क्रोध गर्नु पाप हो भने कसरी परमेश्वर क्रोधले भरपूर हुन सक्नुहुन्छ (नहूम १:२) ?

गलाती ५:१९-२१ मा पावलले पाप स्वभावका कामहरूको सूची दिएका छन् जसमध्ये एउटा हो, क्रोध । हामीलाई रिससाथै क्रोध त्याग्न आव्हान गरिएको छ, “तर अब तिमीहरूले पनि यी सबै कुरा त्‍याग: रीस, क्रोध, डाह, निन्‍दा, आफ्‍नो मुखबाट निस्‍कने फोहोर बोली” (कलस्सी ३:८) । रिस मूर्खहरूको अंश हो, “मनमा झट्टै नरिसाऊ, किनभने रीस त मूर्खहरूको काखैमा बसेको हुन्‍छ” (उपदेशक ७:९) । तर परमेश्वर क्रोधले भरपूर हुनुहुन्छ भनी बताइएको छ, “परमप्रभु डाही र बदला लिने परमेश्‍वर हुनुहुन्‍छ । परमप्रभुले बदला लिनुहुन्‍छ र क्रोधले भरपूर हुनुहुन्‍छ । परमप्रभुले आफ्‍ना दुश्‍मनहरूलाई बदला लिनुहुन्‍छ, र शत्रुहरूका लागि क्रोध साँचिराख्‍नुहुन्‍छ” (नहूम १:२) । परमप्रभुको रिस डरलाग्दो हुन्छ, “यसैकारण भाङ्‌ग्रा लगाओ, विलाप गर र रोओ, किनभने परमप्रभुको डरलाग्‍दो रीस हामीबाट हटेको छैन” (यर्मिया ४:८) । क्रोध गर्नु पाप हो भने कसरी परमेश्वर क्रोधले भरपूर हुन सक्नुहुन्छ ?

बाइबलमा दुई किसिमको क्रोधको उल्लेख गरिएको छ: धार्मिक क्रोध र अधार्मिक क्रोध ।

बाल दुर्व्यवहार, रङ्गभेद, जातिवाद, व्यभिचारजस्ता सवालहरूको सामना गर्दा हामीले जुन क्रोध व्यक्त गर्छौं त्यसलाई धार्मिक क्रोध भन्न सकिन्छ । क्रोध समस्याहरूको समाधान गर्न परमेश्वरले हामीलाई दिनुभएको शक्ति हो । अन्यायको विरुद्दमा उत्पन्न हुने क्रोध उपयुक्त छ । नैतिकताको लागि येशू हाम्रो सिद्ध नमुना हुनुहुन्छ । उहाँले मन्दिर शुद्ध गर्नुहुँदा धार्मिक क्रोध प्रदर्शन गर्नुभयो, “येशू परमेश्‍वरको मन्‍दिरमा प्रवेश गर्नुभयो । अनि उहाँले मन्‍दिरमा किनबेच गर्ने सबैलाई धपाउनुभयो, र पैसा साट्‌नेहरूका टेबिल, र परेवा बेच्‍नेहरूका आसन पल्‍टाइदिनुभयो । उहाँले तिनीहरूलाई भन्‍नुभयो, ‘यो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर कहलाइनेछ ।’ तर तिमीहरूले यसलाई डाँकूहरूको अड्डा बनाएका छौ'” (मत्ती २१:१२-१३) । धार्मिक अगुवाहरूको पाखण्डवाददेखि उहाँ रिसाउनुभयो (मत्ती २३:१५-३६) । पावल हामीलाई अर्ती दिन्छन्, “क्रोध गर, तर पाप नगर । घाम अस्‍ताउन अघि नै तिमीहरूको रीस मरोस्‌” (एफिसी ४:२६) ।

अर्को किसिमको क्रोधलाई अधार्मिक क्रोध भन्न सकिन्छ । यो घमण्डद्वारा अभिप्रेरित हुन्छ जुन क्रोधले “परमेश्‍वरको धार्मिकता ल्‍याउँदैन” (याकूब १:२०) । यस किसिमको क्रोधलाई जारी राखिएमा हामी पापमा फस्न सक्छौँ (एफिसी ४:२६) । यस्तो किसिमको क्रोध अनुत्पादक हुन्छ र यसले परमेश्वरको उद्देश्यलाई भताभुङ्ग पार्छ (१ कोरिन्थी १०:३१) ।

यसरी बाइबलमा धार्मिक र अधार्मिक गरी दुई किसमको क्रोधको चर्चा गरिएको छ । क्रोधको स्वभाव र उद्देश्यलाई हेरी त्यो कुन किसिमको हो भनी छुट्ट्याउन सकिन्छ । हामी पापदेखि क्रोधित हुनुपर्छ तर क्रोधित हुँदा पाप गर्नुचाहिँ हुँदैन ।

Facebook Comments

Powered by Youth Circle