येशूका चेला फिलिपको चिहान पत्ता लाग्यो

बाइबलमा चार जना बेग्लाबेग्लै व्यक्तिको नाउँ फिलिप छ ।

(१) हेरोद महान्‌को छोरो जो इतुरिया र त्राखोनितिसका शासक थिए (लूका ३:१) ।

(२) हेरोद महान्‌को अर्को छोराको नाउँ पनि फिलिप नै थियो र तिनी हेरोदियासका पति थिए (मत्ती १४:३) ।

(३) सात जना डिकनमध्ये एक (प्रेरित ६:५) ।

(४) येशूका बार्‍ह जना चेलामध्ये एक (मत्ती १०:३) ।

यहाँ चर्चा गर्न लागिएको फिलिपचाहिँ चौथा अर्थात् येशूका बार्‍ह जना चेलामध्ये एकको बारेमा हो ।

आफ्नो सेवाको सुरुमा येशूले फिलिपलाई चेला हुन डाक्नुभयो, “भोलिपल्‍ट उहाँले गालीलमा जाने निश्‍चय गर्नुभयो । र फिलिपलाई भेट्टाएर उहाँले तिनलाई भन्‍नुभयो, ‘मेरो पछि लाग'” (यूहन्ना १:४३) । तिनी येशूको पछि लागे र उहाँका १२ जना चेलामध्ये एक बने (मत्ती १०:२–४) । येशूका चेलाहरू पत्रुस र अन्द्रियासजस्तै तिनी पनि बेथसेदाका बासिन्दा थिए । सम्मिलित सुसमाचारहरूमा तिनको खासै चर्चा नभए तापनि यूहन्नाको सुसमाचारमा तिनी एक प्रमुख चेलाको रूपमा देखिन्छन् ।

फिलिपले ग्रिस, सिरिया र फ्रिगियाका क्षेत्रहरूमा सुसमाचार प्रचार गरे भन्ने परम्परा पाइन्छ । परम्पराअनुसार ख्रिस्टाब्द ८० तिर तिनी हिरापोलिसमा सहिद भएका थिए । तिनलाई उँधुमुन्टो गरी क्रूसमा झुन्ड्याइएको थियो भनी विश्वास गरिन्छ ।

हिरापोलिस प्राचीन ग्रिक सहरको नाउँ हो जुन अहिले वर्तमान टर्कीको दक्षिण–पश्चिममा पर्छ । यहाँ उत्खनन गर्दा दफन स्थलको रूपमा प्रयोग गरिएको घर फेला पारियो जुन प्रेरित फिलिपको हुन सक्ने अपेक्षा गरियो । त्यसलाई पूर्णतः उत्खनन गरिएको खण्डमा पुरातत्त्वविद्हरूले फिलिपको चिहान फेला पार्नेथिए भनी विश्वास गरियो । तर त्यहाँ कुनै चिहान पाइएन । उत्खननका निर्देशक फ्रान्सेस्को डिअन्द्रिया छक्क पर्नुका साथै निरुत्साही भए । तथापि तिनले वरिपरिको क्षेत्रमा खोज जारी राखे ।

उक्त घरको झन्डै १२० फिट पर एउटा सानो मण्डली फेला पारियो । खोजकर्ताहरूले मण्डलीभित्र पहिलो शताब्दीको रोमी चिहान फेला पारे जुन प्रेरित फिलिपको चिहान थियो । चिहान पहिलो शताब्दीमा निर्माण गरिएको थियो भने चिहानको वरिपरिको मण्डलीचाहिँ पाँचौँ शताब्दीमा बनाइएको थियो भनी साक्षीले अङ्कित गर्छ ।

यसरी पुरानो मण्डली उत्खनन गर्ने क्रममा इटालीका प्राध्यापक फ्रान्सेस्को डिअन्द्रिया र उनको टोलीले फिलिपको चिहान पत्ता लगाएका थिए । खोजपछि डिअन्द्रियाले भने, “हामी वर्षौंदेखि सन्त फिलिपको चिहानको खोजीमा थियौँ । अन्ततः हामीले एक महिनाअगि उत्खनन गरेका एउटा मण्डलीको भग्नावशेषमा यसलाई फेला पार्‍यौँ ।”

प्राध्यापकका अनुसार चिहानको बनोट र भित्ताका लेखोटहरूले यो फिलिपकै चिहान भएको पुष्टि गर्छन् । पुरातत्त्वविद्हरूले वर्षौंदेखि यसको खोजी गर्दै थिए र अन्त्यमा यसलाई फेला पार्न तिनीहरू सफल भए । ख्रिस्टाब्द २०११ मा पत्ता लागेको यो अद्भुत खोज सम्पूर्ण ख्रीष्टियान जगत्‌को लागि मात्र नभएर पुरातात्त्विक जगत्‌को लागि पनि अत्यधिक महत्त्वपूर्ण छ ।

 

सन्दर्भ स्रोतहरू:

  1. https://www.biblicalarchaeology.org/daily/biblical-sites-places/biblical-archaeology-sites/tomb-of-apostle-philip-found/
  2. https://www.foxnews.com/science/tomb-of-st-philip-the-apostle-discovered-in-turkey
  3. https://www.hierapolis-info.ru/tomb-of-the-apostle-st-philip-in-hierapolis.html
  4. https://en.wikipedia.org/wiki/Philip_the_Apostle
Facebook Comments

Powered by Youth Circle