कमल अधिकारीद्वारा लिखित तथा सम्पादित ‘संसार बदल्ने १०१ ओटा वैज्ञानिक खोज (भाग १)’ नामक पुस्तकानुसार वैज्ञानिक खोज गर्नेहरूमा ६६% प्रतिशत ख्रिस्टियन छन् । पुस्तकमा तेर्हौँ शताब्दीदेखि एक्काइसौँ शताब्दीसम्मका १०१ ओटा वैज्ञानिक खोज समावेश गरिएका छन् । यो किताब १०१ ओटा वैज्ञानिक खोजको सङ्ग्रह हो र यी खोजका लागि १०९ जना आविष्कारकले योगदान दिएका छन् । ती योगदानकर्ताहरू विभिन्न धर्मका थिए । ६६% आविष्कारकसहित ख्रिस्टियन पहिलो स्थानमा छ भने १३% आविष्कारकको धर्म अनिश्चित छ । यहुदी ६% छ भने नास्तिक ५% । परमेश्वर अस्तित्वमा हुनुहुन्छ वा हुनुहुन्न भनी निश्चित छैन भन्ने विचारधारा अङ्गाल्ने व्यक्तिलाई अज्ञेयवादी भनिन्छ र यी खोजमा अज्ञेयवादीहरूको ४% योगदान रहेको छ । परमेश्वरले सम्पूर्ण विश्वको सृष्टि गर्नुभयो तर यसमा उहाँको कुनै हस्तक्षेप हुँदैन भन्ने विचारधारा अङ्गाल्ने व्यक्तिलाई देववादी (डिइस्ट) भनिन्छ र देववादीहरूको ४% योगदान रहेको छ । बौद्धमार्गी र मुस्लिमको १/१ प्रतिशत योगदान देख्न सक्नुहुन्छ ।
१४४० तिर छापाखानाको आविष्कार गर्ने वैज्ञानिक योहान्नेस गुटेनबर्ग मात्र ख्रिस्टियन थिएनन् तर १५२० मा सूर्य केन्द्रित सिद्धान्त पत्ता लगाउने वैज्ञानिक निकोलस कोपर्निकस पनि ख्रिस्टियन नै थिए । १५८० मा जलचक्रको आविष्कार गर्ने खोजकर्ता बर्नार्ड पालिसी मात्र येशूका अनुयायी थिएनन् तर १६०९ मा ग्रहहरूको चाल पत्ता लगाउने जोहानेस केप्लर पनि येशूका चेला थिए । टेलिस्कोपका आविष्कारक ग्यालिलियो ग्यालिली, रक्तसञ्चार प्रणालीका आविष्कारक विलियम हार्बे, कोषका आविष्कारक रोबर्ट हुक, गुरुत्वाकर्षणका आविष्कारक सर आइज्याक न्युटन जस्ता इतिहासमा आफ्ना नाम अमर राख्ने वैज्ञानिकहरू सबै नै ख्रिस्टियन थिए ।
१७७४ मा अक्सिजन पत्ता लगाउने वैज्ञानिक जोसेफ प्रिस्टली, १७८३ मा प्यारासुटको आविष्कार गर्ने लुइस सेबास्टियन, १७९६ मा विफरको खोप पत्ता लगाउने वैज्ञानिक एडवार्ड जेनर र १८०० मा ब्याट्रीका आविष्कार गरेका अलेस्यान्ड्रो भोल्टा सबै नै प्रभु येशूका अनुयायी थिए ।
त्यसै गरी क्यामरा, स्टेथिस्कोप, कम्प्युटर, जेनरेटर, साइकल, टाइपराइटर, एअर ब्रेक, मोटरसाइकल, एक्सरे, रेडियो, इसिजी, डिजेल इन्जिल, रगतको किसिम, एसी, विमान, इन्सुलिन जस्ता खोजहरू पत्ता लगाई संसारलाई सभ्यताको यस उचाइसम्म पुर्याउन योगदान दिनेहरू सबै नै ख्रिस्टियन थिए ।
पुस्तकमा कुन खोज कहिले, कसले र कहाँ पत्ता लगाइएको थियो भनेर प्रस्ट पारिएको छ । यस पुस्तकमा तेर्हौँ शताब्दीदेखि एक्काइसौँ शताब्दीसम्मका १०१ ओटा वैज्ञानिक खोज समावेश गरिएका छन् । यी खोजको परिणामस्वरूप मानव सभ्यता यहाँसम्म आइपुग्न सफल भएको हो र हरेक देशको हरेक समाज यी खोजहरूबाट लाभान्वित भएको छ । पुस्तकको अन्त्यतिर परिशिष्टमा १०१ ओटा खोजको तालिक छ जसमध्ये यहाँ २५ ओटा खोजको बारेमा उल्लेख गरिएको छ ।
क्र.सं. | आविष्कार | मिति | आविष्कारक | देश | धर्म |
सोर्हौँ शताब्दीअगिका खोजहरू | |||||
१ | म्याग्निफाइङ्ग ग्लास | १२५० | रोजर बेकन | इङ्गल्यान्ड | ख्रिस्टियन |
२ | छापाखाना | करिब १४४० | योहान्नेस गुटेनबर्ग | जर्मनी | ख्रिस्टियन |
३ | अमेरिका | १४९२ | क्रिस्टोफर कोलम्बस | इटाली | ख्रिस्टियन |
सोर्हौँ शताब्दीका खोजहरू | |||||
४ | सूर्य केन्द्रित सिद्धान्त | १५२० | निकोलस कोपर्निकस | पोल्यान्ड | ख्रिस्टियन |
५ | शरीरको चिरफार | १५४३ | अन्द्रियास भिसेलिअस | बेल्जियम | ख्रिस्टियन |
६ | जलचक्र | १५८० | बर्नार्ड पालिसी | फ्रान्स | ख्रिस्टियन |
७ | ग्रेगोरी पात्रो | १५८२ | ग्रेगोरी तेर्हौँ | इटाली | ख्रिस्टियन |
सत्रौँ शताब्दीका खोजहरू | |||||
८ | ग्रहहरूको चाल | १६०९ | जोहानेस केप्लर | जर्मनी | ख्रिस्टियन |
९ | टेलिस्कोप | १६०९ | ग्यालिलियो ग्यालिली | इटाली | ख्रिस्टियन |
१० | रक्तसञ्चार प्रणाली | १६२८ | विलियम हार्बे | इङ्गल्यान्ड | ख्रिस्टियन |
११ | पास्कलको क्यालकुलेटर | १६४२ | ब्लेज पास्कल | फ्रान्स | ख्रिस्टियन |
१२ | हावाको चाप | १६४३ | इभान्जेलिस्टा टोरिचेल्ली | इटाली | ख्रिस्टियन |
१३ | पेन्डुलम घडी | १६५६ | क्रिस्चियन हुजेन्स | नेदरल्यान्ड | ख्रिस्टियन |
१४ | बोयलको नियम | १६६२ | रोबर्ट बोयल | आयरल्यान्ड | ख्रिस्टियन |
१५ | कोष | १६६४ | रोबर्ट हुक | इङ्गल्यान्ड | ख्रिस्टियन |
१६ | गुरुत्वाकर्षणको नियम | १६६६ | सर आइज्यक न्युटन | इङ्गल्यान्ड | ख्रिस्टियन |
१७ | प्रेसर कुकर | १६६९ | डेनिस प्यापिन | फ्रान्स | ख्रिस्टियन |
१८ | ब्याक्टेरिया | १६७६ | एन्टोनी भान लेबिनहुक | हल्यान्ड | ख्रिस्टियन |
१९ | प्रकाशको गति | १६७६ | ओल रोमर | डेनमार्क | ख्रिस्टियन |
अठारौँ शताब्दीका खोजहरू | |||||
२० | वर्गीकरण विज्ञान | १७३५ | कार्ल लिनिअस | स्विडेन | ख्रिस्टियन |
२१ | सेल्सियस एकाइ | १७४२ | एन्डर्स सेल्सियस | स्विडेन | ख्रिस्टियन |
२२ | बिजुली | १७५२ | बेन्जामिन फ्र्याङ्कलिन | अमेरिका | देववादी |
२३ | कार्बनडाइअक्साइड | १७५४ | जोसेफ ब्ल्याक | स्कटल्यान्ड | ख्रिस्टियन |
२४ | हाइड्रोजन | १७६६ | हेन्री क्याभेन्डिस | इङ्गल्यान्ड | अज्ञेयवादी |
२५ | अक्सिजन | १७७४ | जोसेफ प्रिस्टली | इङ्गल्यान्ड | ख्रिस्टियन |
विज्ञानलाई अङ्ग्रेजीमा science र ल्याटिनमा scientia भनिन्छ । यो ल्याटिन क्रियापद scire बाट व्युत्पन्न भएको हो जसको अर्थ ‘जान्नु’ हो । त्यसैले विज्ञान ज्ञान प्राप्त गर्ने कुरासित सम्बन्धित छ । प्राकृतिक संसारबारे परीक्षण र अवलोकनद्वारा प्राप्त सत्यताहरूमा आधारित ज्ञानलाई विज्ञान भनेर परिभाषित गर्न सकिन्छ ।
मानिसको सृष्टिपछि परमेश्वरले आज्ञा दिनुभयो, “फलवन्त होओ र वृद्धि हुँदै जाओ र पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो वशमा पार्दै जाओ अनि समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीमाथि अधिकार गर” (उत्पत्ति १:२८) । प्रकृतिको खोज अनुसन्धान नै विज्ञान हो ।
३० ओटाभन्दा बेसी पुस्तकका लेखकसाथै धर्मसम्बन्धी समाजशास्त्री रोड्नी स्टार्कले तर्क गरेका छन् कि विज्ञानको उदयको लागि ख्रिस्टियन ईश्वरशास्त्र अपरिहार्य थियो । मध्यकालीन ख्रिस्टियन ईश्वरशास्त्रबाट आधुनिक विज्ञानको विकास भएको थियो भनी विज्ञानका विख्यात दार्शनिक अल्फ्रेड नर्थ ह्वाइटहेडले उल्लेख गरेका छन् । भौतिकशास्त्री अर्नेस्ट माकले भनेका छन्, “हरेक पूर्वाग्रहरहित चिन्तकले स्वीकार गर्नैपर्छ कि यन्त्र विज्ञानको मुख्य विकास भएको युग ईश्वरशास्त्रीय अवधारणाले आधिपत्य जमाएको युग थियो ।”