बाइबलबारे तपाईंले जान्नुपर्ने ९ ओटा तथ्यहरू

१. ख्रीष्टियानहरूको धर्मशास्त्रको नाउँ हो— बाइबल । नेपाली रूप ‘बाइबल’ अङ्ग्रेजी शब्द Bible को लिप्यन्तरण हो जुन ग्रिक शब्द बिब्लिओनबाट आएको हो जसको अर्थ हुन्छ, ‘पुस्तक’ वा ‘मुट्ठा ।” बाइबल केवल एउटा पुस्तक नभएर ६६ ओटा पुस्तकहरूको सङ्ग्रह हो ।

२. विविधताको बाबजुद पनि एउटै मुख्य विषयवस्तु भएको पुस्तक हो— बाइबल । बाइबललाई पूरानो करार र नयाँ करार गरी दुई भागमा विभाजन गरिएको छ । पूरानो करारमा ३९ ओटा पुस्तकहरू (उत्पत्तिदेखि मलाकीसम्म) छन् भने नयाँ करारमा २७ ओटा (मत्तीदेखि प्रकाशसम्म) । यी ६६ ओटा पुस्तकहरूलाई विभिन्न पेसा भएका ४० भन्दा बढी मानवीय लेखकहरूले लगभग १,५०० वर्षको अवधिमा एसिया, युरोप र अफ्रिका गरी तीन ओटा महादेश अनि हिब्रू, आरमेइक र ग्रिक गरी तीन ओटा भाषामा लेखे । बाइबल अनेकताले भरिएको पुस्तक भए तापनि यसको मुख्य विषयवस्तु एउटै छ— मानव-जातिको छुटकाराको निम्ति परमेश्वरको योजना ।

३. संसारमा सबैभन्दा बेसी सतावट भोग्ने पुस्तक हो— बाइबल । मानव इतिहासममा यसको निर्मूलनको लागि हर सम्भाव्य प्रयास गरिएको थियो । सबै ओहोदाका मानिसहरू यसको विरुद्धमा खनिएका थिएः तानाशाह, सम्राट्, पोप, राजा, राजकुमार, पुजारी, शासक, लेखक, व्यङ्ग्यकार । तर ती सबै पृथ्वीको धुलोमा मिसिएर गए तर बाइबल अविनाशी छ । यसको उन्मूलनको लागि मानिसको हर युक्तिका बाबजुद पनि हाम्रो भूगोल र हाम्रो समयमा यसको उपलब्धतालाई आश्चर्य नै मान्नुपर्छ ।

४. संसारमा सबैभन्दा बेसी भाषाहरूमा अनुवाद गरिएको पुस्तक हो— बाइबल । संसारमा बोलिने ७,३९४ ओटा भाषामध्ये हालसम्म पूरै बाइबललाई ७३६ ओटा, नयाँ करारलाई थप १,६५८ ओटा र यसका अंशहरूलाई थप १,२६४ ओटा भाषामा अनुवाद गरिएको छ । बाइबलको कुनै न कुनै अंश ३,६५८ ओटा भाषामा अनुवाद भइसकेको छ र यी भाषाले संसारका ७ अरब २३ करोड अर्थात् ९७% जनसङ्ख्याको प्रतिनिधित्व गर्छन् । मानिसहरूले आफ्नै भाषामा धर्मशास्त्रलाई पढ्न पाउनुपर्छ भन्ने चौधौँ शताब्दीका बाइबल अनुवादक जोन विक्लिफको सपना परमेश्वरले केही दशकभित्र पूरा गर्दै हुनुहुन्छ भनी अपेक्षा गर्न सकिन्छ ।

५. संसारमा सबैभन्दा बेसी बिक्री-वितरण गरिएको पुस्तक हो— बाइबल । युनाइटेड बाइबल सोसाइटीले ख्रिस्टाब्द १९९८ सम्ममा धर्मशास्त्रको अंशसाथै छनौटलाई जोड्दा ५ अरब ८५ करोड बाइबलका प्रतिहरूलाई वितरण गरेको थियो । गिदोन इन्टरनेसनल नामक संस्थाले मात्रै हालसम्म झन्डै २ अरब बाइबल वितरण गरिसकेको छ । पूरै बाइबल, नयाँ करार वा बाइबलका अंशहरू हालसम्म लगभग ७ अरबभन्दा बेसी बिक्री-वितरण भएको छ भनी अनुमान गरिएको छ ।

६. साहित्यमाथि सबैभन्दा बेसी प्रभाव पार्ने पुस्तक हो— बाइबल । साहित्यभित्र बाइबलका वचनहरू यसरी घुसेका छन् कि यस धरतीबाट सारा बाइबलाई निर्मूलन पार्ने हो भने पनि ती उद्धरणहरूलाई एकत्रित गरी यसका अपरिहार्य भागहरू पुनर्स्थापित गर्न सकिन्छन् । मिल्टन र सेक्सपिएरजस्ता पाश्चात्य भूमिका विख्यात लेखकहरूका कृतिहरूले बाइबलमा नै जरा गाडेका छन् । बाइबलको जन्मदेखि आजसम्म यसले असङ्ख्य पुस्तकहरूको रचना गर्न प्रेरित गरेको छ ।

७. सभ्यतामाथि सबैभन्दा बेसी प्रभाव पार्ने पुस्तक हो— बाइबल । पाश्चात्य सभ्यतामा बाइबलले पारेको असाधारण प्रभावबारे इतिहास पढ्ने जोसुकैलाई पनि राम्ररी थाहा छ । संसारको अन्य कुनै पनि पुस्तकले भन्दा ख्रीष्टियान धर्मशास्त्र बाइबलले सभ्यताको निर्माणमा बेसी योगदान दिएको छ । मानव-जातिले जानेको उच्चतम आदर्शहरूलाई प्रस्तुत गरेको छ बाइबलले ।

८. भविष्यबारे सबैभन्दा बेसी बताउने पुस्तक हो— बाइबल । बाइबलमा जम्माजम्मी १,८१७ ओटा अगमवाणीहरू पाइन्छन् अर्थात् बाइबल लेखिँदा यसको एक चौथाइ भाग अगमवाणीसित सम्बन्धित थियो । बाइबलका सयौँ भविष्यवाणीहरू पूरा भइसकेका छन्; केही पूरा हुँदै छन् भने पूरा हुन बाँकी भविष्यवाणीहरू पनि मनग्गे छन् ।

९. प्राचीन धर्मशास्त्र भए तापनि आधुनिक विज्ञानहरू सामेल भएको पुस्तक हो— बाइबल । बाइबलमा भौतिकविज्ञान, खगोलविज्ञान, जीवविज्ञान, जलविज्ञान, भूविज्ञान, मानवविज्ञान र जीवाश्मविज्ञान पाइन्छन् । बाइबलको कुनै पनि कथन आधुनिक वैज्ञानिक खोजसित बेमेल भएको पुष्टि भएको छैन । यसको विपरीत, बाइबलले आधुनिक विज्ञानको जग बसाल्न उल्लेखनीय भूमिका निर्वाह गरेको थियो ।

 

Facebook Comments

Powered by Youth Circle