यो वर्ष मैले पढेर सिद्ध्याएको पाँचौँ कृति पनि आत्मकथा नै हो । पुस्तकको शीर्षक The Rage Against God: How Atheism Led Me to Faith रहेको छ । कृतिका रचनाकार हुन्, पिटर हिचेन्स । परिचित पत्रकारसाथै लेखक हिचेन्सका आठवटा कृतिमध्ये यो पाँचौँ कृति हो ।
पुस्तक पठन यात्रामा यो मेरो १०५ औँ पुस्तक हो । १७९ पृष्ठको यस रचनालाई पढेर सक्न मलाई ८ दिन (जनवरी ३०-फेब्रुअरी ६) मा ९ घण्टा लाग्यो । यो ख्रिस्टाब्द २०१० मा प्रकाशित कृति हो ।
हिचेन्सका अनुसार धर्मको विरुद्धमा नास्तिकवादको तीनवटा आधारभूत तर्क रहेको छ: (१) धर्मको नाउँमा लडिएका लडाइँहरू सधैँ नै धर्मकै विषयमा हुन्, (२) परमेश्वरको अस्तित्वविना नै निश्चयतासाथ ठिक र बेठिक छुट्ट्याउन सकिन्छ र (३) नास्तिकवादी राज्यहरू वास्तवमै नास्तिकवादी होइनन् । आफ्नो आत्मकथामा हिचेन्सले धर्मको विरुद्धमा नास्तिकवादले तेर्साएका यी तीनवटा आधारभूत तर्कको सटिक ढङ्गमा खण्डन गरेका छन् ।
ख्रिस्टाब्द १९५१ मा पिटर हिचेन्सको जन्म युरोपेली टापुको मुलुक माल्टामा भएको थियो । तिनका दाजु क्रिस्टोफर हिचेन्स कुख्यात नास्तिक थिए । धार्मिक दृष्टिकोणबाट सचेत परिवारमा हुर्के तापनि दाजुभाइ नै प्रखर नास्तिक बने । आफूले घरमा सिकेका ख्रीष्टियान मूल्य-मान्यताहरूको विरुद्धमा उत्रे दाजुभाइ । वास्तवमा पिटरको विद्रोह यति उत्कट थियो कि स्कुलमा पढ्दा तिनले आफ्नो बाइबललाई आगो लगाएर जलाइदिएका थिए । नास्तिकवादप्रति आफ्नो अडानलाई उल्लेख गर्दै तिनी यसो भन्थे, “हामी आफ्नै धार्मिकताले भरिपूर्ण थियौँ । … हामी ठिक थियौँ भनी हामीलाई थाहा थियो । हामी असल थियौँ भनी हामीलाई थाहा थियो ।” तिनको बुझाइमा बाइबल शत्रुको पुस्तक थियो र परमेश्वर अस्तित्वमा हुनुहुन्थेन । पुरानो करार क्रूरता र दन्त्यकथाहरूले भरिएको पुस्तक हो र सुसमाचारहरू हास्यास्पद आविष्कार हुन् भनी तिनी जोड दिन्थे ।
विज्ञानले हरेक कुराको व्याख्या गर्न सक्थ्यो भन्ने कुरामा हिचेन्स निर्धक्क थिए । ग्रहहरूको चाल, गुरुत्वाकर्षणको नियम र समयको रहस्यलाई विज्ञानले पूर्णत: व्याख्या गरिसकेको थियो र व्याख्या गर्न बाँकी रहेको कुरोलाई विज्ञानले चाँडै नै व्याख्या गर्नेथियो भनी तिनले अपेक्षा गरेका थिए ।
तर “हामीलाई अझै राम्रोसित थाहा छ र अरू सबै मूर्ख हुन्” भन्ने सजगताले अन्ततः हिचेन्सलाई ख्रीष्टमा डोर्यायो । करिब ३० वर्षको उमेरमा आइपुग्दा पिटरले नास्तिकवाद र साम्यवादप्रति भएको आफ्नो दृष्टिकोणमाथि गम्भीर रूपमा प्रश्न तेर्साए । आफ्नो आत्मकथमा तिनी लेख्छन्, “अब मैले पत्ता लगाउँदै थिएँ कि मैले अङ्गालेका सेकुलर विश्वासहरू झुटा थिए । मलाई राम्ररी थाहा भयो कि विश्वास गर्ने र नगर्ने भन्ने कुरो महत्त्वपूर्ण रहेछ ।” आफ्ना ख्रीष्टियान पूर्वजहरूलाई विचार गर्दा तिनले पाए कि तिनीहरू न असभ्य थिए, न अज्ञानी थिए, बरु तिनीहरू त महान् सिप भएका मानिसहरू थिए जसको सृजनशीलतालाई विश्वासले बाधा दिएको थिएन ।
नास्तिकवादले नै पिटरलाई विश्वासमा डोर्याएको थियो भनी तिनको आत्मकथाको उपशीर्षकले नै बताउँछ । साम्यवादी रुसमा बस्दा त्यहाँको क्रुरताको पराकाष्ठालाई तिनले आफ्नै आँखाले देखेका थिए । तिनी लेख्छन्, “मानवीय इतिहासमा अभिनय गरिएको सबैभन्दा जाली आश्चर्यकर्म भनेको सोभियत रुस समानता, शान्ति, प्रेम, सत्यता, विज्ञान र उन्नतिको नव सभ्यता हो । हरेकलाई अहिले थाहा छ कि यो झ्यालखाना, फोहरी बस्ती, प्राचीन असभ्यताको फिर्ती र झुटको राज्य हो ।” अलौकिकताको नाम निसानै मेट्ने प्रयासमा रुस यति क्रूर बन्न पुग्यो कि उसले आफ्नै मानिसहरूको नरसंहार गरी रगतको खोलो बगायो । मानिसको आदर गर्न नसक्ने कुनै पनि वाद टिक्न सक्दैन । फलत: १९९१ मा साम्यवादी रुस गर्लम्मै ढल्यो किनकि यो गलत थियो । पिटरको बुझाइअनुसार युरोपमा ख्रिस्टियमतको ह्रास नै पहिलो विश्वयुद्धको कारण थियो ।
नास्तिकवादी क्रुरताको प्रत्यक्ष अवलोकनले अन्ततः हिचेन्सलाई त्यही विश्वासमा डोर्यायो जुन विश्वासको वातावरणमा तिनी जन्मेका मात्र थिएनन्, तर हुर्केका पनि थिए । नास्तिकवादबाट ख्रीष्टियान विश्वाससम्मको यात्रालाई तिनले आफ्नो आत्मकथामा बयान गरेका छन् । इङ्गल्यान्डको मण्डलीको सदस्य बनेका तिनी ख्रीष्टियान विश्वासको बफादार रक्षक हुन् ।