पत्रुसका पिता को थिए– योना वा योआनेस वा यूहन्ना ?

पत्रुस येशूका १२ जना चेलामध्ये एक थिए । तिनलाई सिमोन वा केफास पनि भनिन्छ । तिनका पिता को थिए ? मत्तीको सुसमाचारअनुसार योना थिए, “येशूले तिनलाई भन्‍नुभयो, ‘योनाको छोरो सिमोन, तिमी धन्‍य हौ । किनभने मानिसबाट तिमीलाई यो प्रकट भएको होइन, तर स्‍वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो'” (१६:१७) । तर यूहन्ना १ अध्यायबमोजिम पत्रुस योआनेसका छोरा थिए, “तिनले सिमोनलाई येशूकहाँ ल्‍याए । येशूले उनलाई हेर्नुभयो र भन्‍नुभयो, ‘तिमी योआनेसको छोरा सिमोन हौ, तिमी केफास (जसको अर्थ हो, चट्टान) भनिनेछौ'” (पद ४२) । यूहन्ना २१ अध्यायमुताबिक पत्रुस यूहन्नाका छोरा थिए, “जब तिनीहरूले खाइसके, तब येशूले सिमोन पत्रुसलाई भन्‍नुभयो, ‘यूहन्‍नाका छोरा सिमोन, के तिमी मलाई यिनीहरूभन्‍दा बढ़ी प्रेम गर्दछौ ?’ तिनले उहाँलाई भने, ‘ज्‍यू प्रभु, तपाईं जान्‍नुहुन्‍छ, म तपाईंलाई प्रेम गर्छु ।’ उहाँले तिनलाई भन्‍नुभयो, ‘मेरा पाठाहरूलाई खुवाऊ”'( पद १५) । यही अध्यायको १६ र १७ मा पनि पत्रुसलाई ‘यूहन्नाका छोरा सिमोन’ भनी सम्बोधन गरिएको छ । तब तर्कसङ्गत प्रश्न यो हो कि पत्रुसका पिता को थिए– योना वा योआनेस वा यूहन्ना ?

यूहन्नालाई ग्रिक भाषामा योआनेस भनिन्छ । त्यसैले यूहन्ना १:४२ मा उल्लिखित योआनेसलाई यूहन्ना भनी उल्लेख गर्नु बढी मुनासिब हुन्छ । “तिमी योआनेसको छोरा सिमोन हौ” भन्नुको साटो “तिमी यूहन्नाका छोरा सिमोन हौ” (यूहन्ना १:४२) भन्नु बढी उपयुक्त हुन्छ ।

अझै पनि प्रश्न बाँकी छ– पत्रुसका पिता योना थिए कि यूहन्ना त ? हिब्रू भाषामा योना र यूहन्ना दुईवटा बेग्लाबेग्लै नाउँ भए तापनि ग्रिकमा यी दुईवटा नाउँका हिज्जे (योनास र योआनेस) ज्यादै समान छन् । योना र यूहन्ना एउटै व्यक्तिका दुईवटा नाउँ हुन सक्ने सम्भावनालाई पनि इन्कार गर्न सकिँदैन जस्तो हामी शाऊल वा पावलको नाउँमा देख्छौँ ।

Facebook Comments

Powered by Youth Circle