यहूदा इस्करियोत कसरी मर्यो— आत्महत्याबाट वा भुँडी फुटेर ?

मत्तीको विवरणअनुसार यहूदा इस्करियोतले आत्महत्या गर्‍यो (मत्ती २७:१-५) भने प्रेरितको पुस्तकअनुसार त्यसको भुँडी फुट्यो (प्रेरित १:१८) । यी दुईवटा खण्डलाई तुलनात्मक रूपमा अध्ययन गर्दा के यी बेमेल देखिँदैनन् र ? वास्तवमा यहूदा इस्करियोतको मृत्यु कसरी भयो ?

यहूदा इस्करियोतको मृत्युको सम्बन्धमा मत्तीले लेखेका छन्, “तब चाँदीका ती सिक्काहरू मन्दिरमा फ्याँकेर त्यो गयो, र त्यसले झुण्डेर आत्महत्या गर्‍यो” (मत्ती २७:५) । त्यसको मृत्यु वरिपरिको क्षणको विषयमा प्रेरितको पुस्तकका लेखक डा. लूकाले प्रेरित पत्रुसको भनाइलाई अभिलिखित गरेका छन्, “त्यस मानिसले अधर्मको कमाइबाट एउटा जग्गा किन्यो, र उँधोमुन्टो भई खस्यो र त्यसको भुँडी फुट्यो, र त्यसका सबै आन्द्रा-भुँडी निस्के” (प्रेरित १:१८) । बाइबल त्रुटिविहीन छ भन्ने ख्रीष्टियान शिक्षालाई यो प्रस्ट विरोधाभासले गलत साबित गर्छ भनी केही बाइबल आलोचकहरू निर्धक्कसँग बोल्न हिच्किचाउँदैनन् ।

येशू ख्रीष्टको जीवनी अध्ययन गर्ने व्यक्तिको लागि यहूदा इस्करियोत अपरिचित नाउँ होइन । सुसमाचारहरूमुताबिक त्यसले येशू अर्थात् आफ्ना गुरुलाई तिसवटा चाँदीको सिक्कामा बेचिदियो । त्यसो गरेकोमा पछि त्यसलाई अत्यधिक पछुतो भयो र त्यसले आत्महत्यालाई नै अन्तिम उपचारको रूपमा देख्यो ।

यहाँ मत्ती र लूकाको विवरणलाई हामीले होसियारीपूर्वक पढ्नु आवश्यक छ । यहूदा खसेन भनेर मत्तीले भनेका छैनन् न त यहूदाले आफूलाई झुण्ड्याएन भनी लूकाले व्यक्त गरेका छन् । यहाँ एक जनाले एउटै वस्तुलाई कालो र अर्कोले सेतो भनेको अवस्था छैन । दुवै खण्डलाई ध्यान दिएर पढ्दा वास्तवमा ती खण्डहरू एक अर्काको अन्तर्विरोधी नभई परिपूरक छन् ।

यहूदाले आफैलाई हिन्नोमको बेँसीमाथि भएको पहिरोको छेउमा झुण्ड्यायो भनी परम्परागत रूपमा विश्वास गरिएको छ । बेँसीको फेँददेखि त्यो चट्टानको भिर झन्डै चालिस फिटसम्म अग्लो छ, त्यो पनि ठाडै । यहूदाले आफूलाई आत्महत्याको लागि जुन रुखमा बाँधेको थियो त्यो सुकेको हाँगा परेकोले हावाको झोक्काको कारणले त्यो हाँगा भाँचियो वा डोरी चुँडेकोले त्यो भुइँमा पछारियो र परिणाम स्वरूप त्यसका आन्द्रा-भुँडी निस्के भन्ने व्याख्या त्यो भूगोलको संरचनासित पूर्णतः स्वाभाविक छ । सारांशमा भन्नुपर्दा, मत्तीले यहूदाको मृत्युको प्रयासको निम्ति त्यसले अपनाएको विधिलाई अभिलिखित गर्छन् भने लूकाले त्यसको आखिरी नतिजालाई ।

Facebook Comments

Powered by Youth Circle