२०२५ लाई फर्केर हेर्दा म केवल उपलब्धिको सूची देख्दिनँ । यो वर्ष जे जे गर्न सकेँ ती मेरा लागि जिम्मेवारी र आनन्द हुन्; ती प्रयास र अनुग्रह अनि अनुशासन र बोलावट हुन् । तुलनात्मक रूपमा यो वर्ष निकै व्यस्त भएँ तर बदलामा यो आशिष्को झरीको वर्ष नै साबित भयो । सबैभन्दा महत्त्वपूर्ण कुरो त यो एउटा यस्तो वर्ष बन्यो जसले मलाई स्मरण दिलाइरह्यो कि फलदायी जीवन कहिल्यै आकस्मिक हुँदैन तर यो त अनुशासन र प्रतिबद्धताको नतिजा हो ।
- सम्पूर्ण बाइबलको प्रुफरिडिङ
मैले पाएका सबै जिम्मेवारीमध्ये सम्पूर्ण बाइबलको प्रुफरिडिङ गहिरो सम्मान थियो । यो वजनदार र गहन जिम्मेवारी थियो । पवित्र वचनलाई सम्हाल्नु भनेको पवित्र भूमिमा हिँड्नु सरह हो । हरेक शब्दको मात्र महत्त्व हुँदैन तर हरेक विराम चिह्नको पनिपरिणाम हुन्छ । यस कार्यका लागि बौद्धिक परिशुद्धता मात्र नभई आत्मिक ध्यानको पनि आवश्यक थियो । मैले यसलाई श्रद्धाका साथ अगाडि बढाएँ । धर्मशास्त्र केवल पढ्ने पुस्तक होइन तर लाखौँ मानिस यसैअनुसार जिउँछन् । मेरो परिश्रमले भविष्यका पाठकहरूलाई परमेश्वरको वचनलाई अझ स्पष्टताका साथ आदर गर्न मदत गर्न सक्छ भन्ने तथ्ले मलाई विनम्र हुन अभिप्रेरित गरिरह्यो । म स्पष्ट विवेकका साथ भन्न सक्छु कि मैले यो पवित्र जिम्मेवारी पूरा गर्न आफूले सके जति गरेँ ।
- तेर्हौँ पुस्तक प्रकाशन
मेरो तेर्हौँ पुस्तकको प्रकाशन लेखकका रूपमा मेरो यात्रामा एउटा महत्त्वपूर्ण कोसेढुङ्गो बन्यो । ‘विज्ञान र प्रविधिमा ख्रिस्टियन योगदान : १०५ ओटा वैज्ञानिक खोज सङ्ग्रह (भाग २)‘ नामक कृतिले १०५ वटा आविष्कारको चिरफार गर्दछ । ख्रिस्टियन आस्थाले वैज्ञानिक प्रगतिलाई अगाडि बढ्न दिँदैन भन्ने निरन्तर मिथकका विरुद्धमा यो कृति मौन साक्षीका रूपमा उभिएको छ । यसका अतिरिक्त पुस्तकले एउटा समृद्ध कथा बताउँछ जसअनुसार विश्वासले जिज्ञासालाई प्रज्वलित पार्छ, खोजका लागि इन्धन भर्ने काम गर्दछ र ख्रिस्टियन विश्वासले मानव सेवालाई अभिप्रेरित गर्छ । यो पुस्तक लेखन केवल एउटा शैक्षिक अभ्यास मात्र थिएन तर ख्रिस्टियन रक्षाशास्त्रको एउटा रूप पनि थियो अनि यसले विश्वासी र सन्देहवादी दुबैलाई समान रूपमा तर्कसङ्गत गबाही दिने जमर्को गरेको छ ।
- १३ वटा पुस्तक अनुवाद र १६ वटा पुस्तक सम्पादन
लेखन अभिव्यक्तिको कला हो भने अनुवाद पुल निर्माणको सेवा हो । २०२५ मा मैले १३ वटा पुस्तक अनुवाद गर्ने सुअवसर पाएँर ती सबै ख्रिस्टियन साहित्य थिए । अनुवादका लागि धैर्य मात्र नभई लामो समयसम्म एकान्तमा बसेर काम गर्न सक्ने क्षमता पनि चाहिन्छ । प्रायः अदृश्य यस जिम्मेवारीको गहन रूपमा आवश्यक छ । यी प्रयासमार्फत हाम्रा भाषिक सीमाभन्दा पर पुगी बाहिरका आवाज अब नेपाली पाठकवृन्दसँग बोल्न सक्षम हुने छन् । यसका साथै यो वर्ष मैले १६ वटा पुस्तक सम्पादन गर्न भ्याएँ । यी कार्यले विरलै ध्यान आकर्षित गर्लान् तर तिनले मौन रही ख्रिस्टियन विद्वता र साहित्यको जग बलियो बनाउन मदत पुर्याउँछन् ।
- २२ वटा पुस्तक पठन
पठन मेरो जीवनयात्राको नियमित हिस्सा हो । म जहाँ गए तापनि यो मसँगै रहन्छ । चाहे विमानमा हुँदा होस् वा होटलमा हुँदा होस्, पठन मेरो जीवनको अभिन्न पक्ष बनिसकेको छ । वर्षैभरि यो एक विश्वासयोग्य मित्र रह्यो । यो वर्ष २२ ओटा पुस्तक पढेर सकेँ । २०० घण्टा लगानी भयो । ती ख्रिस्टियन रक्षाशास्त्रदेखि नेपाली व्याकरणसम्मका विषयवस्तु समेटिएका रचना थिए । यो गहिराइमा पुगेर सिकाउन, अन्तर्दृष्टिसहित लेख्न र बुझाइसहित बोल्नलाई सक्षम पार्ने अनुशासन थियो । वास्तवमा पुस्तकले बाहिरी संसारलाई प्रभाव पार्नुभन्दा पहिले भित्री संसारलाई आकार दिने काम गर्छ ।
- १६ जिल्ला पुगी ६,००० जनालाई वचनको सेवा
विगतमा जस्तै २०२५ मा पनि टेबुल र पानाभन्दा परसम्म पुगेँ । १६ जिल्लाको यात्रा गरी सिकाउने अवसरको सदुपयोग गरेँ ।शिक्षण र प्रवचनमार्फत करिब ६,००० जनालाई वचनको सेवा दिन सकेँ । थकानका छायाँ बोकेका यी यात्राका प्रत्येक भेटघाटले सेवा गर्ने आह्वानलाई जीवन्त अवसरमा रूपान्तरण गरिदिए । अनुहार, कुराकानी, प्रार्थना र गबाही सम्झनामा कुँदिएका छन् जसले सेवा कहिल्यै पनि सङ्ख्याका बारेमा होइन तर बाटामा छोइएका जीवनका बारेमा हो भनी मलाई याद दिलाउँछ ।
- ३० लाख पाइला हिँडाइ र १५ केजी घटान
मौन तर समान रूपमा अर्थपूर्ण तवरले मैले आफूलाई सुम्पिएको शरीरको हेरचाह गर्न पनि सिकेँ । यो वर्ष म ३० लाखभन्दा बढी पाइला हिँडेँ । औसतमा प्रति दिन ८ हजार पाइला हिँड्नु स्वास्थ्य हेरचाहको एउटा पक्ष हो । यतिको हिँडाइ नेपालको पूर्वपश्चिम दूरी ओहोरदोहोर गर्न काफी हुन्छ । निरन्तर अनुशासन र सन्तुलनको माध्यमबाट १५ केजी घटाउन सक्षम भएँ । यो परिवर्तन बाहिरी रूपका बारेमा मात्र थिएन तर शरीरको हेरचाहका बारेमा थियो ।
२०२५ बारे मनन गर्दा म पूर्णता देख्दिनँ तर दृढता देख्छु; आत्मनिर्भरता देख्दिनँ तर अचम्मको अनुग्रह देख्छु । हरेक उपलब्धि आफैँभन्दा जान्छ जसले मलाई सम्झाउँछ कि सबै शक्ति, अवसर र सहनशीलता अन्ततः परमेश्वरबाट नै आउँछन् । विश्वासयोग्यता, विनम्रता र उद्देश्यका साथ सेवा गरिरहने सङ्कल्प गर्दै विगतप्रति कृतज्ञता र भविष्यका लागि आशा लिएर म अगाडि बढ्न चाहन्छु । जीवनमा मेरो लक्ष्य अरू कसैलाई पराजित गर्नु होइन बरु आफैँलाई जित्दै हिजोभन्दा आज र आजभन्दा भोलि श्रेष्ठतर बन्ने प्रयास गर्नु हो ।
Reasons to Believe KamalAdhikari.com.np 


