तपाईंले बाइबलमा भरोसा गर्नुपर्ने ७ ओटा कारण

एर्विन डब्लु. लुट्जर पास्टर, शिक्षकसाथै लेखक हुन् । अमेरिकाको सिकागोस्थित मुडी चर्चमा ३५ वर्षसम्म वरिष्ठ पास्टर भई सेवा पुर्‍याएका तिनले ५० ओटाभन्दा बेसी पुस्तक लेखेका छन् । 7 Reasons Why You Can Trust the Bible नाम गरेको पुस्तक तिनको एउटा कृतिको नाउँ हो ।

पुस्तक पठन यात्रामा यो मेरो ९६ औँ पुस्तक हो । ८ दिन लगाएर मैले यसलाई पढी सिद्ध्याएँ । २०१५ मा प्रकाशित यस पुस्तकमा २४८ ओटा पृष्ठ रहेका छन् ।

पुस्तकको नामैबाट सुस्पष्ट हुन्छ कि यसमा बाइबलमा भरोसा गर्नुपर्ने ७ ओटा कारण प्रस्तुत गरिएका छन् । ती कारणहरू यस प्रकार छन् ।

१. तार्किक कारण (बाइबलले यो परमेश्वरको वचन हो भनी दाबी गर्छ)

बाइबलले यो परमेश्वरको वचन हो भनी प्रस्टसित दाबी गर्छ । पवित्र-शास्त्रको ईश्वरीय प्रेरणाको लागि २ तिमोथी ३:१६ एउटा सुस्पष्ट खण्ड हो, “सम्‍पूर्ण पवित्र-शास्‍त्र परमेश्‍वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्‍याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्‍छ ।” प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा बाइबलका झन्डै पन्ध्र सयवटा कथनले यसको ईश्वरीय उत्पत्तिको दाबी गर्छन् ।

बाइबलका लेखकहरू छलिएका थिए वा तिनीहरूले झुट बोल्दै थिए भन्नु हाँस्यास्पद हुन्छ । त्यसो हो भने हामीले बाइबललाई संसारकै सबैभन्दा छली पुस्तक भन्नुपर्ने हुन्छ । तर उच्चतम नैतिकता, उत्कृष्ट विश्वदृष्टि, जीवनसाथै समाज परिवर्तन गर्ने शक्ति भएको शिक्षा दिने यो पुस्तक छली हो भनेर दाबी गर्नु अकल्पनीय छ ।

२. ऐतिहासिक कारण (इतिहासले बाइबलको विश्वसनीयताको पुष्टि गर्छ)

बाइबल एका देशमा भनिएका कथाहरूको सङ्ग्रह होइन, यो त ऐतिहासिक दस्ताबेज हो जहाँ वास्तविक व्यक्ति, वास्तविक भूगोल र वास्तविक संस्कृतिहरू अभिलिखित गरिएका छन् । कुनै पनि आस्था विश्वास गर्न लायक छ भने त्यो सत्यतामा आधारित हुनैपर्छ । यो कुरो साँचो हो कि विश्वासको लागि ठाउँ हुनुपर्छ, तथापि सत्यतामा आधारित छैन भने त्यो विश्वास व्यर्थको मात्र हुँदैन तर विनाशकारी पनि हुन्छ । बाइबलसित सम्बन्धित सैयौँ खोजहरू पत्ता लागेका छन् र तिनले एकपछि अर्को गर्दै यसको ऐतिहासिकताको पुष्टि गर्दै छन् ।

३. भविष्यवाणीय कारण (बाइबल भरोसा गर्न लायक छ भनी यसका भविष्यवाणीहरूले प्रमाणित गर्छन्)

बाइबल लेखिँदा यसका २७% खण्ड भविष्यवाणीसित सम्बन्धित थियो । बाइबलका भविष्यवाणीहरू अस्पष्ट र रहस्यमय भाषाहरूमा लेखिएका छैनन् । यसमा नाउँ, घटनासाथै व्यक्तिका नाउँहरू सबिस्तार ढङ्गमा उल्लेख भएका छन् । बाइबलीय भविष्यवाणी प्रस्ट भाषामा बुझिने गरी लेखिएका छन् ।

बाइबलमा सयौँ वर्षअगि भनिएका सयौँ भविष्यवाणीहरू हुबहु पूरा भएका छन् । ख्रीष्टको जन्मको समय (दानिएल ९), सहर (मीका ५:२) र प्रकृति (यशैया ७:१४) को विषयमा पुरानो करारमा भविष्यवाणी गरिएको थियो र ती सबै येशूको जीवनमा जस्ताको तस्तै पूरा भए । एदोमको विनाश (ओबदिया १), बेबिलोनमाथि सराप (यशैया १३), टुरोस (इजकिएल २६) र निनवे (नहूम १–३) को विनाश अनि आफ्नो देशमा इस्राएलको फिर्ती (यशैया ११:११) आदिजस्ता अनगिन्ती भविष्यवाणीहरू पनि पूरा भइसकेका छन् । फलतः पूरा भएको भविष्यवाणी बाइबलको अद्वितीयसाथै ईश्वरीय प्रेरणाको एउटा मजबुत सङ्केत हो ।

४. ख्रिस्टशास्त्रीय कारण (ख्रीष्टले बाइबलको अधिकार र सत्यताको ठोकुवा गर्नुभयो)

ख्रीष्ट हाम्रा लागि आदर्श अगुवा मात्र हुनुहुन्न तर सर्वाधिक आधिकारिक पनि हुनुहुन्छ । उहाँले के सिकाउनुभयो र के विश्वास गर्नुहुन्थ्यो भन्ने कुराहरू अत्यधिक महत्त्वपूर्ण छन् । उहाँले पुरानो करारको इतिहासमा विश्वास गर्नुहुन्थ्यो (मत्ती १९:३-४) । उहाँले पुरानो करारको अधिकारलाई स्वीकार गर्नुभयो (मर्कूस १२:२४) । उहाँले पुरानो करारको आचरणको अनुमोदन गर्नुभयो (मत्ती २२:३७-४०) । उहाँले पुरानो करारका भविष्यवाणीहरूको ठोकुवा गर्नुभयो (लूका २४:४६-४७) । उहाँले पुरानो करारको त्रुटिविहीनताको ठोकुवा गर्नुभयो (मत्ती ५:१७-१८) ।

५. वैज्ञानिक कारण (विज्ञानले बाइबलीय सृष्टिको समर्थन गर्छ)

बाबइलको पहिलो वाक्य हो, “आदिमा परमेश्‍वरले आकाश र पृथ्‍वी सृष्‍टि गर्नुभयो” (उत्पत्ति १:१) । यी सातवटा शब्दमा तपाईंले सम्पूर्ण वैज्ञानिक खोजको जग पाउनुहुन्छ । शताब्दीऔँसम्म यो सम्पूर्ण विश्व (युनिभर्स) अनन्त छ भनी मानिएको थियो, तर बिसौँ शताब्दीका वैज्ञानिक खोजहरूले एकपछि अर्को गर्दै देखाइरहेका छन् कि यो अनन्त छैन तर एउटा निश्चित बिन्दुमा यसको आरम्भ भयो ।

संसारको उत्पत्तिको सम्बन्धमा खगोल विज्ञानको साक्षीले हामीलाई बाइबलीय धारणातर्फ डोर्‍याएको छ । वर्णन गर्ने तरिका फरक–फरक होलान् तर खगोल विज्ञान र बाइबलको उत्पत्तिको पुस्तकको विवरणका अपरिहार्य तत्त्वहरू उही छन् । सृष्टिसम्बन्धी बाइबलीय विवरण विस्मयकारी ढङ्गमा वैज्ञानिक छ ।

६. प्रबन्धको कारण (परमेश्वरको प्रबन्धद्वारा उहाँका मानिसहरूले क्यानन्‌को पहिचान गरे)

बाइबलको समयमा बाइबलका ६६ ओटा पुस्तक मात्र नभएर अन्य पुस्तकहरू पनि लेखिएका थिए । तर यी ६६ ओटा पुस्तकले मात्र प्रेरणा पाएका थिए भनी कसले निधो गर्‍यो ? कुन मापदण्डको आधारमा एउटा पुस्तक परमेश्वरको वचन हो र अर्को होइन भनी छुट्ट्याइयो ? क्यानन्अन्तर्गत यिनै प्रश्नहरूहरूको छलफल गरिन्छ । क्यानन् भनेको ‘औपचारिक रूपमा स्वीकार गरिएका पुस्तकहरूको सूची’ हो । पुस्तक परमेश्वरको वचन हो वा होइन भनेर पहिचान गर्नका लागि मण्डलीले विभिन्न प्रश्नहरू सोध्ने गर्थ्यो: के पुस्तक परमेश्वरका अगमवक्ताहरूद्वारा लेखिएको थियो ? के परमेश्वरका कार्यहरूद्वारा लेखकको पुष्टि हुन्थ्यो ? के सन्देशले परमेश्वरको विषयमा सत्य बताउँथ्यो ? के पुस्तकमा परमेश्वरको शक्ति छ ? के पुस्तक परमेश्वरका मानिसहरूद्वारा स्वीकार गरियो ?

“परमेश्‍वरको हरेक वचन दोषरहित छ । उहाँमा शरण लिनेहरूका निम्‍ति उहाँ ढाल हुनुहुन्‍छ । उहाँका वचनहरूमा नथप्‌, नत्रता उहाँले तँलाई हप्‍काउनुहुनेछ र झूटा प्रमाणित गर्नुहुनेछ” (हितोपदेश ३०:५-६) ।

७. व्यक्तिगत कारण (बाइबलमा जीवन परिवर्तन गर्ने शक्ति छ)

बाइबल परमेश्वरको वचन हो भन्नाका लागि एउटा प्रमुख कारण यसको शक्ति हो । “किनकि परमेश्‍वरको वचन जीवित र क्रियाशील हुन्‍छ, र कुनै पनि दुईधारे तरवारभन्‍दा बढी धारिलो हुन्‍छ । यसले प्राण र आत्‍मालाई त्‍यसका जोर्नी-जोर्नी र हाडको गुदीसम्‍मलाई भाग-भाग पारुञ्‍जेल वारपार छेड्‌ने र हृदयका विचार र इच्‍छा जाँच्‍न सक्‍ने हुन्‍छ” (हिब्रू ४:१२) ।

हामी बाइबलमाथि भरोसा गर्न सक्छौँ किनकि यसले जीवन परिवर्तन गर्छ । करोडौँ मानिसले अनन्त जीवन पाएका गवाही दिएका छन् । जीवनमा आमूल परिवर्तन आएको छ । चोरहरू अब चोर्दैनन्; झुट बोल्नेहरू इमानदार बन्छन्; व्यभिचारीहरूले पवित्र जीवन जिउँछन्; लोभीहरूले आफ्नो लोभ त्याग्छन् । बाइबलको कारण एक-दुई जना, एक-दुई सय जना, एक-दुई हजारका जीवन मात्र नभई लाखौँ-करोडौँ मानिसका जीवन बद्लिएको छ ।

Facebook Comments

Powered by Youth Circle