, केवल तीन हप्ताको लागि । तथापि त्यस छोटो अवधिमा बाइबलले तिनको जीवनमा नाटकीय परिवर्तन ल्याइदियो । पछि तिनी जापानी निर्वासनबाट जेलमुक्त भए । १९४८ मा आफ्नी पत्नी र भर्खरैको छोरो लिएर तिनी फेरि जापानमा नै गए— तर यस पटक बन्दीको रूपमा नभएर मिसनरीको रूपमा । मिसनरी भएर तिनले जापानमा ३० वर्ष बिताए ।[i]

जेकबको बद्लिएको जीवन बाइबलको प्रभावको एउटा नमुना हो । विश्वको इतिहास अध्ययन गर्ने सबैको लागि पाश्चात्य जगत्‌मा बाइबल र यसको शिक्षाको प्रभाव सुस्पष्ट छ । विश्व घटनाहरूमा पाश्चात्य जगत्‌को प्रभावकारी भूमिका पनि उत्तिकै प्रस्ट छ । संसारमा अन्य कुनै पुस्तक वा पुस्तकहरूको मालाभन्दा बाइबल धर्मशास्त्रले सभ्यतामाथि बढी प्रभाव पारेको छ । वास्तवमा संसारको कुनै पनि महान् नैतिक र धार्मिक कृतिले ख्रीष्टियान सिद्धान्तमा नैतिकताको गहिराइलाई उछिन्न सक्दैन र परमेश्वरबारे बाइबलीय मतभन्दा कुनैको पनि श्रेष्ठतर धारणा छैन । बाइबलले नै परमेश्वर, विश्व, र मानव-जातिको विषयमा सबै पाश्चात्य भाषाहरूमा यसको शिक्षालाई ल्यायो । पाश्चात्य जगत्‌मा बाइबल बुद्धिजीवी, नैतिकवान् र आत्मिक मानिसहरूको ज्यादै उपलब्ध, भरपर्न योग्य श्रोत र निर्णायक पुस्तक बनेको छ ।[ii]

पवित्र प्रेरणा पाएको पुस्तक भएकोले मात्र होइन तर पाश्चात्य विचारमा व्यापक प्रभाव पारेकोले बाइबल एउटा महत्त्वपूर्ण प्रलेख हो । शताब्दीऔँसम्म प्रधान विश्वदृष्टिको रूपमा रहेको ख्रिस्टियमत र यसको सर्वाधिक महान् केन्द्रिय पाठयपुस्तक बाइबलले पाश्चात्य संस्कृतिको संरचनामा मुख्य भूमिका खेल्यो । फलस्वरूप ख्रिस्टियानोत्तर युगका थुप्रै साहित्यिक पाठ्यपुस्तकहरूले बाइबललाई बारम्बार उद्धृत गरे ।

साहित्यमाथि बाइबलले यति प्रभाव पारेको छ कि पृथ्वीको धरातलबाट सबै बाइबललाई मेटिदिने हो भने पनि अन्य पुस्तकहरूमा उद्धृत बाइबलका उद्धरणहरूलाई एकत्रित गरी बाइबलको अपरिहार्य शिक्षामा बाधा नपर्ने गरी पुनः बाइबलको रचना गर्न सकिन्छ भनी बाइबल विद्वान्‌हरू विश्वास गर्छन् । पाश्चात्य जगत्‌को साहित्यभित्र नाप्नै नसकिने गरी बाइबलले प्रवेश पाएको छ । वास्तवमा पाश्चात्य साहित्यलाई बाइबलले जति अन्य कुनै पुस्तकले प्रभाव पारेको छैन । बाइबलको जन्मदेखि आजसम्म यसले असङ्ख्य पुस्तकहरूको रचना गर्न प्रेरित गरेको छ ।[iii] इतिहासकारसाथै ईश्वरशास्त्री फिलिप स्काफले शानदार ढङ्गमा व्यक्त गरेका छन्, “पैसा र हातहतियारविना नै नासरताका येशूले अलेक्ज्यान्डर, कैसर, मुहम्मद र नेपोलियनले भन्दा लाखौँ मानिसलाई जित्नुभयो । विज्ञान र विद्याविना नै उहाँले मानवीय र ईश्वरीय कुराहरूमा सबै दर्शनशास्त्री र विद्वान्‌हरूलेभन्दा बढी उज्यालो छर्नुभयो । स्कुलको वाकपटुताविना नै उहाँले जीवनबारे यस्ता वचनहरू बोल्नुभयो जुन न त पहिले बोलिएका थिए न पछि बोलिने छन् । … प्राचीन र आधुनिक महान् मानिसहरूका सम्पूर्ण सङ्ग्रहभन्दा वचन, भाषण, संवाद, गहिरा-गहिरा पुस्तकहरू, प्रशंसाका भजनहरूका लागि उहाँले एक हरफ पनि नलेखीकन बढी विषयवस्तुहरू जुटाउनुभयो ।”[iv]

विश्वविख्यात नाटककारसाथै नोबेल शान्ति पुरस्कार विजेता एली विजेलले पनि सठिक तरिकाले उल्लेख गरेका छन्, “प्रेरणा पाएको पुस्तक बाइबल पनि प्रेरणाको एउटा स्रोत हो । सामाजिक र नैतिक धरातलसाथै साहित्यिक सिर्जनामा यसको प्रभावको लागि कुनै समानता छैन ।”[v]

सम्पूर्ण मानवीय इतिहासमा बाइबलले जस्तो प्रभाव अन्य कुनै पनि पुस्तकले पारेको छैन । तसर्थ बाइबल संसारमा सबैभन्दा प्रभावशाली पुस्तक हो ।

 

सन्दर्भ स्रोतहरूः

[i]   कमल अधिकारी, इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (काठमाडौँ: सामदान प्रकाशन, ख्रिस्टाब्द २०१९), पृ. सं. १२२ ।

[ii]   कमल अधिकारी, बाइबल, विज्ञान परमेश्वर (काठमाडौँ: बिलिभर्स चर्च नेपाल, २०१६), पृ. सं. २० ।

[iii]   कमल अधिकारी, प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू (काठमाडौँ: वरदान प्रकाशन, २०११), पृ. सं. १२५ ।

[iv]   Philip Schaff, quoted by Josh McDowell, The New Evidence That Demands a Verdict, p. 321.

[v]   Elie Wiesel, quoted by McDowell, The New Evidence That Demands a Verdict, p. 14.

 

Facebook Comments

Powered by Youth Circle