विश्वप्रसिद्ध नास्तिक दार्शनिक फ्लुलाई वैज्ञानिक साक्षीले परमेश्वरतर्फ डोर्‍यायो

ख्रिस्टाब्द २०१५ देखि आफूले पढेर सिद्ध्याएका पुस्तकहरूको अभिलेख राख्न थालेँ । २०२० को अन्त्यसम्म आइपुग्दा मैले ठ्याक्कै १०० ओटा किताब पढेर सकेछु । २०२१ मा पढिने पुस्तकहरूको सूची बनाउँदा म आत्मकथामा केन्द्रित हुन चाहेँ । त्यसैले एन्टोनी फ्लुको आत्मकथाबाट २०२१ को पुस्तक पठन यात्राको शुभारम्भ गरेँ ।

फ्लु विश्वविख्यात नास्तिक थिए र वैज्ञानिक साक्षीको आधारमा ८१ वर्षको दीर्घायुमा तिनले परमेश्वरमाथि विश्वास गरेका थिए भन्ने कुरो मलाई पहिले नै थाहा भए तापनि तिनको आत्मकथाद्वारा तिनको परिवर्तनबारे म तिनको बारेमा सबिस्तार जान्न चाहन्थेँ । रोए अब्राहाम भर्गिजसित मिलेर लिखित तिनको आत्मकथाको शीर्षक There Is a God: How the World’s Most Notorious Atheist Changed His Mind रहेको छ । ख्रिस्टाब्द २००७ मा पहिलो पटक प्रकाशित यस कृतिमा फ्लुले नास्तिकवादबाट आस्तिकवादतर्फ आफ्नो परिवर्तनको यात्रालाई वर्णन गरेका छन् । मैले भने २००९ मा प्रकाशित संस्करण पढेँ ।

पुस्तक पठन यात्रामा यो मेरो १०१ औँ पुस्तक हो । २५८ पृष्ठको यस पुस्तकलाई ६ दिनमा (जनवरी १-६) ८ घण्टा लगाएर सकेँ । मैले निकै रुचि लिएर यसलाई पढेँ । पुस्तकमा २ ओटा भाग छन् । पहिलो भागमा फ्लुले किन परमेश्वरमाथि विश्वास गरेका थिएनन् भनी उल्लेख गरिएको छ भने दोस्रोमा तिनले कसरी परमेश्वरलाई पत्ता लगाए भनी चर्चा गरिएको छ । रोए अब्राहाम भर्गिज र एन. टी. राइटद्वारा लिखित एक-एकवटा परिशिष्टलाई पनि पुस्तकमा समावेश गरिएको छ ।

ख्रिस्टाब्द १९२३ मा युकेमा जन्मेका एन्टोनी फ्लु दार्शनिक थिए । तिनले अक्सफोर्ड, एबर्डिन, योर्कजस्ता विश्वका नामी विश्वविद्यालयहरूमा पढाउने गर्थे । तिनी नास्तिकवादका दृढ पक्षपोषक थिए । झन्डै आधा शताब्दीसम्म तिनले परमेश्वरको अस्तित्वलाई इन्कार गरे । नास्तिकवादको वकालत गर्दै तिनले ३० ओटाभन्दा बेसी कृति लेखे । नास्तिकवादको पक्षमा व्यवस्थित ढङ्गमा लेख्ने तिनी बिसौँ शताब्दीका अतुलनीय लेखक थिए ।

फ्लु सधैँ नास्तिक भने थिएनन् । ख्रीष्टियान परिवारमा हुर्केका तिनले निजी ख्रीष्टियान स्कुलमा अध्ययन गरे । वास्तवमा तिनी प्रचारकका छोरा थिए । मण्डलीमा जानु, प्रार्थना गर्नुका अतिरिक्त अन्य धार्मिक अभ्यासहरू तिनका लागि दिक्कलाग्दा गतिविधिहरू थिए । ख्रीष्टियान परिवारमा हुर्के तापनि परमेश्वरसित बातचित गर्ने तिनमा रत्तिभर इच्छा थिएन । १५ वर्षको पुग्दा सर्वशक्तिमान् परमेश्वद्वारा यो सारा विश्व सृष्टि गरिएको थियो भन्ने धारणालाई तिनले इन्कार गरे । २३ वर्ष पुग्न लाग्दा तिनी नास्तिक बने । नास्तिक बन्नुको एउटा प्रारम्भिक कारण संसारमा विद्यमान दुष्ट्याइँ थियो ।

तर ख्रिस्टाब्द २००४ मा तिनले परमेश्वरको अस्तित्वमाथि विश्वास गरेका घोषणा गरी बौद्धिक जगत्‌मा भुइँचालो ल्याइदिए । पुस्तकमा तिनले लेखेका छन्, “अहिले म विश्वास गर्दछु कि यो विश्वलाई असीमित चेतनाद्वारा अस्तित्वमा ल्याइयो । म विश्वास गर्दछु कि विश्वका जटिल नियमहरूले त्यस्तो कुरोलाई देखाउँछन् जसलाई वैज्ञानिकहरूले परमेश्वरको समझ भनेका छन् । म विश्वास गर्दछु कि जीव र पुनरुत्पादन ईश्वरीय श्रोतबाट आएका हुन् ।” केले गर्दा तिनले आफ्नो अवधारणा बदले ? आधुनिक विज्ञान । आधुनिक विज्ञानका तीनवटा पक्षले परमेश्वरलाई अङ्कित गर्छन् भनी तिनी उल्लेख गर्छन्: (१) कसरी प्राकृतिक नियमहरू अस्तित्वमा आए ?, (२) कसरी जीव अस्तित्वमा आयो ? र (३) कसरी यो सम्पूर्ण विश्व अस्तित्वमा आयो ? फ्लुका अनुसार सबैभन्दा तर्कसङ्गत जवाफ हो— परमेश्वर । परमेश्वरको अस्तित्वलाई स्वीकार नगरी तपाईंले यी प्रश्नहरूको जवाफ दिन सक्नुहुन्न ।

फ्लु साक्षीले जता डोर्‍याउँछ त्यतै लाग्ने विचारक थिए । तिनी लेखेका छन्, “तर्कले मलाई जता डोर्‍याएको छ म त्यतै गएको छु । र यसले मलाई स्वअस्तिवान्, अपरिवर्तनशील, अभौतिक, सर्वशक्तिमान् र सर्वज्ञानी अस्तित्वको स्वीकारतर्फ डोर्‍याएको छ ।”

Facebook Comments

Powered by Youth Circle