मैले आज मात्र पढेर सकेको पुस्तकको नाउँ How Christianity Transformed the World हो अर्थात् कसरी ख्रिस्टियमतले संसार रूपान्तरण गर्यो । पुस्तक पठन यात्रामा यो मेरो ११८ औँ पुस्तक हो । १४९ पृष्ठको यस कृतिलाई पढी सिद्ध्याउन मलाई ४ दिन (जुन ६-९) मा ६ घण्टा लाग्यो । पुस्तकका रचनाकार हुन्, सारोन जेम्स । वेल्स विश्वविद्यालयबाट विद्यावारिधि गरेकी उनी लेखिका तथा वक्ता हुन् ।
पुस्तकमा १० ओटा पाठ छन् । मानवीय स्वतन्त्रता, धार्मिक स्वतन्त्रता, न्याय, जीवनको सुरक्षा, स्त्रीहरूको प्रतिष्ठा, मानताप्रेम, स्वास्थ्य, शिक्षासाथै कामको महत्त्वजस्ता विविध विषयहरूबारे ख्रीष्टियान विश्वासको योगदानलाई पुस्तकमा प्रभावशाली ढङ्गमा प्रस्तुत गरिएको छ ।
एक र दुई अध्यायमा स्वतन्त्रताको बारेमा चर्चा गरिएको छ । मानव अधिकारको अवधारणाको उदय सबै मानिस परमेश्वरको स्वरूपमा सृष्टि गरिएका छन् भन्ने बाइबलीय दृष्टिकोण (उत्पत्ति १:२६-२७) मा आधारित छ । दासप्रथा, सतीत्व प्रथा, बाल हत्या, नरबलिजस्ता मनग्गे कुरीतिहरूको निर्मूलनमा मानवबारे बाइबलीय दृष्टिकोणको भूमिका छर्लङ्ग छ । बाइबलले हामीलाई मानवीय स्वतन्त्रता मात्र दिलाएको छैन तर धार्मिक स्वतन्त्रता पनि । धर्मान्तरणको नाउँमा गरिने सतावट सफल हुँदैन किनकि कानुनले अपराधलाई दण्ड दिन सक्छ तर विवेकलाई बद्लन सक्दैन । धर्मान्तरणलाई रोक लगाउने राज्य असभ्य हो किनकि यसले सत्यता र सुधारको लागि मानवीय खोजमा भाँजो हाल्छ । धार्मिक स्वतन्त्रता हरेक व्यक्तिको नैसर्गिक अधिकार हो ।
तीन अध्यायले न्यायको सम्बन्धमा चर्चा गर्छ । जहाँ न्याय कायम गरिएको हुन्छ त्यसको लागि हामीले परमेश्वरलाई धन्यवाद दिनुपर्छ किनकि हामीले पुजेका परमेश्वर न्यायको परमेश्वर हुनुहुन्छ, “तिमीहरूले अन्याय नगर । ठूलो होस् वा सानो होस्, मान्छे हेरेर होइन, तर सबै मान्छेको उचित न्याय गर” (लेवी १९:१५) । जुन-जुन ठाउँमा बाइबल विश्वास गर्ने मानिसहरूको प्रभाव पर्छ, ती ठाउँहरूमा त्यस्ता सरकार बन्छन् जसले मानव अधिकार र कानुनी शासनको आदर गर्छन् भनी इतिहासले देखाएको छ ।
चार अध्यायले जीवनको सुरक्षाबारे सम्बोधन गर्छ । हाम्रा परमेश्वर सृष्टिकर्ता मात्र हुनुहुन्न तर जीवनकर्ता पनि हुनुहुन्छ । मानवीय जीवनको सुरक्षाबारे बाइबलमा घरीघरी व्यक्त गरिएको छ । छैटौँ आज्ञाले भन्छ, “हत्या नगर्नू” (प्रस्थान २०:१३) । यो सबै निर्दोष मानिसको जीवन बचाइनुपर्छ भन्ने आदेश हो । इतिहासभरि ख्रीष्टियानहरूले सबै मानव-जातिको पक्षमा वकालत गर्दै आएका छन् । सबै मानिसलाई गरिने आदर अन्य धर्महरूबाट उदय भएको होइन, यो बाइबलले संसारलाई दिएको अनुपम उपहार हो ।
पाँच अध्यायमा स्त्रीहरूको प्रतिष्ठाबारे उल्लेख गरिएको छ । येशूको जन्म नारी इतिहासमा निर्णायक मोड साबित भयो । तत्कालीन समाजले नारीलाई व्यक्ति नभई सम्पत्तिको रूपमा हेर्ने गर्थ्यो, तर उहाँको शिक्षाले यस दृष्टिकोणमा ठुलो भूकम्प ल्याइदियो । फलत: चाहे स्त्री होस् वा पुरुष, सबै मानिस समान् छन् भन्ने सत्यताको निम्ति विगत दुई हजार वर्षमा येशूका साँचा अनुयायीहरूले निरन्तर साक्षी दिँदै आएका छन् । येशू ख्रीष्टमा “न त पुरुष न स्त्री छ” किनभने हामी सबै एउटै हौँ (गलाती ३:२८) ।
छ र सातमा मानवताप्रेम र स्वास्थ्यबारे उल्लेख गरिएको छ । हाम्रा परमेश्वर दया र करुणाका परमेश्वर हुनुहुन्छ भनी पूरै बाइबलले साक्षी दिन्छ, “परमप्रभु अनुग्रही र टिठालु हुनुहुन्छ, क्रोध गर्नमा ढिलो र अति करुणामय हुनुहुन्छ । परमप्रभु सबैमाथि भलो हुनुहुन्छ । र आफ्नो समस्त सृष्टिमाथि दया राख्नुहुन्छ” (भजन १४५:८-९) । गैरख्रिस्टियान संसारमा दयालाई कमजोरीको रूपमा हेरिन्थ्यो तर बाइबलीय शिक्षाले यसलाई सद्गुणको रूपमा स्थापित गरिदियो । फलत: संसारले असल बन्ने मौका पायो । अस्पतालहरूको उदयमा येशूको शिक्षा गतिशील अभिप्रेरणा थियो । येशूलाई पछ्याउनेहरूले संसारभरि अस्पतालहरूको स्थापना गरी मानवताप्रति प्रेम मात्र दर्शाएका छैनन् तर तिनीहरूका आयु पनि बढाइदिएका छन् । स्वास्थ्य उपचारलाई अहिले राज्यको दायित्व ठानिन्छ र यसको जग बसाल्ने काम ख्रीष्टियानहरूले गरेका थिए । मनग्गे अर्थमा ख्रीष्टियान आस्था र स्वास्थ्य सेवा स्वाभाविक मित्रहरू हुन् ।
पाठ आठले शिक्षाको विषयमा सम्बोधन गर्छ । “परमप्रभुका कामहरू महान् छन्, तिनमा प्रसन्न हुनेहरू सबैले ती कार्यहरूमा मनन गर्छन्” (भजन १११:२) । बाइबलले नै आधुनिक विज्ञान र शिक्षणको सृजना गर्यो किनकि यसले नै वास्तविकता के हो भन्ने बारेमा हामीलाई सृष्टिकर्ताको दर्शन बुझाइदियो । सबैका लागि शिक्षा भन्ने अवधारणाको निम्ति ख्रीष्टियानहरू पूर्णत: प्रतिबद्ध छन् र धेरै देशहरूमा स्कुल, कलेजसाथै विश्वविद्यालयहरू स्थापना गर्नेहरूमा तिनीहरू अग्रपङ्क्तिमा छन् । तिनीहरूले करौडौँलाई शिक्षित पारी राज्यहरूमा रूपान्तरण ल्याउने काम गरेका छन् ।
पाठ नौमा कामको नीतिशास्त्रबारे चर्चा गरिएको छ । दासदासीसाथै तल्लो स्तरमा मानिसहरूले मात्र ज्यालामा काम गर्छन् भनी ग्रिकसाथै रोमीहरूले सिकाउँथे । एउटा पूरै जाति नै अर्को जातिको सेवाको लागि बनेको हो भनी हिन्दुहरूको बिचमा वर्षौंसम्म सिकाइयो । तर बाइबलीय दृष्टिकोणअनुसार हामीले कामलाई आदर गर्नुपर्छ । परमेश्वर आफै पनि काम गर्नुहुने परमेश्वर हुनुहुन्छ (उत्पत्ति २:२-३) । हामी सृजना गर्न सृजित भएका हौँ । आफ्नो सार्वजनिक सेवाकार्यको थालनीअगि येशू सिकर्मीको घरमा हुर्कनुभएको थियो भने पावलले पाल बनाउने काम गर्थे (प्रेरित १८:३) । “कसैले काम गर्दैन भने त्यसले नखाओस्” (२ थेसलोनिकी ३:१०) भनी बाइबले हामीलाई आज्ञा दिन्छ । कामबारे बाइलीय दृष्टिकोणले मानव-जातिलाई उन्नतिमा लैजान्छ ।
अन्तिम अध्यायमा इतिहासबारे दुईवटा दृष्टिकोणको भिन्नता छुट्ट्याइएको छ । संसारमा समयलाई चक्रको रूपमा बुझ्नेहरू पनि छन्, तर ख्रीष्टियानहरू यसलाई रेखाको रूपमा बुझ्छन् अर्थात् यो अगाडि बढिरहेको छ । संसारको इतिहास छुटकाराको इतिहास हो अनि नयाँ स्वर्ग र नयाँ पृथ्वीको सृजनासँगै उहाँले यसलाई टुङ्गोमा ल्याउनुहुने छ ।
समग्रहमा पुस्तक अत्यन्तै पठनीय छ । शिक्षा, स्वास्थ्य, न्याय, जीवनको मूल्यसाथै स्त्रीहरूको प्रतिष्ठाको निम्ति ख्रीष्टियान विश्वासले जति गरेको छ अरू कुनै विश्वासले गरेको छैन । संसारको कुनै पनि धर्म, दर्शनशास्त्र, शिक्षा, जाति वा अभियानले भन्दा येशूको शिक्षाले संसारलाई अझै असल बनाउन बेसी भूमिका खेलेको छ ।
“एक पुस्ताले अर्को पुस्तालाई तपाईंका कार्यको प्रशंसा गर्नेछ, तिनीहरूले तपाईंका शक्तिशाली कार्यहरूको घोषणा गर्नेछन्” (भजन १४५:४) ।