अमेरिकी राष्ट्रपतिका कानुनी सल्लाहकार कोलसनले येशूमा नयाँ जन्म पाए

यात्रा गर्दा पनि विद्युतीय किताबहरू बोक्नु मेरो आदत हो । यात्राको क्रममा मैले Born Again नामक पुस्तक पढ्दै थिएँ । लाखौँ मानिसको जीवनमा आशा ल्याउन  सफल यो पुस्तक येशू ख्रीष्टको प्रेम र शक्तिद्वारा रूपान्तरित मानिसको कथा हो । यो चार्ल्स कोलसनको रूपान्तरणबारे लिखित आत्मकथा हो । तिनले शक्ति, ख्याति, स्वतन्त्रता र आफ्नो पहिचानसमेत गुमाएका थिए तर येशूलाई पाएपछि तीभन्दा पनि बेसी हात पारे । येशू ख्रीष्टद्वारा तिनको जीवनमा १८० डिग्रीको परिवर्तन आयो । येशूले इतिहासमा मात्र मानिसहरूको जीवनमा रूपान्तरण ल्याउनुभएको छैन तर आज रूपान्तरणको कथा जारी छ ।

Born Again (अर्थात् नयाँ जन्म) पहिलो पटक ख्रिस्टाब्द १९७६ मा छापिएको थियो । मैले भने २००८ मा प्रकाशित कृति पढेँ । ३८६ पृष्ठको लामो यो आत्मकथा पढेर सिद्ध्याउन मलाई १५ दिन (मार्च ३-१७) मा साढे उन्नाइस घण्टा लाग्यो । पुस्तक पठन यात्रामा यो मेरो १०९ औँ पुस्तक हो ।

ख्रिस्टाब्द १९६९-१९७३ सम्म चार्ल्स कोलसनले अमेरिकाका सैँतिसौँ राष्ट्रपति रिचार्ड निक्सोनका कानुनी सल्लाहकार भएर काम गरेका थिए । तिनी प्रतिभावान् व्यक्ति थिए भन्ने तथ्यलाई इन्कार गर्न सकिँदैनथ्यो तर त्यो प्रायशः राष्ट्रपति निक्सोनको अन्धकारपूर्ण पक्षलाई उत्साह दिन लागु हुन्थ्यो । निक्सोनको प्रशासन कालमा कोलसन निकै सांसारिक र डरछेरुवा थिए । कोलसन वाटरगेट प्रकरणका एक जिम्मेवार व्यक्ति थिए जुन प्रकरणले गर्दा तिनले बदनामी मात्र कमाएनन्, तर सात-महिने जेल जीवन पनि गुजार्नुपर्‍यो ।

वाटरगेट प्रकरण एउटा मुख्य राजनीतिक काण्ड थियो जुन अमेरिकामा ख्रिस्टाब्द १९७० को दसकमा घटेको थियो । ‘वाटरगेट’ शब्दले वासिङ्गटन डी. सी. स्थित वाटरगेट होटललाई जनाउँछ जुन होटेल ख्रिस्टाब्द १९७२ मा डेमोक्रेटिक पार्टीको मुख्यालय थियो । मुख्यालयमा चोरी गर्ने क्रममा धेरै मानिस समातिए र त्यसलाई तत्कालीन अमेरिकी राष्ट्रपति निक्सोनले लुकाउने कोसिस गरे । उक्त कुरो सार्वजनिक भएपछि तिनले राजीनामा दिए र सर्वोच्च अदालतको फैसलामुताबिक कति जना जेलमा कोचिए जसमध्ये एक थिए, कोलसन ।

तर एउटा ख्रीष्टियान किताबले कोलसनको जीवनमा आमूल परिवर्तन ल्याइदियो । त्यो पुस्तकको नाउँ हो, मेएर क्रिस्चियानिटी । बिसौँ शताब्दीका विख्यात रक्षाशास्त्री सी. एस. लेविसद्वारा लिखित यस पुस्तकलाई तिनले आफ्ना नजिकैको मित्रबाट हात पारेका थिए । बौद्धिक अहम्‌बारे लेखकको प्रस्तुतीकरणले कोलसनलाई प्रहार गर्‍यो र ख्रिस्टाब्द १९७३ को अगस्ट महिनामा तिनले नयाँ जन्म पाए ।

शुक्रबार बिहानको समय थियो । एकलै छँदा तिनले समुद्रमा एकटक लगाएर हेरिरहँदा तिनको मुखबाट यी शब्दहरू निस्के, “हे प्रभु येशू, म तपाईंलाई विश्वास गर्दछु । म तपाईंलाई स्वीकार गर्दछु । कृपा गरी मेरो जीवनमा आउनुहोस् । म यो तपाईंलाई सुम्पन्छु ।”

त्यसपछि कोलसन नयाँ मान्छे बने । तिनका मूल्य-मान्यताहरू परिवर्तन भए । अब तिनले आफ्नो अद्भुत खुबीलाई खराबीको निम्ति नभई भलाइको निम्ति प्रयोग गर्न थाले ।

१६ अक्टोबर १९३१ मा अमेरिकामा जन्मेका कोलसनले १९७६ मा प्रिज्न फेलोसिप (झ्यालखानाका बन्दीहरूलाई सुसमाचार सुनाउने संस्था) को स्थापना गरे । हाल विश्वव्यापी बनेको यो संस्था तिनको आफ्नै जेल जीवनको अनुभवबाट उदय भएको थियो । तिनको यस सेवाकार्यबाट लाखौँ मानिसले सुसमाचार सुन्ने मौका पाएका छन् । तिनले तिसवटाभन्दा बेसी कृति छाडेर गएका छन् । तिनका कृतिहरू ५० लाखभन्दा बेसी सङ्ख्यामा बिक्री भएका छन् । विविध कलेजसाथै विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि प्राप्त गरेका तिनले १९९३ मा १० करोड रुपियाँभन्दा बेसी धनराशी भएको टेम्प्लेटोन पुरस्कार हात पारे । यो रुपियाँ तिनले प्रिज्न फेलोसिपलाई चन्दा दिए । ब्रेक पोइन्ट नामक तिनको दैनिक रेडियो कार्यक्रमबाट पनि धेरैले प्रेरणा पाएका छन् ।

Facebook Comments

Powered by Youth Circle