बाइबलका १०० ओटा पद जसले अमेरिका निर्माण गरे

जर्ज वासिङ्टन अमेरिकाका प्रथम राष्ट्रपति हुन् जसले ३० अप्रिल १७८९ मा बाइबलमा हात राखी शपथ खाएका थिए । यस पवित्र ग्रन्थलाई मुलुककै मूल्यवान् सम्पत्तिको रूपमा सुरक्षितसाथ राखिएको छ । जिम्मी कार्टर, जर्ज एच. डब्लु. बुसजस्ता पछिल्ला राष्ट्रपतिहरूले पनि यसलाई शपथको लागि प्रयोग गरे । ११ सेप्टेम्बर २००१ मा अमेरिकामा आतङ्कवादी आक्रमण हुँदा यो बाइबल खतरामा परेको थियो । दुई दिनपछि यस बाइबललाई फेला पारियो ।

बाइबलविना अमेरिकी इतिहासलाई बुझ्ने कोसिस गर्नु भनेको रगत-प्रवाहविना मानवीय शरीरलाई बुझ्ने कोसिस गर्नुजस्तै हो । द्वितीय अमेरिकी राष्ट्रपति जोन आदम्सले भने, “बाइबलमा पृथ्वीमा ज्ञात सबैभन्दा गहन दर्शनशास्त्र, सबैभन्दा सिद्ध नैतिकता र सबैभन्दा परिष्कृत नीति पाइन्छन् ।” प्रथम प्रधान न्यायाधीश जोन रेले व्यक्त गरे, “सबै पुस्तकहरूमध्ये बाइबल सर्वोत्तम छ किनकि यो परमेश्वरको वचन हो र यस संसार र आउने संसारमा कसरी खुसी हुने भनी यसले हामीलाई सिकाउँछ ।” सोर्‍हौँ राष्ट्रपति अब्राहाम लिङ्कनले बाइबललाई “परमेश्वरले मानिसलाई दिनुभएको सर्वोत्तम उपहार” भनेका छन् । तिसौँ अमेरिकी राष्ट्रपति काल्भिन कुलिजका अनुसार अमेरिकी समाज र अमेरिकी सरकारको जग बाइबलका शिक्षाहरूमा आश्रित छ ।

दश दिन (अगस्ट १७-२६) मा ११ घण्टा खर्चेर मैले 100 Bible Verses That Made America: Defining Moments That Shaped Our Enduring Foundation of Faith नामक पुस्तक पढेर सिद्धाएँ । ३७४ पृष्ठको यो रचना गत वर्ष मात्र छापिएको हो । पुस्तक पठन यात्रामा यो मेरो १२४ औँ पुस्तक हो । यसका रचनाकार हुन्, रोबर्ट जे. मोर्गान । तिनी बाइबलका विद्यार्थी मात्र नभएर अमेरिकी इतिहासका पनि विद्यार्थी हुन् । तिनी लेखक तथा वक्ता हुन् । ४० वर्षसम्म पास्टरीय सेवा गरिसकेका तिनका ३५ ओटाभन्दा बेसी पुस्तक प्रकाशित छन् र विभिन्न भाषामा तिनका पुस्तकहरू ५० लाखभन्दा बेसी बिक्री-वितरण भइसकेका छन् ।

यो अमेरिकामा बाइबलको प्रभावबारे लिखित पुस्तक हो । वर्तमान समयमा अमेरिका पूर्णत: बाइबलीय मूल्य-मान्यताहरूमामा खडा भएको छैन भनी दाबी गर्न सकिने भए तापनि यो ख्रीष्टियान अवधारणामा स्थापित मुलुक थियो । पुस्तकमा मोर्गानले बाइबलका १०० ओटा पद उल्लेख गरेका छन् जसले अमेरिका निर्माण गरे । ती पदहरूको ऐतिहासिक व्याख्यासाथै अमेरिकी इतिहासमा तिनको प्रभावबारे पुस्तकमा पढ्न पाइन्छ । ती केही पदहरू यहाँ अभिलिखित छन् ।

“आदिमा वचन हुनुहुन्‍थ्‍यो, वचन परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो, अनि वचन परमेश्‍वर हुनुहुन्‍थ्‍यो” (यूहन्ना १:१) ।

“कसैले काम गर्दैन भने त्‍यसले नखाओस्‌” (२ थेसलोनिकी ३:१०) ।

“आँधी शान्‍त भएपछि तिनीहरू खुशी भए, र उहाँले तिनीहरूले चाहेका बन्‍दरगाहमा पुर्‍याउनुभयो” (भजन १०७:३०) ।

“तिमीहरू संसारका ज्‍योति हौ । डाँड़ामा बसालिएको सहर लुक्‍न सक्‍दैन” (मत्ती ५:१४) ।

“तब तिमीहरूले सत्‍य के हो सो जान्‍नेछौ, र सत्‍यले तिमीहरूलाई स्‍वतन्‍त्र तुल्‍याउनेछ” (यूहन्ना ८:३२) ।

“ख्रीष्‍ट येशूका असल सिपाहीझैँ दु:ख-भोगमा हामीसँग सहभागी होऊ” (२ तिमोथी २:३) ।

“मैले तिमीलाई नयाँ गरी जन्‍मनुपर्छ भन्‍दा अचम्‍म नमान” (यूहन्ना ३:७) ।

“यदि परमेश्‍वर हामीतर्फ हुनुहुन्‍छ भने, हाम्रो विरुद्ध को हुन्‍छ” (रोमी ८:३१) ?

“सारा देशका बासिन्‍दाहरूलाई स्‍वतन्‍त्रताको घोषणा गर्नू” (लेवी २५:१०) ।

“किनकि पापको ज्‍याला मृत्‍यु हो, तर परमेश्‍वरको सित्तैँको वरदान ख्रीष्‍ट येशू हाम्रा प्रभुमा अनन्‍त जीवन हो” (रोमी ६:२३) ।

“स्‍वतन्‍त्रताको निम्‍ति ख्रीष्‍टले हामीलाई स्‍वतन्‍त्र पार्नुभएको छ । यसकारण दह्रा भएर खड़ा होओ, र फेरि दासत्‍वको जुवामुनि नपर” (गलाती ५:१) ।

“हे मानिस हो, सब समय उहाँमा नै भरोसा गर, उहाँको सामुन्‍ने आफ्‍ना मन खोल, किनकि परमेश्‍वर हाम्रो शरणस्‍थान हुनुहुन्‍छ” (भजन ६२:८) ।

“धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्‍छ” (याकूब ५:१६) ।

“परमप्रभुको नाउँ एक बलियो धरहरा हो, धर्मीहरू त्‍यहाँ दगुर्दै जान्‍छन्‌ र सुरक्षित हुन्‍छन्‌” (हितोपदेश १८:१०) ।

“ए मानिस, जे असल छ, त्‍यो उहाँले तँलाई देखाउनुभएको छ । र परमप्रभुले तँबाट के चाहनुहुन्‍छ ? केवल यति, ठीकसित काम गर्नू र कृपालाई प्रेम गर्नू र तेरा परमेश्‍वरसित विनम्र भएर हिँड्‌नू” (मीका ६:८) ।

“परमप्रभुले नै घर नबनाउनुभए त,

बनाउनेहरूले गरेको परिश्रम व्‍यर्थ हुन्‍छ” (भजन १२७:१) ।

“तर ख्रीष्‍टलाई प्रभु मानेर तिम्रो हृदयमा उहाँको श्रद्धा गर । तिमीहरूमा भएका आशाको विषय कसैले सोधपूछ गरे त्‍यसको जवाफ दिन सधैँ तत्‍पर बस, तर त्‍यो काम नम्रता र श्रद्धासाथ गर” (१ पत्रुस ३:१५) ।

“धार्मिकताले देशलाई उचाल्‍छ” (हितोपदेश १४:३४) ।

“स्‍याबास, असल र विश्‍वासी नोकर, तँ थोरै कुरामा विश्‍वासी भइस्‌, अब म तँलाई धेरै कुराको जिम्‍मा दिनेछु । तँ आफ्‍ना मालिकको खुशीमा सहभागी हो” (मत्ती २५:२३) ।

“हरेक असल दान र हरेक सिद्ध वरदान स्‍वर्गबाट हो, यो वरदान ज्‍योतिका पिताबाट आउँछ” (याकूब १:१७) ।

“धन्‍य मेलमिलाप गराउनेहरू,

किनभने तिनीहरू परमेश्‍वरका छोराहरू कहलाइनेछन्‌” (मत्ती ५:९) ।

“परमेश्‍वरले कस्‍तो विचित्रको कार्य गर्नुभएको छ!” (गन्ती २३:२३) ।

“येशूले तिनलाई भन्‍नुभयो, ‘पुनरुत्‍थान र जीवन म नै हुँ । मलाई विश्‍वास गर्ने मर्‍यो भने पनि जीवित हुनेछ'” (यूहन्ना ११:२५) ।

“मैले तिमीहरूलाई मित्र भनेको छु, किनभने जे मैले मेरा पिताबाट सुनें, मैले ती सबै तिमीहरूलाई जनाइदिएको छु” (यूहन्ना १५:१५) ।

“हल्‍लेलूयाह! किनकि परमप्रभु हाम्रा परमेश्‍वर सर्वशक्तिमान्‌ले राज्‍य गर्नुहुन्‍छ” (प्रकाश १९:६) ।

“उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ” (१ यूहन्ना १:७) ।

“परमप्रभु तिमीहरूका परमेश्‍वरले कसरी तिमीहरूलाई डोर्‍याउनुभयो, सो स्‍मरण गर” (व्यवस्था ८:२) ।

“तर पहिले उहाँको राज्‍य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्‍ति थपिनेछन्‌” (मत्ती ६:३३) ।

“जहाँ दर्शन-प्रकाश छैन, त्‍यहाँ मानिसहरू भाँड़िन्‍छन्‌” (हितोपदेश २९:१८) ।

“तर परमेश्‍वरले हाम्रा निम्‍ति उहाँको प्रेम यसैमा देखाउनुहुन्‍छ, कि हामी पापी छँदै ख्रीष्‍ट हाम्रा निम्‍ति मर्नुभयो” (रोमी ५:८) ।

“हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्‌, किनकि यिनीहरूले के गर्दैछन्‌ सो जान्‍दैनन्‌” (लूका २३:३४) ।

“आफ्‍ना मित्रहरूका लागि आफ्‍नो प्राण अर्पण गरिदिनुभन्‍दा ठूलो प्रेम अरू कसैको हुँदैन” (यूहन्ना १५:१३) ।

“यदि मेरो आफ्‍नै नाउँ दिइएको मेरो प्रजाले आफैलाई नम्र पारेर प्रार्थना गर्छ, र मलाई खोजेर आफ्‍ना दुष्‍ट चालहरूबाट फर्कन्‍छ, तब म स्‍वर्गबाट तिनीहरूको प्रार्थना सुन्‍नेछु, र तिनीहरूका पाप क्षमा गर्नेछु, र तिनीहरूको देशलाई म स्‍वस्‍थ्‍य पार्नेछु” (२ इतिहास ७:१४) ।

“तर न्‍यायचाहिँ नदीझैँ र धार्मिकता कहिले नसुक्‍ने खोलाझैँ बगिरहोस्‌” (आमोस ५:२४) ।

“आदिमा परमेश्‍वरले आकाश र पृथ्‍वी सृष्‍टि गर्नुभयो” (उत्पत्ति १:१) ।

“किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्‌, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌” (यूहन्ना ३:१६) ।

Facebook Comments

Powered by Youth Circle