तिनको नाउँ कोडी हफ हो । १२ वर्षको उमेरदेखि तिनले गाँजा तान्न थाले । खाना र ड्रग्सको लागि पैसा जुटाउन १३ वर्षमा तिनले सडकमा पत्रिका बेच्न थाले । तिनी विनाशको मार्गतर्फ लम्कँदै थिए । तिनी चोर थिए । तिनले ड्रग्सको कारोबार गर्थे । तिनी बारम्बार जेलमा पनि परे । तिनले आफ्ना विगतलाई यसरी व्याख्या गरेका छन्, “मैले हर कुरो गुमाएको थिएँ; म दुर्व्यसनी थिएँ; म जेलमा पर्ने र निस्कने गर्थें; म घरबारविहीन थिएँ; म त्यागिएको थिएँ; मेरा प्रतिष्ठाको हरेक आखिरी मात्रा गइसकेको थियो । मैले आफैँलाई घृणा गर्थें र मैले परमेश्वरलाई घृणा गर्थें ।”
हफसित पैसा थिएन; तिनको जाने ठाउँ थिएन; तिनलाई ड्रग्सको लत लागेको थियो; के गर्ने तिनलाई थाहा थिएन । यस्तो बेवारिसे जिन्दगी बिताइरहेको बेलामा कसैले तिनलाई चर्चको बारेमा बतायो ।
हफ उक्त मन्डलीमा गए र त्यहाँ कुनै एक जना स्त्रीले तिनलाई भनिन्, “सर, तपाईंलाई मायाको खाँचो छ ।” हफले आफैँलाई प्रेम गर्न छाडिसकेका थिए । त्यसैले तिनले लापार्वाह जीवन बिताउँदै आएका थिए । तीन महिनासम्म तिनी नुहाएका थिएनन् । तिनका शरीरबाट दुर्गन्ध आइरहेको थियो । मायाको कुरो सुन्दा हफ छक्क पर्नु अस्वाभाविक थिएन । तिनले त्यहाँ मानिसको प्रेमको अनुभूति मात्र गरेनन् तर ईश्वरीय प्रेमको बारेमा पनि सुन्ने मौका पाए । तिनले येशूको प्रेमको बारेमा सुने ।
बिस्तारै बिस्तारै येशूप्रति हफको मोह बढ्दै गयो । तिनलाई धेरै कुरा त थाहा थिएन । तरै पनि तिनी जान्दथे कि येशू तिनका निम्ति मर्नुभएको थियो; तिनी पापी थिए र क्षमा उपलब्ध छ । परमेश्वरको सन्तान बन्नको लागि यति ज्ञान अपर्याप्त थिएन । तिनले करिब पन्ध्र मिनेट प्रार्थनामा बिताएपछि “आमेन” भने । जीवनमा तिनले कहिल्यै अनुभूति नगरेको शान्तिको महसुस गरे । तिनी तत्काल नयाँ मान्छे बने । तीन हप्तापश्चात् तिनले बप्तिस्मा लिए ।
हफ हरेक हप्ता बाइबल अध्ययनमा उपस्थित हुन थाले । मन्डलीमा जाने तिनको आदत बन्यो । तिनले येशूको बारेमा बताउन सुरु गरे । तिनले मन्डलीमा स्वैच्छिक रूपमा काम गर्न थाले । तिनी आफ्नो आत्मिक यात्रामा बिस्तारै बिस्तारै बामे सर्दै थिए ।
२०१० नोभेम्बर १६ मा पास्टरमा अभिषेक गरिएका हफ आज लस भेगासस्थित होप चर्चमा पास्टरको रूपमा सेवा गर्दै छन् । ब्रोकन चेन्स नामक सेवाकार्यमार्फत तिनी घरबारविहीनहरूलाई खानासाथै आवासको व्यवस्था मिलाउँछन् ।
यसरी ड्रग्सको कुलतमा फसेर आफ्ना जीवनलाई मृत्युको सङ्घारमा पुर्याइसकेका हफको जीवनमा येशू ख्रीष्टले नाटकीय रूपान्तरण ल्याइदिनुभयो ।