पुस्तकको नाम : विज्ञान र प्रविधिमा ख्रिस्टियन योगदान : १०५ ओटा वैज्ञानिक खोज सङ्ग्रह (भाग २)
लेखक/सम्पादक : कमल अधिकारी
पृष्ठ सङ्ख्या : २०३
मूल्य रु. : २५०
प्रकाशक : सामदान प्रकाशन
प्रकाशन साल : २०२५
ISBN : 978-9937-9-8459-1
आदिम मानिसले कुँदेका प्रारम्भिक ढुङ्गे हातहतियारदेखि टिकटकलाई जन्म दिने डिजिटल क्रान्तिसम्म धेरै हदसम्म आविष्कारको कथा मानवजातिको कथा हो । हरेक नयाँ उपकरण, हरेक निर्भीक खोज, कल्पनाको हरेक साहसी छलाङले परमेश्वरले आफ्नो सृष्टिभित्र राख्नुभएको उल्लेखनीय क्षमताको प्रमाण दिन्छ । सिकारका लागि प्रयोग गरिएका ढुङ्गा हुन् वा न्यानोपनका लागि सदुपयोग गरिएका आगो हुन्, बाँच्नका लागि अपनाइएका यी सरल प्रयासका रूपमा सुरु भएका खोजहरू शताब्दीहरू बित्दै जाँदा र सभ्यताहरू फैलँदै जाँदा टाकुरामा परिणत भएका छन् ।
यो ‘पुस्तक संसार बदल्ने १०१ ओटा वैज्ञानिक खोज (भाग १)’ नामक मेरो अगिल्लो पुस्तकको निरन्तरता हो । पहिलो पुस्तकले संसार परिवर्तन गर्ने महत्त्वपूर्ण खोजहरूबारे वर्णन गरी जग बसालेको थियो भने यो दोस्रो कृतिमा सोही यात्रालाई जारी राखिएको छ । यस पुस्तकमा मानवीय प्रतिभाको निरन्तर कथामा परमेश्वरको औँठाछाप उजागर गर्न खोजिएको छ । ख्रिस्टियन रक्षाशास्त्रीय दृष्टिकोणबाट लिखित यस रचनाले खोज ‘के’हो भनेर मात्र वर्णन गर्दैन तर ‘किन’ भन्ने गहिरो प्रश्नको पनि जबाफ दिने कोसिस गर्दछ । मानिसहरू किन सपना देख्छन् र नयाँ नयाँ कुरा सिर्जना गर्न सक्छन् ? उत्पत्ति १:२७ मा यसको उत्तर पाइन्छ, “यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो, परमेश्वरकै स्वरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो ।” हामी रचनाकार परमेश्वरको स्वरूपमा सृजित प्राणी भएकाले वैज्ञानिक खोज सम्भव भएको हो । नवीनता कुनै संयोग होइन, यो हामीभित्र भएको ईश्वरीय झिल्काको प्रतिध्वनि हो ।
पाठकले यहाँ अमूर्त सिद्धान्त वा शैक्षिक शब्दाडम्बर होइन तर सरल विवरण पाउनुहुने छ किनकि आविष्कारको कथा हामी सबैको हो । तपाईं विद्यार्थी, शिक्षक, पेसाकर्मी वा जिज्ञासु जोसुकै हुनुभए तापनि यस पुस्तकले ह्रदय र बुद्धिमत्ता दुबैको प्रतिध्वनित गर्ने भाषामा बोल्ने प्रयास गरेको छ । पुस्तकमा अभिलिखित प्राविधिक विकास, वैज्ञानिक सफलता र सांस्कृतिक परिवर्तनसित सम्बन्धित तथ्याङ्कहरू हालैका भए तापनि पुस्तक तपाईंको हातसम्म आइपुग्दा केही तथ्याङ्क पुराना भइसकेका हुने छन् भनी म स्वीकार गर्दछु । किनकि नवप्रवर्तनको द्रुत प्रवाह यस्तो छ— आजको चमत्कार चाँडै हिजोको सम्झना बन्छ । तर यससित जोडिएको सत्यता भने टिकिरहन्छ ।
पढ्दै जाने क्रममा तपाईंले ख्याल गर्नुहुने छ कि आविष्कार प्रगतिको बारेमा मात्र होइन तर उद्देश्यको बारेमा पनि हो । यसले गहन प्रश्नको उदय गराउँछ : ज्ञानलाई कसरी प्रयोग गर्नुपर्छ ? खोज के कस्ता जिम्मेवारी सँगसँगै जान्छ ? कुनै पनि आविष्कार बुद्धि र धार्मिकताद्वारा निर्देशित छ कि छैन भन्ने कुरामा निर्भर रही त्यसले मानवजातिलाई आशिष् दिन पनि सक्छ वा त्यो बोझ बन्न पनि सक्छ । त्यो नैतिक आयामलाई बेवास्ता गर्न सकिँदैन किनकि नैतिकताबिनाको विज्ञान कम्पासबिनाको जहाज जस्तै हो ।
तसर्थ यो पुस्तक उपलब्धिहरूको सूचीभन्दा बेसी हो । यो संसारलाई प्रभाव पार्ने मानवजातिमा भएको ईश्वरीय क्षमता र यस्तो शक्तिसँगै आउने जिम्मेवारीको प्रतिबिम्ब हो । ढुङ्गे हातहतियारदेखि टिकटकसम्म जारी आविष्कारको कथाले हामी वास्तवमै को हौँ भनेर देखाउँछ अर्थात् धुलोबाट बनेका तर परमेश्वरको स्वरूपमा सृजित हामी मानवीय प्राणीले सिर्जना गर्ने मात्र नभई उक्त रचनाद्वारा हाम्रा सृष्टिकर्ताको महिमा पनि गर्नुपर्छ ।
Reasons to Believe KamalAdhikari.com.np 


