सारा विश्व परमेश्वरको वचनद्वारा सृष्टि भयो

यो सम्पूर्ण विश्व कहिले अस्तित्वमा आयो भनी पहिलो पटक तर्कसङ्गत ढङ्गमा सटिक मिति प्रस्तुत गर्ने विख्यात खगोलविद् अलान स्यान्डेजले भनेका छन्, “अलौकिकविना हामी प्रस्ट रूपमा विश्वलाई बुझ्न सक्दैनौँ ।” यो भनाइ Show Me God: What the Message from Space Is Telling Us About God नामक पुस्तकबाट साभार गरिएको हो ।

पुस्तक पठन यात्रामा यो मेरो ११५ औँ पुस्तक हो । ४१० पृष्ठको यस कृतिलाई पढेर सक्न मलाई १५ दिन (मे ६-२०) मा १७ घण्टा ३० मिनेट लाग्यो । यो २०१२ मा प्रकाशित कृति हो ।

पुस्तकका लेखक हुन्, फ्रेड हिरेन । तिनी विज्ञानसम्बन्धी पत्रकार हुन् । द न्युयोर्क टाइम्स, द वासिङ्गटन पोस्टजस्ता परिचित पत्रिकाहरूमा कलम चलाइसकेका तिनले नासाका वैज्ञानिकहरूसाथै नोबेल पुरस्कार विजेताहरूसँग अन्तर्वार्ता पनि लिएका छन् । महाविस्फोटसाथै विश्वको इतिहासजस्ता विषयहरूमा तिनले संसारका विभिन्न देशहरूमा सिकाएका छन् ।

के बिसौँ शताब्दीमा पत्ता लागेका अन्तरिक्षमा छरपष्ट सन्देशले हामीलाई परमेश्वरको बारेमा केही बताउँछ ? लेखक पुस्तकमा सकारात्मक उत्तर दिन्छन् । विश्वको उत्पत्तिको बारेमा अध्ययन गर्ने स्टिफेन हकिङ्ग, जर्ज स्मुट, अलान गुथ, अर्नो पेन्जिसजस्ता महान् विचारकहरूलाई लेखकले अन्तर्वार्ता लिए र तिनीहरूका खोजहरूले कसरी सृष्टि, विश्वको सुव्यवस्थिपना, हाम्रो अस्तित्वसाथै परमेश्वरको स्वभावजस्ता धारणाहरूमा प्रभाव पारेका छन् भनी पुस्तकमा व्यक्त गरिएको छ ।

पुस्तकमा लेखकले ठट्यौली, संवाद, अन्तर्वार्ता, भनाइ, कथासाथै विवरणजस्ता विविध शैलीहरूको प्रयोग गरी आफ्नो धारणालाई बलियो बनाएका छन् ।

पुस्तकमा हाम्रो पृथ्वीभन्दा पर जीवको खोजीमा हालसम्मको प्रयास, महाविस्फोटतर्फ डोर्‍याउने खोजसाथै साक्षीहरू, ख्रीष्टियान विश्वास र महाविस्फोटको सम्बन्ध, विश्वको सुव्यवस्थितपना, विज्ञानको उत्पत्तिसाथै सुसमाचारको तर्क आदिजस्ता विविध विषयहरूलाई सम्बोधन गरिएको छ ।

उन्नासौँ शताब्दीको अन्त्यसम्ममा यो सम्पूर्ण विश्व अनन्त छ भनी मानिएको थियो । तर सम्पूर्ण विश्व अनन्त नभई निश्चित बिन्दुमा यसको थालनी भएको थियो भनी बिसौँ शताब्दीका वैज्ञानिक खोजहरूले पुष्टि गरिदिएका छन् । यसको आरम्भ भएकोले यसको आरम्भकर्ता पनि हुनैपर्छ भनी सामान्य ज्ञान भएको मान्छेलाई पनि थाहा छ । किनकि शून्यताबाट कुनै पनि कुरो आफसे आफ उत्पन्न हुन सक्दैन । तिनै आरम्भकर्तालाई सारा दुनियाँका ख्रीष्टियानसाथै आस्तिक अनि यस कृतिका लेखक परमेश्वर भन्छन् । पुस्तकको नाउँ हो: मलाई परमेश्वर देखाउनुहोस् । तपाईं परमेश्वरलाई देख्न चाहनुहुन्छ भने प्रकृतिलाई अध्ययन गर्नुहोस् किनकि प्रकृतिमा हामी उहाँको औँठा छाप प्रस्टसित देख्छौँ ।

विश्वको अस्तित्व, यसको सुव्यवस्थितपना, जीवको अस्तित्वको लागि सबैभन्दा उपयुक्त व्याख्या हो: परमेश्वर । “सारा विश्‍व परमेश्‍वरको वचनद्वारा सृष्‍टि भयो, र जो दृश्‍य छ त्‍यो अदृश्‍य कुराबाट बन्‍यो” (हिब्रू ११:३) ।

Facebook Comments

Powered by Youth Circle