बाइबललाई साहित्यिक दृष्टिकोणबाट हेर्दा (भाग २)

बाइबल एउटा पवित्र धार्मिक ग्रन्थ मात्र होइन तर विश्व इतिहासको एउटा सबैभन्दा महान् साहित्यिक पुस्तक पनि हो । भाषा त्यो बेला शक्तिशाली हुन्छ जब यसले जानकारी मात्र प्रदान नगरी कल्पना, भावना र गहिरो चिन्तन पनि जगाउँदछ । यस शृङ्खलाको पहिलो भागमा हामीले बाइबलीय पाठ्यांश र ख्रिस्टियन सञ्चारलाई समृद्ध बनाउने सातवटा प्रमुख अलङ्कारको बारेमा अध्ययन गरिसक्यौँ । यो दोस्रो भागले बाइबल धर्मशास्त्र र साहित्यमा प्रयोग हुने थप सातवटा अलङ्कारको अध्ययन गरी उक्त यात्रालाई निरन्तरता दिएको छ । यी अलङ्कारले भाषामा सुन्दरता मात्र थप्दैनन् तर सत्यताबारे हाम्रो बुझाइलाई पनि गहन बनाउँछन् ।

१. मेटोनोमी (Metonymy)

यस अलङ्कारमा कुनै चिजलाई आफ्नै नामले नभई त्यससँग नजिकबाट सम्बन्धित कुनै चिजको नामले उल्लेख गरिन्छ । यसले मुख्य विषयबाट केन्द्रित विषयलाई यससँग सम्बन्धित कुरामा परिवर्तन गर्छ जसले गर्दा थप अर्थ थपिन्छ । उदाहरणका लागि, ‘राजा’ को सट्‍टा ‘मुकुट’ भन्नाले राजाको शक्ति र अधिकारलाई प्रकाश पार्छ ।

उदाहरणका लागि हबकुक २:१६ लाई हेरौँ, “परमप्रभुको दाहिने हातको कचौरो तँकहाँ आउँदै छ … ।” यहाँ ‘कचौरो’ भनेको शाब्दिक पिउने भाँडो होइन । बरु यसले ‘कचौरो’ सँग सम्बन्धित परमेश्वरको न्याय, क्रोध वा सजाय जस्ता कुरालाई जनाउँछ । त्यसै गरी ‘प्रभुको दाहिने हात’ ले परमेश्वरको शक्ति वा अधिकारलाई जनाउँछ ।

२. सिनेकडकी (Synecdoche)

यस अलङ्कारमा कुनै भागलाई सम्पूर्णका लागि वा सम्पूर्णलाई कुनै भागका लागि प्रयोग गरिन्छ । यस अलङ्कारले सम्पूर्ण कुरालाई प्रतिनिधित्व गर्न एउटा भाग वा गुणको प्रयोग गर्दछ । फलस्वरूप अभिव्यक्ति छोटो र शक्तिशाली हुन पुग्छ । बाइबलीय लेखकहरूले अक्सर सत्यताको पक्षलाई जोड दिन यस अलङ्कारको प्रयोग गरेको पाइन्छ ।

प्रार्थनाबारे सिकाउनहुँदा येशूले भन्नुभयो, “हामीलाई आज हाम्रो दैनिक रोटी दिनुहोस्‌” (मत्ती ६:११) । यो उपवाक्य सिनेकडकीको एउटा उत्कृष्ट उदाहरण हो । यस अभिव्यक्तिमा ‘रोटी’ केवल एउटा विशेष खाना नभई यसले जीवनका सबै आवश्यक आहारलाई जनाउँछ । हामीलाई चाहिने सबै कुरा सूचीबद्ध गर्नुको सट्‍टा ‘रोटी’ शब्दको प्रयोग गरी हाम्रा दैनिक प्रावधानहरूको विचारलाई एउटै शक्तिशाली शब्दमा समेटिएको छ ।

३. अपोस्ट्रोफी (Apostrophe)

अनुपस्थित, मृत वा निर्जीव वस्तुलाई प्रत्यक्ष गरिने सम्बोधनलाई साहित्यमा अपोस्ट्रोफी भनिन्छ । यसमा गहिरो भावना व्यक्त हुन्छ र यसलाई अक्सर प्रशंसा, विलाप वा भविष्यसूचक घोषणामा प्रयोग गरिन्छ । यस किसिमको साहित्यिक शैलीले पाठकलाई आकर्षित गरी केही कुरा महत्त्वपूर्ण छ भनी जोड दिन्छ ।

“ए मृत्‍यु, तेरो विजय कहाँ” (१ कोरिन्थी १५:५५) ? यहाँ मृत्यु एक व्यक्ति भएझैँ गरी वक्ता मृत्युसँग सिधै कुराकानी गर्दै छन् । यो कुनै शाब्दिक कुराकानी होइन तर मृत्युमाथि विजय व्यक्त गर्ने काव्यात्मक तरिका हो । यस पङ्क्तिले येशू ख्रीष्टद्वारा प्राप्त हुने मृत्युमाथि विश्वासीहरूको विजयलाई व्यक्त गर्दछ । मृत्युलाई सिधै सम्बोधन गरेर यसले आत्मविश्वासलाई जोड दिनुका साथै मृत्युको खिल्ली उडाएको छ किनभने यसमा अब शक्ति छैन ।

४. विरोधाभास (Paradox)

विरोधाभास आफैँमा जुध्ने कथन हो जसले गहन सत्यता प्रकट गर्दछ । अक्सर परमेश्वरको राज्यका रहस्यमय तरिकाहरूलाई जोड दिई विरोधाभासले पाठकको तर्कलाई चुनौती दिन्छ । यसले सोच्न उत्प्रेरित गर्नुका साथै मानवीय तर्कभन्दा परका आत्मिक वास्तविकतामा गहिरो रूपमा चिन्तन गर्न आमन्त्रित गर्दछ । यसलाई अङ्ग्रेजीमा Paradox भनिन्छ ।

येशूले भन्नुभएको छ, “तर धेरै जना जो पहिला छन्‌ पछिल्‍ला हुने छन्‌ र पछिल्‍ला चाहिँ पहिला हुने छन्‌” (मत्ती १९:३०) । संसारमा पहिलो हुनुको अर्थ सामान्यतया शक्ति, धन वा उच्च पद हासिल गर्नु हो र अन्तिम हुनु भनेको बेवास्ता गरिएको, गरिब वा नम्र हुनु हो । तर, येशू भन्दै हुनुहुन्छ कि परमेश्वरका मूल्यमान्यता फरक छन् । जो नम्र छन्, जसले अरूको सेवा गर्छन् वा जसलाई संसारले बेवास्ता गर्छ तिनीहरूलाई परमेश्वरले सम्मान गर्नुहुने छ र स्वार्थी कारणले पहिलो हुन खोज्नेहरू अन्त्यमा हातमा लागे शून्य हुन सक्छन् । यसले मानवीय अपेक्षालाई उल्ट्याइदिन्छ अर्थात् हामीले सबैभन्दा कम महत्त्वपूर्ण ठानेका मानिसलाई परमेश्वरले सबैभन्दा बढी सम्मान गर्न सक्नुहुन्छ र घमण्डी वा शक्तिशालीहरूलाई नम्र बनाउन सक्नुहुन्छ । यसको अर्थ परमेश्वरले मानवीय स्तरअनुसार न्याय गर्नुहुन्न ।

५. मानवरूपवाद (Anthropomorphism)

यस अलङ्कारमा परमेश्वरमा मानवीय रूप वा कार्यहरू भए जस्तै गरी वर्णन गरिन्छ । यसलाई अङ्ग्रेजीमा Anthropomorphism भनिन्छ । यसमा अनन्त परमेश्वरलाई मानवीय शब्दहरूमा वर्णन गरिन्छ ताकि सीमित मानवजातिले उहाँसँग राम्रोसँग सम्बन्ध राख्न सकुन् । यस अभिव्यक्तिलाई शाब्दिक रूपमा लिइनु हुँदैन । हामीले परमेश्वरको चरित्र र कामका पक्षहरूलाई बुझ्न सकौँ भनेर यस अलङ्कारको प्रयोग गरिन्छ ।

भजनसङ्‍ग्रह ३४:१५ मा लेखिएको छ, “परमप्रभुको नजर धर्मीहरूमाथि रहन्‍छ ।” यस पदमा उल्लिखित ‘परमप्रभुको नजर’ को अर्थ परमेश्वरको मानिसको जस्तै शाब्दिक भौतिक आँखा छ भन्ने होइन । बरु यसमा त ईश्वरीय सत्यतालाई व्यक्त गर्न मानवीय भाषाको प्रयोग गरिएको छ । यसले भन्दै छ कि परमेश्वरले धर्मीहरूको हेरचाह गर्नुहुन्छ, तिनीहरूका आवश्यकता देख्नुहुन्छ र ध्यानपूर्वक तिनीहरूको हेरचाह गर्नुहुन्छ । परमेश्वर आत्मा हुनुहुन्छ (युहन्ना ४:२४) र भौतिक शरीरद्वारा सीमित नभएकाले यस प्रकारको अभिव्यक्तिले हामीलाई परिचित मानवीय शब्दमा परमेश्वरसँग सम्बन्धित हुन मदत मिल्छ । यसले हाम्रो जीवनमा उहाँको व्यक्तिगत ध्यान, हेरचाह र संलग्नतालाई व्यक्त गर्दछ ।

६. पुनरावृत्ति (Epizeuxis)

पुनरावृत्ति भनेको जोड दिनका लागि प्रयुक्त शब्द वा वाक्यांशलाई दोहोर्‍याउनु हो । यसलाई अङ्ग्रेजीमा Epizeuxis (एपिजेक्सिस) भनिन्छ । यो अलङ्कार पुनरावृत्तिको एउटा रूप हो जहाँ अन्य कुनै शब्दले दोहोरिने तत्त्वलाई बाधा पुर्‍याउँदैन । शसक्त भावना, निश्चय वा महत्त्व व्यक्त गर्न बाइबलमा प्रायः शब्दहरू दोहोरिएका छन् । यसरी दोहोर्‍याइँदा ध्यानाकर्षित हुन्छ र कथन यादगार बन्न पुग्छ । येशू र अगमवक्ताहरूका अभिव्यक्तिमा यस अलङ्कारलाई बारम्बार देख्न सकिन्छ ।

“सर्वशक्‍तिमान्‌ परमप्रभु, पवित्र, पवित्र, पवित्र हुनुहुन्‍छ” (यसैया ६:३) । यहाँ ‘पवित्र’ शब्द तीन पटक दोहोरिएको छ । यस पुनरावृत्तिले परमेश्वरको पूर्ण पवित्रतालाई जोड दिन्छ । यसले उहाँको पवित्रता सिद्ध, पूर्ण र अतुलनीय छ भनी सङ्केत गर्दछ । हिब्रु संस्कृतिमा कुनै कुरालाई तीन पटक दोहोर्‍याउनुको अर्थ उच्चतम तीव्रता देखाउनु हो अर्थात् यो उहाँ ‘सबैभन्दा पवित्र’ हुनुहुन्छ भनी व्यक्त गरिने तरिका हो । बाइबलमा लगातार तीन पटक दोहोरिएको यो परमेश्वरको एक मात्र गुण हो जसले देखाउँछ कि परमेश्वरको पवित्रताले उहाँको अस्तित्वलाई परिभाषित गर्दछ ।

७. शिष्टोक्ति (Euphemism)

शिष्टोक्ति अलङ्कारमा कठोर वा अप्रिय शब्दको सट्‍टा हल्का वा अप्रत्यक्ष शब्दको प्रयोग गरिन्छ । यसलाई अङ्ग्रेजीमा Euphemism भनिन्छ । बाइबलमा कहिलेकाहीँ मृत्यु वा न्याय जस्ता गम्भीर विषयहरूको बारेमा नम्रतापूर्वक बोल्न शिष्टोक्तिको प्रयोग गरिएको पाइन्छ । यसले सांस्कृतिक संवेदनशीलता देखाउँछ र प्रायः श्रद्धा वा दयालाई प्रतिबिम्बित गर्दछ ।

येशूले भन्नुभयो, “हाम्रा मित्र लाजरस निद्रामा परेका छन्‌ तर म तिनलाई निद्राबाट बिउँझाउन त्‍यहाँ जान्‍छु” (युहन्ना ११:११) । “लाजरस निद्रामा परेका छन्” भन्नुहुँदा येशूले शाब्दिक निद्राको बारेमा कुरा गरिरहनुभएको छैन । बरु उहाँ मृत्युका लागि ‘निद्रा’ शब्दको प्रयोग गर्दै हुनुहुन्छ । लाजरसको मृत्युलाई उल्लेख गर्ने यो नरम र सान्त्वनादायी तरिका थियो । त्यसैले यस पदमा ‘निद्रा’ मृत्युका लागि प्रयुक्त शब्द हो जुन येशूले लाजरसको अवस्थाको अस्थायी स्वभावलाई व्यक्त गर्न र उनलाई फेरि जीवित पार्ने उहाँको शक्तिको पूर्वचित्रण गर्न प्रयोग गर्नुभएको छ ।

Facebook Comments

Powered by Youth Circle