येशूकी आमा मरियमका पति योसेफ कसका छोरा थिए ? मत्तीको सुसमाचारअनुसार योसेफ याकूबका छोरा थिए (मत्ती १:१६) भने लूकाको विवरणमुताबिक तिनी एलीका छोरा थिए (लूका ३:२३) । मत्ती १:१६ ले बताउँछ, “याकूब तिनै योसेफका पिता थिए, जसकी पत्नी मरियम थिइन् । यिनै मरियमबाट येशूको जन्म भयो, जो ख्रीष्ट कहलाइन्छन् ।” येशूको वंशावलीलाई लूकाले यसरी आरम्भ गरेका छन्, “… योसेफ एलीका छोरा थिए” (लूका ३:२३) । तब यी दुईवटा विवरणलाई दाँजेर हेर्दा यहाँ प्रस्ट अन्तर्विरोध छ जस्तो देखिन्छ । वास्तवमा योसेफ कसका छोरा थिए ?
मत्ती र लूका दुवै जना लेखकले येशूको वंशावलीलाई फरक-फरक दृष्टिकोणबाट प्रस्तुत गरेका छन् भनी ख्याल गर्नुपर्छ (मत्ती १:१-१६; लूका ३:२३-३८) । मत्तीको वंशावलीमा येशू योसेफमार्फत आउनुहुन्छ भने लूकाको वंशावलीमा मरियममार्फत । अर्को तरिकाले भन्नुपर्दा, मत्तीले येशूको वैध पिता योसेफको वंशावलीलाई जोड दिएका छन् भने लूकाले येशूकी वास्तविक आमा मरियमको ।
मत्तीले आफ्नो सुसमाचार यहूदी स्रोताहरूलाई लेखेकाले यहूदी मसीहको पहिचानको सम्बन्धमा तिनी निकै सचेत छन् । पुरानो करारको अपेक्षाअनुसार मसीह अब्राहामको सन्तान र दाऊदको वंशको हुनुपर्थ्यो (मत्ती १:१) । यसको विपरीत लूकाका स्रोताहरू ग्रिक अर्थात् गैरयहूदीहरू थिए जो सिद्ध मानिसको खोजीमा थिए । त्यसैले तिनले आफ्नो वंशावलीलाई आदमसम्म तन्काएका छन् ।
योसेफ पक्कै पनि स्वाभाविक वंशद्वारा याकूब र एली दुवैका छोरा हुन सक्दैनन् । लूकाको सुसमाचारमा एलीले योसेफलाई जन्माए भन्दैन बरु उनी तिनका पिता थिए भन्छ । तब स्वाभाविक व्याख्या यो हो कि योसेफ एलीका ज्वाइँ थिए । तत्कालीन परम्पराअनुसार ज्वाइँलाई छोरा भन्न मिल्थ्यो (१ शमूएल २४:१६ लाई तुलना गरेर हेर्नुहोस्) । तब यो प्रस्ट छ कि योसेफ वास्तवमा याकूबका छोरा थिए र तिनले एलीकी छोरी मरियमसित बिहे गरेकाले तिनी एलीका पनि छोरा भनिए जुन सम्बोधन तत्कालीन संस्कृतिमा स्वाभाविक नै थियो ।