अज्ञानता, अन्धविश्वाससाथै आस्थाजस्ता विविध कारणहरूले गर्दा मानव-जातिले इतिहासमा मनग्गे कुरीतिहरूको अभ्यास गरे । यहाँ यस्ता सातवटा कुरीतिको बारेमा चर्चा गरिएका छन् जुन मूलतः ख्रीष्टियान शिक्षाको नतिजास्वरूप हटे ।
(१) ग्ल्याडिएटरवाद
प्राचीन रोममा खेलिने यो एउटा यस्तो डरलाग्दो खेल थियो जसमा मान्छेले मान्छेको ज्यान लिन्थ्यो । उक्त खेलको नाउँ हो, ग्ल्याडिएटरवाद । इतिहासमा मान्छे मार्ने खेलको पनि अभ्यास गरिन्थ्यो भन्दा तपाईं छक्क पर्नुहोला । तर यो साँचो हो । यस्तो अमानवीय खेलको सिकार भई दसौँ हजार मानिसले आफ्ना जीवन गुमाए । रोमीहरूको बुझाइमा मानवीय जीवन कति सस्तो रहेछ भनी यस खेलले छर्लङ्ग पार्छ ।
ख्रिस्टियमत रोमसम्म आइपुग्दा मान्छेले मान्छेलाई मारेर मनोरञ्जन लिने यस खेलको नतिजास्वरूप हजारौँले ज्यान गुमाइसकेका थिए । आदि ख्रीष्टियानहरू यस्तो खेलदेखि डराउँथे किनकि यो कुनै खेल नभई हत्या थियो ।
मानव-जातिको नैतिक इतिहासमा मान्छेले मान्छेको ज्यान लिने यस क्रूर खेलको निषेध एउटा उल्लेखनीय सुधार थियो । ख्रिस्टाब्द ४०४ मा सम्राट् होनोरिअसले यस खेलको अन्त्य गरेका थिए । मानव सभ्यता निर्माणमा ख्रीष्टियानहरूले उल्लेखनीय भूमिका निभाएका छन् जसमध्ये मान्छेको ज्यान लिने यस क्रूर खेलको निर्मूलन एउटा ज्वलन्त उदाहरण हो । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/108/)
(२) नरभक्षण
मान्छेले मान्छेलाई काटेर खाने अभ्यासलाई नरभक्षण भनिन्छ भने यसलाई अभ्यास गर्ने व्यक्तिलाई नरभक्षी भनिन्छ । हजारौँ वर्ष पुरानो यस अमानवीय अभ्यास संसारको विभिन्न भूभागमा विद्यमान थियो । ग्रिनल्यान्डपछि संसारको दोस्रो ठुलो टापु न्यु गिनीसाथै अस्ट्रेलियाको उत्तर-पूर्वी क्षेत्रमा अवस्थित पश्चिमी प्रशान्त महासागरीय क्षेत्रमा पर्ने सोलोमन टापुका भागहरूमा यस्तो अभ्यास कायम थियो । फिजीलाई त एक पटक ‘नरभक्षीको टापु’ भनेर नै चिनिन्थ्यो । फिजीदेखि अम्याज्न बेसिन हुँदै कङ्गो अनि न्युजिल्यान्डको माउरी जातिको बिचमा नरभक्षणलाई व्यापक रूपाम अभ्यास गरिन्थ्यो । प्राचीन मिश्रसाथै रोममा पनि यसको अभ्यास गरिएको थियो भन्ने साक्षी पाइन्छ । संस्कृतिको नाउँमा पपुवा न्युगिनीमा ख्रिस्टाब्द २०१२ सम्म पनि यसको अभ्यास गरिएको थियो ।
मान्छेले मान्छेको मासु खाने सदिऔँ पुरानो अमानवीय चलनमा कसरी पूर्ण विराम लाग्यो त ? यसको श्रेय जान्छ येशूको सुसमाचारलाई । ख्रीष्टियान शिक्षाको प्रभावमा यो अभ्यास रोकिएको थियो । ख्रिस्टियमतको आगमनअगि नरभक्षणको अभ्यास व्याप्त थियो । तर सुसमाचारको प्रवेशसँगै मानिसहरूले मानवीय जीवनलाई नयाँ दृष्टिकोणले हेर्न सके । फलस्वरूप नरभक्षणको अन्त्य भयो । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/112/)
(३) दासप्रथा
दासप्रथा भनेको मान्छेलाई किनबेच गरी काममा लगाउने पुरानो सामन्ती प्रथा हो । दासप्रथा नेपाललगायत विश्वका विभिन्न भूभागमा अभ्यास गरिएको एउटा अमानवीय प्रथा थियो जुन कतिपय ठाउँहरूमा विभिन्न स्वरूपमा अझै पनि कायमै छ ।
प्राचीन संसारमा दासप्रथा यति व्यापक थियो कि ख्रीष्टको आगमनसम्ममा एथेन्समा मात्र ७५% र पूरै रोमी साम्राज्यमा आधाभन्दा बढी दासहरू थिए भनी अनुमान गरिएको छ । अमेरिका पत्ता लगाउने कोलम्बसले त्यहाँ पाइला टेक्नुअगि त्यहाँका धेरै आदिवासीहरूले पनि दासप्रथालाई व्यापक रूपमा अभ्यास गर्थे ।
छिमेकी मुलुक भारतमा १८४३ मा दासप्रथालाई कानुनी रूपमा निर्मूलन गरिएको थियो भने नेपालमा १९२५ मा ।
सतावटकर्ताबाट सुसमाचारका राजकुमार बनेका प्रेरित पावलले फिलेमोनलाई बिन्ती गरेका छन् कि तिनका कमारा ओनेसिमसलाई तिनले कमाराको रूपमा नभई प्रिय भाइजस्तै व्यवहार गर्नुपर्छ (फिलेमोन १६) । पावलले अर्को पत्रमा पनि भनेका छन्, “अब … न कमारा छ न फुक्का, … किनभने ख्रीष्ट येशूमा तिमीहरू सबै एउटै हौ” (गलाती ३:२८) । फिलेमोनलाई लिखित पत्र र गलातीको यस खण्डले तत्कालीन समय र अनुगामी पुस्तामा दासप्रथाको उन्मूलनको लागि दृढ जग बसाल्ने काम गरेका थिए । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/105/)
(४) शिशु-हत्या
जानाजानी शिशुको ज्यान लिने कार्यलाई शिशु-हत्या भनिन्छ । ग्रिक-रोमी संस्कृतिमा मात्र नभएर संसारका अन्य मनग्गे संस्कृतिहरूमा पनि शिशु-हत्या सामान्य कुरो थियो भनी ऐतिहासिक खोजले प्रकट गरेको छ । हरेक महादेशमा यसको अभ्यास गरिन्थ्यो । हाम्रा दुवै छिमेकी मुलुक भारत र चीन अनि जापान र ब्राजिलका जङ्गलसाथै एस्किमोस जातिहरूका बिचमा शिशु-हत्या सामान्य अभ्यास थियो । असभ्य जातिहरूका बिचमा मात्र नभएर सभ्य भन्नेहरूका बिचमा पनि शिशु-हत्या विद्यमान थियो
प्राचीन ख्रीष्टियानहरूका लागि शिशु-हत्या अमान्य थियो । शिशुहरू परमेश्वरका सृष्टि थिए । यसका अतिरिक्ति बालकहरूप्रति ख्रीष्टको उच्च दृष्टिकोणबारे तिनीहरू सचेत थिए, “बालकहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक । किनभने स्वर्गको राज्य यस्तैहरूको हो” (मत्ती १९:१४) ।
आदि ख्रीष्टियान साहित्यले शिशु-हत्याको बारम्बार निन्दा गरेको छ । पहिलो शताब्दीमा लिखित प्रेरितहरूको शिक्षा अर्थात् डिडाकेले ख्रीष्टियानहरूलाई शिशु-हत्या नगर्न आज्ञा दिएको छ । ख्रिस्टाब्द ३१८ मा ख्रीष्टियान सम्राट् कन्स्टेन्टाइन महान्ले शिशु-हत्यालाई अपराध ठाने र ३७४ मा अर्का सम्राट् भ्यालेन्टाइन प्रथमले सबै बालबालिकालाई हुर्काउनुपर्छ भनी उर्दी जारी गरे । कन्स्टेनटिनोपलको परिषद्ले शिशु-हत्यालाई मानव हत्या भनी घोषणा गरेको थियो ।
किन ख्रीष्टियाहरू शिशु-हत्याको विरुद्धमा खडा रहे ? किनकि तिनीहरूले “हत्या नगर्नू” भन्ने परमेश्वरको आज्ञा (प्रस्थान २०:१३) लाई आदर गर्न चाहेका थिए । शिशु-हत्याको रोक ख्रीष्टियान शिक्षाको अर्को एउटा नतिजा हो । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/127/)
(५) सतीत्व प्रथा
उन्नाइसौँ शताब्दीमा भारतका अधिकांश ठाउँमा आफ्नो शासनलाई फैलाउने नियत लिएको ब्रिटिस इस्ट इन्डिया कम्पनीले सुरु-सुरुमा सतीत्व प्रथालाई सहेको थियो । तर ख्रीष्टियान मिसनरीहरू यो सवालमा ब्रिटिस सरकारको विरुद्धमा उत्रे । तिनीहरूले यस प्रथाबारे तथ्याङ्क सङ्कलन गरे; यसको विरुद्धमा प्रचार गरे; पर्चासाथै पुस्तकहरू लेखे । यसरी तिनीहरूले यस क्रूर प्रथाको विरुद्धमा जनमत बटुलेका थिए । केरी कलकत्तामा यस प्रथा उन्मूलन अभियानको लागि अगुवाइ गर्ने प्रथम व्यक्ति बने । तिनको अभियानको नतिजास्वरूप ब्रिटिस सरकारले कलकत्तामा यस पाशविक प्रथालाई निषेध गर्यो यद्यपि वरिपरिका ठाउँहरूमा भने यसले निरन्तरता पाइरहेको थियो । अथक प्रयत्नपश्चात् अन्ततः ख्रिस्टाब्द १८२९ मा भारतमा सतीत्व प्रथालाई कानुनी रूपमा निर्मूलन गरियो । भारतमा सतीत्व प्रथालाई उन्मूलन गर्नको लागि ख्रीष्टियान मिसनरीहरूले उल्लेखनीय भूमिका खेले ।
विवाहित पति मरेपछि पत्नीलाई पतिको लाससँगै जिउँदै जलाउने प्रथालाई सतीत्व प्रथा भनिन्छ । यो मूलतः हिन्दुहरूका बिचमा अभ्यास गरिएको प्रथा थियो ।
जर्मनीका प्राध्यापक एक्सेल मिखाएल्सका अनुसार नेपालमा ख्रिस्टाब्द ४६४ मा सतीत्व प्रथाको अभ्यास गरिएको थियो भन्ने प्रथम शिलालेखसम्बन्धी साक्षी पाइन्छ । यो प्रथाले नेपाली इतिहासमा कालो धब्बा लगाएको छ । जङ्ग बहादुर राणा बेलायतबाट फर्केपछि तिनले यस प्रथालाई रोक्ने कानुन बनाए । धर्मको नाउँमा अभ्यास गरिएको यस्तो क्रूर पाशविक प्रथालाई नेपालमा ख्रिस्टाब्द १९२० मा चन्द्र शमशेरले कानुनी रूपमा रोक लगाएका थिए । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/123/)
(६) शिशु-त्याग
शिशु-त्याग ग्रिक-रोमी संसारको प्रचलित कुरीति थियो । ख्रीष्टियानहरू रोम र यसका वरिपरिका इलाकाहरूमा आइपुग्दा तिनीहरूले यही कुरीतिसित जम्काभेट गर्नुपरेको थियो जसले मानवीय जीवनको मूल्य कति सस्तो रहेछ भनी देखाउँथ्यो । ग्रिक-रोमी संसारमा अवाञ्छित शिशुहरूलाई सिधै मारिँदैनथ्यो भने पनि तिनीहरूलाई अक्सर त्यागिन्थ्यो ।
ख्रीष्टियानहरूले शिशु-त्यागको विरोध मात्र गर्दैनथ्ये, तर अक्सर त्यसरी त्यागिएका बच्चाहरूलाई घरमा लगी धर्मपुत्रको रूपमा पाल्थे । शताब्दीऔँसम्म ख्रीष्टियानहरूले उग्र सतावटको सामना गर्नुपरे तापनि मानवीय जीवनको मूल्यको बढवा गर्न तिनीहरू थाकेनन् । ख्रिस्टाब्द ३७४ मा सम्राट् भ्यालेन्टिनियनले शिशु-हत्यालाई अवैध ठहराउँदा तिनले शिशु-त्यागलाई पनि दण्डको सजाय तोके । पाँचौँ शताब्दीका सम्राट्हरू होनोरिअस र थियोडोसिअस द्वितीयले नियम बनाएका थिए कि फेला पारिएको बच्चाको सम्बन्धमा मण्डलीमा सूचना जारी गरिनुपर्छ र कसैले बच्चाको दाबी नगरेको खण्डमा फेला पार्ने व्यक्तिले बच्चा राख्न सक्थ्यो ।
ख्रीष्टियान दृष्टिकोणको नतिजास्वरूप युरोपभरि शिशु-त्याग अभ्यासको विरुद्धमा कानुन बनेको थियो । यस्तो कानुनले समाजमा मानवीय जीवनको मूल्यलाई बढाएको थियो । त्यागिएका र अनाथहरूका निम्ति अनाथालय खोली ख्रीष्टियानहरूले हुर्काएका उदाहरणहरू इतिहासमा मात्र नभएर वर्तमानमा पनि छरपष्ट छन् । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/137/)
(७) नरबलि
धार्मिक रीतिको नाउँमा मानिसलाई काटेर दिइने बलिलाई नरबलि अर्थात् मानव बलि भनिन्छ । इतिहासभरि विभिन्न संस्कृतिहरूमा नरबलिको अभ्यास गरिएको पाइन्छ । देवी-देवता वा मृतकका आत्माहरूलाई खुसी पार्ने उद्देश्यका साथ बलि दिने काम गरिन्थ्यो ।
मिसनरी प्याट्रिकले आयरल्यान्डमा येशूको सुसमाचार पुर्याउनुअगि त्यहाँका बासिन्दाहरू पनि नरबलिमा संलग्न थिए । अन्यजाति प्रुसियन र लिथुसियनहरूले तेर्हौँ र चौधौँ शताब्दीसम्म पनि मानव बलिको अभ्यास गर्थे । ख्रिस्टाब्द १८०२ मा ब्रिटिस लेखक एडवार्ड राएनले विश्लेषण गरे कि यी मानिसहरूमाथि ख्रीष्टियान शिक्षाको प्रभाव नपरेको भए तिनीहरू अझै पनि यही कुरीतिमा लागिरहेका हुन्थे । हाल मेक्सिको भनेर चिनिने मुलुकमा पनि व्यापक रूपमा मानव बलिको अभ्यास गरिन्थ्यो । नेपालमा अझै पनि यसको अभ्यास गरिएको छ भन्दा हाम्रो आङै सिरिङ्ङ हुन्छ । परमेश्वरले मोशामार्फत आफ्ना मानिसहरूलाई चेताउनी दिनुभएको थियो, ” तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको पूजा उनीहरूले गरेझैँ नगर्नू, … उनीहरू आफ्ना छोराछोरीहरूलाई पनि आफ्ना देवताहरूका लागि आगोमा होमिदिन्छन्” (व्यवस्था १२:३१) । आफ्नो बालक मोलोख देवतालाई चढाउने मानिसलाई मृत्युदण्डको सजाय तोकिएको थियो (लेवी २०:२) । “आफ्ना छोराछोरीहरूलाई आगोमा बलि” गरेकाले सातौँ शताब्दी ख्रिस्टपूर्वको उत्तरार्द्धमा यर्मिया अगमवक्ताले कैयौँ इस्राएलीहरूको भर्त्सना गरे” (यर्मिया ७:३१) ।
बाइबलमा कतै पनि परमेश्वरले नरबलिको अनुमोदन गर्नुभएको छैन । यो एउटा घृणित अभ्यास भएकोले परमेश्वरले पटक-पटक यसलाई घृणा गर्नुभयो । विभिन्न अन्यजाति संस्कृतिहरूमा सुसमाचारले प्रवेश पाएसँगै यस्तो कुरीतिमा पूर्णविराम लागेको इतिहास छर्लङ्गै छ । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/115/)
यसरी ख्रीष्टियान शिक्षाले प्रवेश पाएसँगै नेपाललगायत संसारका विभिन्न भूभागमा अभ्यास गरिएका मनग्गे कुरीतिहरूमा पूर्ण विराम लाग्यो जसमध्ये ७ ओटालाई हामीले हेर्यौँ ।
(१) ग्ल्याडिएटरवाद— मान्छेले मान्छेको ज्यान लिने खेल
(२) नरभक्षण— मान्छेले मान्छेको मासु खाने चलन
(३) दासप्रथा— मान्छेलाई किनबेच गरी काममा लगाउने पुरानो सामन्ती प्रथा
(४) शिशु-हत्या— जानाजानी शिशुको ज्यान लिने कार्य
(५) सतीत्व प्रथा— विवाहित पति मरेपछि पत्नीलाई पतिको लाससँगै जिउँदै जलाउने प्रथा
(६) शिशु-त्याग— शिशू मरोस् भनेर त्यसै छाडिदिने कार्य
(७) नरबलि— धार्मिक रीतिको नाउँमा मानिसलाई काटेर दिइने बलि