गोली बाइबलमा लाग्यो तर सिपाहीको ज्यान बच्यो

४ वर्षसम्म लम्बिएको (१९१४-१९१८) पहिलो विश्वयुद्धमा २ करोडभन्दा बेसी मानिस मारिएको थियो भनी अनुमान गरिएको छ । तर यही विश्वयुद्धमा एक जना १७ वर्षे सिपाहीलाई बाइबलले अचम्म किसिमले बचाएको थियो ।

ती सिपाहीको नाउँ थियो, लिओनार्द नाइट । विश्वयुद्ध जारी रहँदा जर्मन सिपाहीद्वारा तिनीमाथि गोली प्रहार गरियो । तर तिनले आफ्नो पकेटमा बोकेका बाइबलले तिनको ज्यान बचायो । तिनले आफ्नो युनिफर्मको छातीको गोजीमा पकेट बाइबल राखेका थिए । गोली बाइबलमा गएर लाग्यो र त्यसले ५० पेजलाई छेड्यो तर सिपाहीलाई कुनै चोट लागेन । बाइबलको मोटाइलाई गोलीले छेड्न सकेन ।

खल्तीमा राख्न मिल्ने यो सानो आकारको बाइबल लिओनार्दले आफ्नी काकी मिन्नी याटेसबाट पाएका थिए जुन बाइबलमा लेखिएको थियो, “प्रेमसहित काकी मिन्नीबाट लिओनार्दलाई, जुलाई १९१५ ।” पाँच पुस्ताअगिदेखि यो बाइबल हस्तान्तरण हुँदै आएको थियो ।

ख्रिस्टाब्द १८९८ मा लिओनार्दको जन्म इङ्गल्यान्डको वर्केस्चरसाएरमा भएको थियो । उक्त घटनापश्चात् ती जवान सिपाहीलाई के भयो वा घटना कहाँ भएको थियो भनी यकिनसाथ भन्न सकिँदैन । तर तिनी पूरै युद्धमा बाँच्न सफल रहे र ७० वर्षको उमेरपछि तिनको निधन भयो भनी विश्वास गरिएको छ । उक्त बाइबल अहिले पनि छ र त्यसमा अझै पनि गोली छ । उक्त बाइबल लिओनार्दको नातेदारको घरमा छ जसलाई अहिले पनि देख्न सकिन्छ ।

“एक हजार जना तिम्रो नजिक लोट्‌लान्‌, र तिम्रो दाहिने हाततर्फ दश हजार जना, तर तिम्रो नजिक त्‍यो आउनेछैन” (भजन ९१:७) ।

स्रोतहरू:

  1. https://www.dailymail.co.uk/news/article-4124620/Pocket-Bible-saved-life-WWI-soldier-German-bullet-embedded-just-50-pages-going-way-killing-him.html
  2. https://www.warhistoryonline.com/war-articles/when-a-pocket-bible-saved.html
Facebook Comments

Powered by Youth Circle