सञ्चार र भूगोलको दृष्टिकोणबाट येशूको आगमन ठिक समयमा भएको थियो भनी अगिल्ला दुईवटा पाठमा हामीले हेरिसक्यौँ । आज हामी तेस्रो दृष्टिकोणमाथि मनन गर्ने छौँ ।
३. अमन-चैनको दृष्टिकोणबाट येशूको आगमन ठिक समयमा भएको थियो
मानव इतिहास युद्धले भरिएको छ । आजभन्दा ५ हजार वर्षअगि देखि नै विभिन्न जाति तथा समुदायमहरू एक-अर्कसित झैझगडा, लडाइँ र युद्धमा संलग्न हुन्थे । तिनीहरू नियमित रूपमा लडाइँमा लाग्थे । मिश्री, उत्तर अफ्रिकी, अक्कादी, सुमेरियाली, फारसी, बेबिलोनी, हित्ती, अश्शुरी, यहूदी, ग्रिक र रोमीहरू बारम्बार क्रूर युद्धहरूमा संलग्न भए । तिनीहरूमध्ये धेरैका युद्ध केवल एक पुस्तामा मात्र सीमित नभई पुस्तौसम्म लम्बिन्थे । चौथो शताब्दी ख्रिस्टपूर्वमा माकेडोनियाका शक्तिशाली राजा अलेक्ज्यान्डर महान्को नेतृत्वमा पनि विश्वव्यापी शान्ति विद्यमान थिएन ।
तर अगस्टसको आगमनसँगै धेरै कुरा परिवर्तन भए । तिनको शासनअगि युद्धमा संलग्न भइरहने जातिहरूका बिचमा शान्ति विरलै फेला पार्न सकिन्थ्यो । वास्तवमा प्राचीन संसारको इतिहास शक्ति सङ्घर्ष र रक्तपातका कथाहरूले भरिपूर्ण छ ।
६३ ख्रिस्टपूर्वमा अगस्टसको जन्म गणतान्त्रिक रोममा भएको थियो । ख्रिस्टाब्द १४ मा संसार छाड्दा तिनी ७५ वर्षका थिए । तिनी नै प्रथम रोमी सम्राट् थिए जसले २७ ख्रिस्टपूर्वदेखि ख्रिस्टाब्द १४ सम्म शासन गरे । अक्टाभियस पनि भनेर चिनिने तिनलाई मानव इतिहासकै एक प्रभावशाली अगुवाको रूपमा हेरिन्छ । सारा भूमध्यसागरीय क्षेत्रहरूलाई एउटै शासनमुनि ल्याई रोमी साम्रज्यले अधिकांश पश्चिमी भूभागलाई एकत्रित गर्यो । एक-अर्काको विरुद्धमा लड्ने अधिकांश जातिहरू एउटै शासनमुनि पुगे ।
सम्राट् अगस्टसको नेतृत्वमा रोमी शान्तिको थालनी भयो जसलाई ‘प्याक्स रोमाना’ भनेर चिनिन्छ । २७ ख्रिस्टपूर्वबाट सुरु भएको यस शान्तिको अवधि ख्रिस्टाब्द १८० सम्म लम्बिएको थियो । झन्डै २०० वर्षसम्म लम्बिएको यस समयावधिलाई रोमी इतिहासमा स्वर्णीम काल पनि भनिन्छ । साम्राज्यमा अमन-चैन थियो र उन्नति स्थिर थियो । यो समयमा आफ्ना संस्कृति र रीतिरिवाजहरूको पालन गरी यहूदीहरूलाई यरूशलेमजस्ता सहरहरूमा बस्ने अनुमति दिइएको थियो ।
तुलनात्मक रूपमा साम्राज्यभरि शान्ति छाएको बेलामा नासरतका येशूका शिक्षा र सेवाकार्य फैलने वातावरण पैदा भएको थियो । यसभन्दा अगिको समयभन्दा अमनचैनको दृष्टिकोणबाट रोमीहरूको यस स्वर्णीम काल येशूको देहधारणको लागि उपयुक्त थियो । समय रेखाको यही सानो कालखण्डमा येशूको आगमन भयो भनी इतिहासकार लूका अभिलिखित गर्छन्, “ती दिनमा कैसर अगस्टसले तिनको सारा साम्राज्यमा जनगणना लिनू भन्ने हुकुम जारी गरे । … नाउँ दर्ता गराउन तिनी आफूसँग मगनी भएकी मरियमलाई साथमा लिएर गए । मरियम गर्भवती थिइन् । … तिनले आफ्नो जेठो छोरो जन्माइन्” (लूका २:१-७) ।