२४ जनवरीबाट नबिल कुरेसीको आत्मकथा पढ्न सुरु गरेँ । Seeking Allah, Finding Jesus: A Devout Muslim Encounters Christianity आत्मकथाको शीर्षक हो । जनवरीमा पढेर सकेको यो मेरो चौथो आत्मकथा हो । ४ लाखभन्दा बढी प्रति बिक्री हुन सफल यो पुस्तक नबिल कुरेसीको आत्मिक यात्राको बारेमा हो । पुस्तकको नामैबाट प्रस्ट छ कि भक्त मुसलमान कुरेसीले अल्लाहको खोजी गर्दै थिए, तर अन्तत: येशूलाई भेट्टाए । तिनी ख्रीष्टियान आस्थालाई पराजित गर्न चाहन्थे । बाइबललाई चुनौती दिने उद्धेयले यसको अध्ययन थालेका कुरेसीले अन्त्यमा येशूलाई चिन्न पुगे । इस्लाम धर्मदेखि ख्रीष्टियान विश्वाससम्म तिनको यात्रा वास्तवमै रोचक मात्र छैन, तर सङ्घर्षपूर्ण पनि ।
पुस्तक पठन यात्रामा यो मेरो १०४ औँ पुस्तक हो । ३६९ पृष्ठ लामो यस पुस्तकलाई पढेर सिद्ध्याउन मलाई ६ दिन (जनवरी २४-२९) मा १४ घण्टा खर्च गर्नुपर्यो । मैले ख्रिस्टाब्द २०१८ मा प्रकाशित तेस्रो संस्करणलाई पढेँ । यसको पहिलो संस्करण भने २०१४ मा छापिएको थियो ।
१३ अप्रिल १९८३ मा नबिल कुरेसीको जन्म अमेरिकाको क्यालिफोर्नियामा मुसलमान परिवारमा भएको थियो । तिनका बुबाआमा पाकिस्तानबाट अमेरिका बसाइँ सरेका थिए । ६ वर्ष नपुग्दै इस्लामिक धर्मशास्त्र कुरआनलाई पढेर सकेका कुरेसी भक्त मुसलमान परिवारमा मात्र जन्मेका थिएनन्, तर तिनी आफै नै आफ्नो धर्ममा अति नै प्रतिबद्ध थिए । एउटा भक्त मुसलमानले पालना गर्नुपर्ने कर्तव्यहरूलाई तिनले सानै उमेरदेखि पछ्याउँदै आएका थिए ।
७ कक्षामा तिनले डेभिडलगायतका व्यक्तिहरूसँग मित्रता गाँसे । पछि कुरेसीले ख्रीष्टियान विश्वासलाई अङ्गाल्नुमा डेभिडका तर्कहरूले उल्लेखनीय भूमिका खेले । १० कक्षा पुगेपछि कुरेसीको व्यक्तिगत जीवनमा उल्लेखनीय परिवर्तन आयो । तिनले साथीहरूसँग समय बिताउन थाले ।
अन्य मुसलमानहरूले जस्तै कुरेसीले पनि बाइबल र येशूको बारेमा इस्लामिक दृष्टिकोणबाट बुझेका थिए । तिनले सिकेअनुसार शताब्दीऔँसम्म प्रतिलिपि गरिएकोले वर्तमान बाइबल भ्रष्ट छ र यसमाथि भरोसा गर्न सकिँदैन । बाइबलमा येशूले कतै पनि “म परमेश्वर हुँ” भनेर दाबी नगर्नुभएकोले उहाँ परमेश्वर हुन सक्नुहुन्न भनी तिनले सिकेका थिए । येशू क्रूसमा मर्नुभएको थिएन बरु अल्लाहले उहाँलाई जिउँदै स्वर्ग लैजानुभयो वा उहाँको सट्टामा उहाँजस्तै देखिने अर्को व्यक्ति मर्यो भनी मुसलमानहरू दाबी गर्छन् र तिनी पनि त्यही बुझाइसहित हुर्केका थिए । उहाँ क्रूसमा नै नमर्नुभएकोले कुरेसीको लागि पुनरुत्थानको मुद्दा धेरै परको विषय थियो ।
कुरेसीका सहपाठी डेभिड ख्रीष्टियान थिए भने तिनीचाहिँ मुसलमान । यी दुई फरक-फरक धर्मबाट आएका थिए र तिनीहरूको छलफलमा धार्मिक विषयले ठाउँ पाउँथ्यो । आफ्नो धर्म साँचो थियो भने कुरेसीले सिकेका थिए भने डेभिडले आफ्नो आस्था साँचो थियो भनेर मात्र सिकेका थिएनन् तर त्यसको लागि तिनीसँग साक्षीहरू पनि थिए । बहसको क्रममा डेभिडले आफ्नो आस्थाका लागि गहन साक्षीहरू मात्र पेस गरेनन् तर तिनको आस्थाको विरुद्धमा उठाइएका इस्लामिक अवरोधहरूलाई पनि तर्कसङ्गत ढङ्गमा जवाफ दिए ।
पछि कुरेसीले ख्रिस्टियमतका दाबीहरूको अध्ययन गर्न थाले । के बाइबल सही प्रकारले प्रतिलिपि हुँदै आएको छ त ? के ख्रीष्टियानहरूले दाबी गरेजस्तै येशू परमेश्वरका पुत्र हुनुहुन्छ ? के येशू मानव-जातिका लागि क्रूसमा मर्नुभयो ? के येशू साँच्चै पुनरुत्थान हुनुभयो ? अनुसन्धानपश्चात् तिनले सकारात्मक जवाफ पाए ।
अर्कोतिर, तिनले इस्लामिक धर्मका दाबीहरूलाई पनि जाँच गर्न थाले । के कुरआन ईश्वरीय प्रेरणाबाट लिखित वचन हो ? के मुहम्मद अल्लाहका अन्तिम सन्देशवाहक हुन् ? के तिनी नैतिक राज्यमा अनुकरणीय छन् ? के इस्लाम धर्मले सिकाएझैँ बाइबल भ्रष्ट छ ? के येशू परमेश्वर हुनुहुन्छ ?
एकातिर तिनले ख्रीष्टियान दाबीहरूलाई समर्थन गर्ने दरिला साक्षीहरू भेटे भने अर्कोतिर आफ्नो धर्मलाई समर्थन गर्ने साक्षीहरू भेटेनन् । फलत: तिनले इस्लाम धर्मलाई त्याग गरी ख्रीष्टियान मार्गलाई अङ्गाले ।
वर्षौंको अनुसन्धानपश्चात् कुरेसी एउटा निष्कर्षमा पुगे । २२ वर्षको उमेरमा २४ अगस्त २००५ का दिन बिहान तीन बजे आफ्नो ओछ्यानमा शिर निहुराई तिनले प्रार्थना गरे, “म स्वीकार गर्दछु । येशू ख्रीष्ट स्वर्ग र पृथ्वीका प्रभु हुनुहुन्छ भनी म स्वीकार गर्दछु । मेरा पापको सट्टामा मर्न उहाँ यस संसारमा आउनुभयो र मरेकाहरूबाट जीवित भई उहाँले आफ्नो प्रभुत्वको पुष्टि गर्नुभयो । म पापी हुँ र मेरो छुटकाराको लागि मलाई उहाँको खाँचो छ । हे ख्रीष्ट, म तपाईंलाई मेरो जीवनमा स्वीकार गर्दछु ।”