पवित्र आत्माबारे तपाईंले जान्नुपर्ने ७ ओटा कुरा

१. पवित्र आत्मा त्रिएकताको तेस्रो व्यक्ति हुनुहुन्छ

त्रिएक परमेश्वरमा पिता, पुत्र र पवित्र आत्मा हुनुहुन्छ । पिता र पुत्रजस्तै पवित्र आत्मा पनि परमेश्वर हुनुहुन्छ । पत्रुसले भने, “ए हननिया, पवित्र आत्‍मासँग झूट बोल्‍ने र जमिनको बिक्रीको मोलबाट केही हिस्‍सा आफूसँग राख्‍ने कुरा शैतानले कसरी तिम्रो मनमा भरिदियो ? … तिमीले मानिसहरूलाई त होइन, तर परमेश्‍वरलाई नै ढाँटेका छौ” (प्रेरित ५:३-४) । यहाँ पवित्र आत्मालाई परमेश्वर भनिएको छ । पवित्र आत्मा पिता र पुत्रसित बराबर हुनुहुन्छ ।

२. पवित्र आत्मा व्यक्ति हुनुहुन्छ

बुद्धि, भावना र इच्छा व्यक्तिका तीनवटा गुण हुन् । पवित्र आत्मासित यी तीनवटै गुण छन् । पावल लेख्छन्, “पवित्र आत्‍माले प्रत्‍येक कुरा खोज्‍नुहुन्‍छ, परमेश्‍वरका गहिरा-गहिरा कुराहरू पनि खोजी गर्नुहुन्‍छ” (१ कोरिन्थी २:१०) । खोज वा अनुसन्धानको लागि बुद्धिको खाँचो पर्छ । पावल विश्वासीहरूलाई आज्ञा दिन्छन्, “परमेश्‍वरका पवित्र आत्‍मालाई दु:खित नतुल्‍याओ” (एफिसी ४:३०) । दु:ख भावना हो जसलाई अनुभूति गरिन्छ । पवित्र आत्माले “हरेकलाई उहाँको इच्‍छाअनुसार वरदान दिनुहुन्‍छ” (१ कोरिन्थी १२:११) । कतिले पवित्र आत्मालाई बिजुलीजस्तै शक्तिको रूपमा बुझ्छन् । तर त्यो बेठिक छ किनकि बिजुलीमा व्यक्तिमा हुनुपर्ने गुणहरू हुँदैनन् । अर्को कुरो, व्यक्ति हुनलाई शरीर हुनुपर्छ भन्ने छैन । पवित्र आत्माजस्तै परमेश्वर पनि आत्मा हुनुहुन्छ (यूहन्ना ४:२४) यद्यपि उहाँको कुनै शरीर छैन । शरीर हुँदैमा त्यो व्यक्ति हुन्छ भन्ने पनि छैन । कुकुरको शरीर हुन्छ, तर त्यो व्यक्ति होइन ।

३. पवित्र आत्माका विभिन्न नामहरू छन्

बाइबल धर्मशास्त्रमा पवित्र आत्मा विभिन्न नामहरूबाट उल्लेख गरिनुभएको छ जसले उहाँका विभिन्न पक्षहरूलाई जोड दिन्छन् । उहाँलाई सर्वशक्तिमान्‌को सास (अय्यूब ३३:४), भलो आत्मा (भजन १४३:१०), बुद्धि र समझका आत्मा (यशैया ११:२), सल्लाह र शक्तिका आत्मा (यशैया ११:२), ज्ञान र परमप्रभुको भयको आत्मा (यशैया ११:२), सल्लाहकार (यूहन्ना १४:१६), सत्यका आत्मा (यूहन्ना १४:१७), अनन्त आत्मा (हिब्रू ९:१४), अनुग्रहका आत्मा (हिब्रू १०:२९) आदिजस्ता दर्जनौँ नाउँहरू दिइएका छन् ।

४. पवित्र आत्माका विभिन्न प्रतीकहरू छन्

येशूको बप्तिस्मामा पवित्र आत्मा ढुकुरझैँ आउनुभयो, “पवित्र आत्‍मा शारीरिक रूपमा ढुकुरजस्‍तो उहाँमाथि ओर्लनुभयो” (लूका ३:२२) । पेन्तिकोसको दिनमा उहाँ आगो र बतासको रूपमा आउनुभयो, “अनि स्‍वर्गबाट अचानक ठूलो बतासको झोक्‍काजस्‍तै एउटा आवाज आयो … । आगोका जिब्राहरूजस्‍ता तिनीहरूकहाँ देखा परे, र भाग-भाग भएर तिनीहरू हरेकमाथि बसे” (प्रेरित २:२-३) । परमेश्वरले हामीलाई बैनास्वरूप पवित्र आत्मा दिनुभएको छ (२ कोरिन्थी १:२२) । तेल पवित्र आत्माको अर्को प्रतीक हो (१ यूहन्ना २:२०-२७) । दाखमद्य (मत्ती ९:१६-१७), पानी (यशैया ४४:३), बादल (२ इतिहास ५:१३), छाप (२ कोरिन्थी १:२२) पनि पवित्र आत्माका प्रतीकहरूको रूपमा उल्लेख गरिएका छन् ।

५. पवित्र आत्मा विश्वास गरेको क्षणमा व्यक्तिमा आउनुहुन्छ

येशूलाई मुक्तिदाताको रूपमा स्वीकार गरेको क्षणमा नै पवित्र आत्मा विश्वासीको जीवनमा आउनुहुन्छ । पेन्तिकोसमा दिनमा प्रचार गर्दा पत्रुसले भने, “पश्‍चात्ताप गर, र तिमीहरूका पाप-क्षमाको निम्‍ति येशू ख्रीष्‍टको नाउँमा तिमीहरू प्रत्‍येकले बप्‍तिस्‍मा लेऊ, र तिमीहरूले पवित्र आत्‍माको वरदान पाउनेछौ” (प्रेरित २:३८) । पावलले गलातीहरूलाई प्रश्न गरे, “तिमीहरूले पवित्र आत्‍मालाई व्‍यवस्‍थाका कामहरूद्वारा पायौ, कि सुनेका वचनमा विश्‍वास गरेर” (३:२) ? पवित्र आत्मा नपाइकन कोही पनि विश्वासी हुन सक्दैन । “कुनै मानिसमा ख्रीष्‍टका आत्‍मा हुनुहुन्‍न भनेता त्‍यो उहाँको हुँदैहोइन” (रोमी ८:९) ।

६. पवित्र आत्माले विश्वासीलाई सेवाको निम्ति मजबुत बनाउनुहुन्छ

पुरानो करारमा पवित्र आत्माले यहोशू (गन्ती २७:१८), शाऊल (१ शमूएल ११:१६), दाऊद (१ शमूएल १६:१३) र अन्य मनग्गे व्यक्तिहरूलाई तिनीहरूका काम पूरा गर्न सक्षम तुल्याउनुभयो । नयाँ करारमा उहाँले येशू (लूका ४:१४) र सुरुका चेलाहरूलाई (प्रेरित १:८) सेवाको निम्ति मजबुत पार्नुभयो । आज उहाँले तपाईं र मलाई उहाँको कामको निम्ति सक्षम तुल्याउनुहुन्छ ।

७. पवित्र आत्माले विश्वासीलाई आत्मिक वरदान दिनुहुन्छ

नयाँ करारमा पवित्र आत्माका झन्डै दुई दर्जन वरदानहरू सूचीकृत छन् (१ कोरिन्थी १२; रोमी १२; एफिसी ४ र १ पत्रुस ४) । अगमवाणी, सेवा, शिक्षण, अर्ती, दिने काम, अगुवापन, दया, बुद्धिको कुरा बोल्ने, ज्ञानको कुरा बोल्ने, विश्वास, चङ्गाइ, आश्चर्यकर्म, आत्माहरू छुट्ट्याउने आदि नयाँ करारमा अभिलिखित केही वरदानहरू हुन् । परमेश्वरले हरेक विश्वासीलाई कम्तीमा एउटा आत्मिक वरदान दिनुभएको छ, “उहाँले हरेकलाई उहाँको इच्‍छाअनुसार वरदान दिनुहुन्‍छ” (१ कोरिन्थी १२:१) । पवित्र आत्माको वरदानको प्राथमिक उद्देश्य मण्डली निर्माण गर्नु हो ।

Facebook Comments

Powered by Youth Circle