येशू “संसारको प्रायश्चित्त बन्नुभयो”— महात्मा गान्धी

“येशू पूर्णतः निर्दोष व्यक्तित्व हुनुहुन्थ्यो जसले आफ्ना शत्रुहरूसाथै अरूहरूका निम्ति आफैलाई बलिदान गर्नुभयो र उहाँ संसारको प्रायश्चित्त बन्नुभयो । यो एउटा सिद्ध कार्य थियो ।” येशू ख्रीष्टको शिक्षाबाट प्रभावित महात्मा गान्धीद्वारा येशूको बारेमा व्यक्त भनाइ हो यो ।[i]

पिता करमचन्द उत्तमचन्द गान्धी र माता पुतलीबाई गान्धीबाट २ अक्टोबर १८६९ मा महात्मा गान्धीको जन्म ब्रिटिस-शासित भारतमा भएको थियो । गान्धीको पूरा नाम हो, मोहनदास करमचन्द गान्धी । ‘महात्मा’ तिनलाई प्रदान गरिएको आदरसूचक शब्द हो जुन ख्रिस्टाब्द १९१४ मा दक्षिण अफ्रिकामा तिनको जीवनमा पहिलो पटक लागु गरिएको थियो र अहिले यसलाई विश्वव्यापी रूपमा प्रयोग गरिन्छ ।[ii]

९ वर्षको उमेरमा स्थानीय स्कुलमा प्रवेश गरेका गान्धी दुई वर्षपछि माध्यमिक स्कुलमा भर्ना भए । १३ वर्षकै कलिलो उमेरमा तिनी आफूभन्दा एक वर्ष जेठी कस्तुरीबाईसित वैवाहिक बन्धनमा बाँधिएका थिए । तिनी १६ वर्ष पुग्दा पिताको मृत्यु भयो ।

१८८८ मा गान्धी कानुन अध्ययनको लागि इङ्गल्यान्ड प्रस्थान गरे जहाँ तिनले ३ वर्ष बिताए । इङ्गल्यान्डबाट भारत फर्केपछि १८९३ मा तिनी वकिलको जागिर खान दक्षिण अफ्रिका प्रस्थान गरे जहाँ तिनले २१ वर्ष बिताए । यही अवधिमा तिनले राजनीतिसाथै नीतिशास्त्रमा आफ्नो अवधारणालाई विकास गरेका थिए ।

गान्धी भारतीय स्वाधीन अभियानका प्रमुख अगुवा थिए । आफ्नो नेतृत्वमा तिनले भारतलाई ब्रिटिस साम्राज्यबाट स्वतन्त्र गराउन पहल गरे । तिनले लागु गरेका हिंसारहित आन्दोलन शक्तिशाली साबित हुन पुग्यो ।

महात्मा गान्धी प्रभु येशू ख्रीष्ट र उहाँको शिक्षा खास गरी डाँडाको उपदेश (मत्ती ५-७) बाट निकै प्रभावित थिए । गान्धीले भने, “मैले बुझेअनुसार येशूको सन्देश डाँडाको उपदेशमा समावेश छ ।”[iii] तिनको बुझाइमा येशू महान् शिक्षक हुनुहुन्थ्यो । आफूले लेखेका पत्रमा तिनले व्यक्त छन्, “येशू मानव-जातिका महान् शिक्षकहरूमध्ये एक हुनुहुन्थ्यो ।”[iv]

भारतमा हुँदा अमेरिकी ईश्वरशास्त्री ई. स्टान्ली जोन्स गान्धीका घनिष्ठ मित्र बने । तिनले गान्धी र नेहरू परिवारसित धेरै समय बिताए । गान्धीको हत्यापश्चात् जोन्सले गान्धीको जीवनी लेखे । यो पुस्तकले डा. मार्टिन लुथर किङ्गलाई हिंसारहित आन्दोलनको लागि प्रेरित गरेको थियो । भनिन्छ, भारतमा साम्यवाद फैलनबाट रोक्न जोन्सले ठुलै भूमिका खेले ।

कुनै समय ख्रीष्टियान विश्वासलाई अङ्गाल्ने गम्भीर सोच बनाएका गान्धीको लागि ख्रीष्टियानहरूको गतिविधि तगारो बनेको थियो । गान्धीले संसारलाई दिएका एउटा सन्देश थियो— अरूको लागि दुःख भोग्नुपर्छ । तिनको लागि यो सन्देशको स्रोत येशू ख्रीष्ट हुनुहुन्थ्यो । “येशू हाम्रो शान्ति हुनुहुन्छ” लिखित ख्रीष्टको श्यामश्वेत तस्बिरलाई तिनले आफ्नो सानो झुपडीमा झुन्ड्याइराख्थे ।[v] क्रूसमा टाँगिनुभएका ख्रीष्टको एउटा तस्बिर छ जसमा उहाँले कपडाको एउटा मात्र टुक्रा बेर्नुहुन्छ । भारतका गाउँहरूमा लाखौँ गरिब मानिसले यस्तै कपडाको टुक्रा बेर्थे । येशूको यो तस्बिरले गान्धीको हृदयलाई औधी प्रभाव पारेको थियो ।

“परमेश्वरका आत्मा र इच्छालाई येशूले यसरी व्यक्त गर्नुभयो कि अरू कसैले त्यसरी व्यक्त गरेको छैन । यस अर्थमा म उहाँलाई परमेश्वरका पुत्रको रूपमा देख्छु र चिन्छु । येशूको जीवनमा सार्थकता र पराभौतिकता छ जसको मैले सङ्केत गरेको छु । तसर्थ उहाँ केवल ख्रिस्टियमतको मात्र हुनुहुन्न तर सारा संसार, सारा जाति र सारा मानिसहरूको हुनुहुन्छ”, अर्को ठाउँमा गान्धीले येशू ख्रीष्टबारे आफ्नो धारणा राखे ।[vi] सबै धर्मलाई आदर गर्ने गान्धीको धार्मिक विचारलाई ‘अध्यात्मवादी मानवता’ को रूपमा व्याख्या गर्न सकिन्छ ।

३० जनवरी १९४८ मा राजधानी सहर नयाँ दिल्लीस्थित हाल गान्धी स्मृति भनेर चिनिने बिर्ला हाउसमा गान्धीको हत्या गरिएको थियो । नाथुराम गोड्सेले नजिकैबाट गान्धीलाई छातिमा तीन गोली प्रहार गरे । धर्मान्ध गोड्से गिरफ्तार गरिए; दोषी ठहराइए र पछि तिनलाई फाँसी दिइएको थियो । ७८ वर्षको उमेरमा राष्ट्रनिर्माता महात्मा गान्धीको हत्या गरिएको थियो ।

 

सन्दर्भ स्रोतहरू

[i] https://www.azquotes.com/author/5308-Mahatma_Gandhi/tag/jesus

[ii] https://en.wikipedia.org/wiki/Mahatma_Gandhi

[iii] कमल अधिकारी, इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (काठमाडौँ: सामदान प्रकाशन, ख्रिस्टाब्द २०१९), पृ. सं. ४० ।

[iv] https://www.bbc.com/news/world-asia-india-43252705

[v] https://www.mkgandhi.org/articles/gandhi_christ.html

[vi] Ibid

 

Facebook Comments

Powered by Youth Circle