किन येशूले ३० वर्षको उमेरमा सेवाकार्य सुरु गर्नुभयो (लूका ३:२३) ?

येशू यहूदी परिवारमा जन्मनुभयो र यहूदी हुनुभएकोले आठौँ दिनमा उहाँको खतना गरियो । व्यवस्थाबमोजिम चालिसौँ दिनमा उहाँलाई मन्दिरमा अर्पण गरियो । १२ वर्ष पुग्नुभएपछि उहाँ यरूशलेममा जानुभयो, “जब येशू बाह्र वर्षका हुनुभयो, तब उहाँहरू चाड़को रीतिअनुसार यरूशलेममा जानुभयो” (लूका २:४२) । यूहन्नाबाट बप्तिस्मा लिनुभएसँगै उहाँको सेवाकार्य सुरु भयो, “तब येशू गालीलबाट यूहन्‍नाकहाँ तिनीद्वारा बप्‍तिस्‍मा लिन यर्दनमा आउनुभयो” (मत्ती ३:१३) । लूका लेख्छन्, “येशूले आफ्‍नो सेवाकार्य आरम्‍भ गर्नुहुँदा उहाँ करीब तीस वर्षका हुनुहुन्‍थ्‍यो” (लूका ३:२३) । किन येशूले ३० वर्षको उमेरमा सेवाकार्य सुरु गर्नुभयो ? किन त्योभन्दा पछि वा अगि सुरु गर्नुभएन ? आफ्नो सेवाकार्यको लागि किन येशूले ३० वर्षसम्म कुर्नुभयो ? बाइबलमा ३० को के महत्त्व छ ?

बाइबलमा ३० वर्षको उमेरलाई शारीरिकसाथै मानसिक दृष्टिकोणबाट परिपक्वताको उमेर मानिन्छ । यो अगुवाइ गर्न सक्ने उमेर हो । अब तपाईं कुनै बालक वा ठिटो हुनुहुन्न तर परिपक्व मानिस बन्नुभएको छ ।

३० वर्षको उमेरमा सेवाकार्यको थालनी हुन्थ्यो । पुरानो करारमा परिचित पात्रहरूले ३० वर्षकै उमेरमा आफ्नो सेवाकार्य सुरु गरे । मिश्रमा दोस्रो ओहोदामा रहेर जिम्मेवारी सँभाल्दा योसेफ ३० वर्षका थिए, “मिश्रका राजा फारोको राजसेवामा नियुक्त हुँदा योसेफ तीस वर्ष पुगेका थिए” (उत्पत्ति ४१:४६) । ३० वर्षकै उमेरमा पुजारीहरू औपचारिक रूपमा मन्दिरको सेवामा प्रवेश गर्थे, “ती भेट हुने पालमा सेवा गर्न आउने तीसदेखि पचास वर्षसम्‍मको उमेरका सबैलाई गन्‍ती गर्‌” (गन्ती ४:३) । राजा बन्दा दाऊद ३० वर्षका थिए, “दाऊद तीस वर्षको उमेरमा राजा बने, र तिनले चालीस वर्षसम्‍म राज्‍य गरे” (२ शमूएल ५:४) । परमेश्वरले इजकिएललाई ३० वर्षकै उमेरमा अगमवाणीय सेवाकार्यमा डाक्नुभयो, “तीसौँ वर्षको चौथो महिनाको पाँचौँ दिनमा जब म निर्वासितहरूसँग कबार नदीको किनारमा थिएँ, तब स्‍वर्ग खोलियो र मैले परमेश्‍वरका दर्शनहरू देखें” (इजकिएल १:१) ।

बाइबलमा ३० वर्षको उमेरलाई परिपक्वताको उमेरको रूपमा हेरिन्छ भन्ने कुरा यी माथिका उदाहरणहरूबाट प्रस्ट छ । येशूले यही नमुनालाई पछ्याउनुभयो । उमेरको दृष्टिकोणबाट पनि उहाँ परमेश्वरको दृष्टिमा र मानिसको दृष्टिमा परिपक्व अगुवाको रूपमा देखिन चाहनुहुन्थ्यो । तत्कालीन यहूदी दृष्टिकोणमुताबिक यो उमेरमा येशू मानिसहरूलाई सिकाउन र अगुवाइ गर्न पर्याप्त मात्रामा परिपक्व हुनुभएको थियो ।

Facebook Comments

Powered by Youth Circle