साधारण जीवनको असाधारण प्रभाव

दुई हजार वर्षअगि एउटा दुर्गम गाउँमा निम्न स्तरकी स्त्रीबाट अलौकिक ढङ्गमा एक बालकको जन्म भयो । उहाँ अर्को गाउँमा हुर्कनुभयो जहाँ उहाँले सिकर्मीको रूपमा काम गर्नुभयो । उहाँ गरिबीमा बाँच्नुभयो । आफू बाँचेको मुलुकको सिमाना उहाँले जीवनमा एक पटक मात्र पार गर्नुभयो । उहाँसँग न धनसम्पत्ति थियो, न त प्रभावशाली व्यक्तिहरूले गर्ने काम नै गर्नुभयो उहाँले । उहाँका नातेदारहरू विशिष्ट थिएनन् । तथापि आफ्नो शिशुवस्थामा उहाँले राजालाई भयभीत पारिदिनुभयो; आफ्नो बाल्यावस्थामा उहाँले डाक्टरहरूलाई दङ्ग पारिदिनुभयो; आफ्नो प्रौढावस्थामा उहाँले प्राकृतिक नियममाथि शासन गर्नुभयो । चिकित्साशास्त्र अध्ययन नगरिकनै उहाँले मनग्गे आश्चर्यकर्महरू गर्नुभयो तरै पनि त्यसको सट्टामा एक पैसा कसैबाट लिनुभएन ।

उहाँले कहिल्यै विवाह गर्नुभएन । आफ्नो जन्मस्थलबाट उहाँले कहिल्यै २०० माइल भन्दा बढी यात्रा गर्नुभएन । करिब ३३ वर्षको मात्र पुग्नुहुँदा दुर्इ जना डाँकुको बिचमा उहाँलाई क्रुसमा मृत्युदण्ड दिइयो । उहाँलाई मृत्युदण्ड दिनेहरूले उहाँको सम्पत्तिको नाउँमा रहेको एउटै मात्र टुक्रा अर्थात् वस्त्रको लागि गोला हाले । उहाँलाई जुन चिहानमा गाडियो, त्यो उहाँको आफ्नो थिएन । तीन दिनपश्चात् उहाँ पुनः बिउँतनुभयो भनी उहाँका चेलाहरूले दाबी गरे र त्यसैको प्रचार गरे ।

उहाँले कहिल्यै एउटै पुस्तक लेख्नुभएन तथापि उहाँको विषयमा लेखिएका पुस्तकहरू यति धेरै छन् कि कुनै पनि देशको सम्पूर्ण पुस्तकालयहरूमा ती अटाउँदैनन् । उहाँले कहिल्यै गीतको रचना गर्नुभएन तरै पनि सारा गीतहरूको लागि चाहिने विषयवस्तुभन्दा बढी विषयवस्तु जुटाउनुभयो उहाँले । उहाँ कहिल्यै सेमिनारी वा कलेजमा जानुभएन, न त उहाँले कुनै कलेजको स्थापना गर्नुभयो तथापि उहाँले यति धेरै विद्यार्थीहरूको उत्पादन गर्नुभयो कि अन्य सबै कलेजका विद्यार्थीहरू एकत्रित गर्दा पनि तिनीहरूले घमण्ड गर्न सक्दैनन् । उहाँले कुनै सेनालाई सैनिक तालिम दिनुभएन, न सिपाहीलाई भर्ना लिनुभयो, न त आफैले बन्दुक चलाउनुभयो तथापि उहाँको आज्ञामा जति विद्रोहीहरू स्वेच्छाले समर्पित भए त्यति अन्य कुनै अगुवाको आज्ञामा भएको छैन । उहाँले कहिल्यै मनचिकित्सको अभ्यास गर्नुभएन तथापि सबै डाक्टरहरूले भन्दा उहाँले टुटेको हृदयलाई बढी निको पार्नुभयो ।

ग्रिस र रोमका विगतका घमण्डी राजनीतिज्ञहरूका नामहरू आए र गए । विगतका वैज्ञानिक, दर्शनशास्त्री र ईश्वरशास्त्रीहरूका नामहरू आए र गए तर उहाँको नाम झन्झन् वृद्धि हुँदै गइरहेको छ । उहाँको क्रुसारोहणको दृश्य र आजको पुस्ताबिचमा दुई हजार वर्षको अन्तर भए तापनि उहाँ अझै जीवित हुनुहुन्छ । हेरोदले उहाँलाई मार्न सकेन न त चिहानले उहाँलाई रोक्न सक्यो ।

दुर्इ सहस्राब्दी बितिसकेको छ । आज उहाँ मानवजातिको मुख्य व्यक्तित्व हुनुहुन्छ । उहाँको जन्मले अङ्ग्रेजी पात्रोलाई इतिहासको दुई भागमा विभाजन गर्छ । विश्वका विकसित देशहरूमा प्रत्येक हप्ताको एक दिन उहाँको सम्झनाको निम्ति छुट्ट्याइन्छ । संसारभरि नै प्रत्येक वर्ष उहाँको जन्म र पुनरुत्थानको उत्सव मनाइन्छ । इतिहासमा अन्य कुनै व्यक्तिको जीवनी वा घटनाले भन्दा उहाँको जीवनीले गीत, पुस्तक, कविता र चित्रहरूको विषयवस्तुको लागि बढी सामग्रीहरू उपलब्ध गराएको छ । उहाँको सम्झनामा हजारौँ क्याम्पस, अस्पताल, अनाथालयसाथै अन्य सङ्घसंस्थाहरू स्थापित गरिएका छन् ।

उहाँको नाउँ हो— जिसस क्राइस्ट अर्थात् येशू ख्रीष्ट ।

Facebook Comments

Powered by Youth Circle