मानिस जन्मेपछि मर्छ तर येशूको मृत्युको विषयमा अध्ययन गर्दा अन्य कुनै पनि मानिसको मृत्युभन्दा उहाँको मृत्यु फरक भएको देखिन्छ । निम्न लिखित चारवटा तथ्यले उहाँको मृत्युलाई सबै मानिसको मृत्युभन्दा फरक तुल्याउँछ भन्ने मेरो बुझाइ रहेको छ ।
१. येशूको मृत्युबारे सैयौँ वर्ष पहिले भविष्यवाणी गरियो
कसैले पनि कुनै पनि व्यक्तिको मृत्युको बारेमा सैयौँ वर्षअगि सबिस्तार ढङ्गमा भविष्यवाणी गर्न सक्दैन । तर येशूको जन्मभन्दा सैयौँ वर्षअगि उहाँको मृत्युको बारेमा भविष्यवाणी गरियो । मसीहको दुःखको विषयमा भविष्यवाणी गर्दै येशूको आगमनभन्दा सात सय वर्षअगि यशैया अगमवक्ताले भनेका थिए, “ऊ अपराधीहरूको गन्तीमा गनियो” (यशैया ५३:१२) । येशू दुई जना डाँकुका बिचमा क्रूसमा टाँगिनुहुँदा यो भविष्यवाणी पूरा भयो (मत्ती २७:३८) ।
२. येशू आफैले आफ्नो मृत्युबारे भविष्यवाणी गर्नुभयो
मृत्यु प्रकृतिको नियम भएकोले ‘म मर्ने छु’ भनी व्यक्त गर्न कोही पनि भविष्यवक्ता बन्नुपर्दैन । मृत्यु अवश्यम्भावी हो अर्थात् यो भएरै छाड्छ । तर कसैले पनि आफ्नो मृत्युको बारेमा सबिस्तार ढङ्गमा भविष्यवाणी गर्न सक्दैन । येशूले भन्नुभयो, “उहाँ कसरी यरूशलेममा जानुपर्छ, र धर्म-गुरु र मुख्य पूजाहारीहरू र शास्त्रीहरूबाट धेरै कष्ट भोग्नुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा जीवित भइउठ्नुपर्छ भनी उहाँले त्यस बेलादेखि आफ्ना चेलाहरूलाई बताउन थाल्नुभयो” (मत्ती १६:२१) । उहाँले भविष्यवाणी गर्नुभएझैँ उहाँ मर्नुभयो अनि तेस्रो दिनमा पुनरुत्थान हुनुभयो ।
३. येशूको मृत्युमा असाधारण घटनाहरू घटे
कुनै पनि मान्छेले आफ्नो प्राण त्याग गर्दा असाधारण घटनाहरू घटेका हामीलाई अवगत छैन । तर येशूको मृत्यु हुँदा विचित्रका घटनाहरू घटे । उहाँको मृत्युको घडीमा अन्धकार छायो; भूकम्प गयो; मन्दिरको पर्दा च्यातियो; चिहानहरू उघारिए । मत्ती लेख्छन्, “त्यसै घड़ी मन्दिरको पर्दा टुप्पादेखि फेदसम्म दुई भाग भएर च्यातियो, र जमिन काँप्न लाग्यो, र चट्टानहरू फुटे । चिहानहरू उघारिए, र सुतिगएका धेरै सन्तहरूका मृत शरीर जीवित भई उठे, र तिनीहरू चिहानहरूबाट निस्के” (मत्ती २७:५१-५३) । अनि “बाह् बजेदेखि तीन बजेसम्म सारा देशलाई अन्धकारले छोप्यो” (मर्कूस १५:३३) ।
४. येशूले स्वेच्छाले आफ्नो प्राण त्याग गर्नुभयो
आफ्नो मृत्यु स्वैच्छिक हुनेथियो भनी येशूले व्यक्त गर्नुभयो, “कसैले मबाट मेरो प्राण लिन सक्दैन, तर म आफ्नै इच्छाले आफ्नो प्राण अर्पण गर्दछु । आफ्नो प्राण अर्पण गर्ने अधिकार मसित छ, अनि फेरि लिने अधिकार पनि मसित छ” (यूहन्ना १०:१८) । आफ्नो प्रस्थानको घडीमा पनि उहाँ मृत्युबाट पराजित हुनुभएन । ठुलो सोरले कराएर येशूले भन्नुभयो, “हे पिता, म मेरो आत्मा तपाईंको हातमा सुम्पन्छु” (लूका २३:४६) । यति भनिसकेपछि उहाँले आफ्नो प्राण त्याग गर्नुभयो । ६ घण्टासम्म क्रूसमा दर्दनाक दुःख भोग्नुभएपछि दिउँसो ३ बजेतिर उहाँले स्वेच्छाले आफ्नो प्राण त्याग गर्नुभयो । हामी मृत्युको वशमा छौँ र एक दिन यसले हामीलाई लैजान्छ । तर येशू मृत्युको वशमा हुनुहुन्थेन, मृत्यु उहाँको वशमा थियो । मृत्युले उहाँलाई लगेको थिएन तर उहाँले आफूलाई मृत्युकहाँ सुम्पनुभएको थियो ।
यसरी हामी देख्छौँ येशूको मृत्यु सबै मानिसको मृत्युभन्दा फरक छ । उहाँको पापरहित र पवित्र चरित्रको प्रदर्शन गर्दै उहाँले जीवन त्याग गर्नुभएकोले पनि हामी उहाँको मृत्युलाई फरक देख्छौँ । “परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ, कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो” (रोमी ५:८) ।