संसारका सबै पुस्तकमध्ये बाइबल विविध क्षेत्रहरूमा फरक छ । तीमध्ये एउटा क्षेत्र हो, बाइबलको एकत्व ।
पुरानो करारमा उनन्चालिस र नयाँ करारमा सत्ताइसवटा गरी बाइबलमा जम्माजम्मी छैँसट्ठी ओटा पुस्तक छन् । पञ्चग्रन्थ भनेर चिनिने मोशाद्वारा लिखित बाइबलका अगिल्ला पाँचवटा पुस्तक (उत्पत्ति-व्यवस्था) सम्भवत: १४०० ख्रिस्टपूर्वतिर लेखिए । प्रकाशको पुस्तक बाइबलको सबैभन्दा पछि लेखिएको पुस्तक हो, जुन प्रेरित यूहन्नाद्वारा करिब ख्रिस्टाब्द ९० मा लेखिएको थियो । यसरी बाइबलका सबै पुस्तक लेख्नलाई जम्माजम्मी झन्डै पन्ध्र सय वर्ष लागेको थियो ।
बाइबल लेख्न ४० भन्दा बढी मानवीय लेखक संलग्न भए । ती लेखकहरू विभिन्न पेसा र क्षेत्रका थिए । मोशा मिश्रदेशको विश्वविद्यालयमा तालिम प्राप्त अगुवा, पत्रुस मछुवा, आमोस गोठाला, यहोशू सेनापति, नहेम्याह मद्य टक्र्याउने, लूका वैद्य, सोलोमोन राजा, पावल रब्बी, दानिएल प्रधानमन्त्री थिए ।
लेखकका पेसाहरू मात्र फरक-फरक थिएनन्, तर लेखिएका स्थानहरू पनि फरक-फरक थिए । मोशाले उजाडस्थानमा लेखे भने यर्मियाले कालकोठरीमा । लूकाले यात्रामा लेखे भने यूहन्नाले पत्मोस टापुमा । दानिएलले दरबारमा लेखे भने पावलले झ्यालखानामा ।
कसैले हर्षको टाकुराबाट लेखेका छन् भने कसैले उदासीको सागरबाट । कसैले युद्धको समयमा लेखेका छन् भने कसैले शान्तिको समयमा । कसैले निश्ययताको समयमा लेखेका छन् भने कसैले आशङ्काको समयमा ।
बाइबललाई एसिया, युरोप र अफ्रिका गरी तीनवटा महादेशमा मात्र लेखिएन तर हिब्रू, आरमेइक र ग्रिक गरी तीनवटा भाषामा पनि लेखियो । पुरानको करारका अधिकांश भाग हिब्रू भाषामा लेखिए भने केही भाग आरमेइकमा । नयाँ करारलाई ग्रिक भाषामा लेखियो ।
हामी बाइबलमा कविता, ऐतिहासिक विवरण, गीत, संस्मरण, व्यङ्ग्य, जीवनी, आत्मचरित्र, कानुन, भविष्यवाणी, दृष्टान्त, रूपक आदिजस्ता विविध साहित्यिक शैलीहरू पाउँछौँ ।
बाइबलले सैयौँ विषयलाई सम्बोधन गरेको छ । विवाह, पुनर्विवाह, पारपाचुके, समलिङ्गता, व्यभिचार, परस्त्रीगमन, आज्ञाकारिता, परमेश्वरको प्रकृति र प्रकाश आदिजस्ता विभिन्न विषयहरू बाइबलका पानाहरूमा अभिलिखित छन् ।
बाइबलमा यति धेरै विविधता भए तापनि हामी बाइबलमा एकता पाउँछौँ । अनेकतामा एकता बाइबलको विषेशता हो । बाइबलको एकत्व यसका आश्चर्यपूर्ण चरित्रहरूमध्ये एक हो । मानवीय परिप्रेक्ष्यबाट हेर्दा असम्भवजस्तो लागे तापनि हामी बाइबलमा एउटै मुख्य विषयवस्तु पाउँछौँ— मानव-जातिको लागि परमेश्वरको छुटकाराको योजना । बाइबलका लेखकहरूले सैयौँ विषयमा लेखेका भए तापनि उत्पत्तिदेखि प्रकाशसम्म सामञ्जस्य पाइन्छ । येशू ख्रीष्ट बाइबलको मुख्य व्यक्तित्व हुनुहुन्छ । पञ्चग्रन्थले ख्रीष्टको जग उपलब्ध गराउँछ; ऐतिहासिक पुस्तकहरूले ख्रीष्टको निम्ति तयारीलाई प्रस्तुत गर्छ; बुद्धि तथा पद्यात्मक पुस्तकहरूले ख्रीष्टको निम्ति उत्कट इच्छालाई उल्लेख गर्छन् भने भविष्यवाणीहरूले ख्रीष्टको आशालाई उदाङ्गो पार्छन् । नयाँ करारमा सुसमाचारहरूले ख्रीष्टको प्रकटनलाई अभिलिखित गर्छन्; प्रेरितको पुस्तकले ख्रीष्टको प्रचारलाई वर्णन गर्छ; पत्रहरूले उहाँको विषयमा अर्थ खोल्छन् भने प्रकाशको पुस्तकमा ख्रीष्टमा हुने सबै कुराको समाप्ति अभिलिखित छ ।
तब तार्किक र बुद्धिमानी व्यक्तित्वले प्रश्न गर्नुपर्छ, “बाइबलमा यति धेरै विविधता हुँदाहुँदै पनि यसमा अन्तर्विरोध नपाइनुको कारण के हो ?” बाइबलका लेखकहरू हाम्रा माझमा हुँदा हुन् त तिनीहरूले सम्भवतः यसरी उत्तर दिनेथिए, “किनकि हामीले परमेश्वरको प्रेरणा पाएर लेखेका थियौँ ।”[i]
सन्दर्भ स्रोतः
[i] थप जानकारीको लागि कमल अधिकारीद्वारा लिखित प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू नामक पुस्तक पढ्नुहोस् ।