परमेश्वर, स्टिफेन हकिङ्ग र बहुविश्व

३८४ ख्रिस्टपूर्वमा अर्थात् येशूभन्दा झन्डै ४०० वर्षअगि जन्मेका ग्रिक दार्शनिक अरस्तु (वा अरिस्टोटल) निकै प्रभावशाली भए तापनि आधुनिक विज्ञानको उदयसँगै तिनका कैयौँ धारणा गलत साबित भए । “यी प्राचीन दार्शनिक पाँचवटा तत्त्वबारे गलत थिए । तिनी अन्तरिक्षबारे गलत थिए । तिनी प्राकृतिक र प्रचण्ड चालबारे गलत थिए । हलुङ्गो वस्तुभन्दा गरुङ्गो वस्तु पहिले खस्छ भन्ने दाबीमा तिनी गलत थिए ।” यो God, Stephen Hawking and the Multiverse: What Hawking said and why it matters नामक पुस्तकबाट साभार गरिएको अंश हो । पुस्तक पठन यात्रामा यो मेरो ९५ औँ पुस्तक हो । हामीले प्रकृतिका रहस्यहरूलाई उजागार गर्दै गएपछि नयाँ-नयाँ तथ्यहरू मात्र पत्ता लागेका छैनन् तर शताब्दीऔँ सम्म कब्जा जमाएर बसेका कतिपय प्राचीन धारणाहरू विलय भएर पनि गएका छन् ।

डेभिड हचिङ्ग्स र डेभिड विल्किन्सोनद्वारा लिखित यो कृति गत वर्ष छापिएको हो । हचिङ्ग्स इङ्गल्यान्डमा भौतिकशास्त्रका शिक्षक हुन् भने विल्किन्सोन कलेजका प्रिन्सिपलसाथै प्राध्यापक हुन् । २०७ पृष्ठको यस पुस्तकलाई पढेर सक्न मलाई ९ दिन (नोभेम्बर १०-१८) लाग्यो । ८ ओटा भागमा विभाजित पुस्तकमा २ ओटा परिशिष्ट पनि समावेश छन् ।

हामी को हौँ ? हामी केका लागि यहाँ छौँ ? हामीभन्दा पर के होला ? के परमेश्वर अस्तित्वमा हुनुहुन्छ ? के हामी उहाँलाई जान्न सक्छौँ ? विश्व अर्थात् युनिभर्स के हो ? यो किन अस्तित्वमा छ ? यो कहाँबाट आयो ? के विज्ञानले यी प्रश्नहरूको जवाफ दिन्छन् ? वा यी विज्ञानभन्दा पर अर्थात् धर्मको हाताभित्र पर्ने प्रश्नहरू हुन् ? निस्सन्देह यी मानव-जातिका लागि आधारभूत प्रश्नहरू हुन् ।

ख्रिस्टाब्द २०१८ मा यस धरतीबाट बिदा भएका स्टिफेन हकिङ्ग भौतिकशास्त्रीसाथै लेखक थिए । आइन्स्टाइनपछि महान्‌तम वैज्ञानिक मानिएका तिनी हकिङ्ग विकिरण, कृष्ण विवर (ब्ल्याक होल), बहुविश्वसाथै हकिङ्ग ऊर्जा आदिजस्ता अवधारणाका लागि परिचित छन् । समयको सङ्क्षिप्त इतिहास नामक कृतिका लागि निकै प्रसिद्ध हकिङ्गले आफू नास्तिक भएका घोषणा गरे र भने कि हामीले विज्ञान र परमेश्वरमध्ये एकलाई छान्नुपर्छ । तर हचिङ्ग्स र विल्किन्सोनले तिनीहरूको कृति (माथि उल्लिखित) मा हकिङ्गको धारणाको वैज्ञानिक ढङ्गमा खण्डन गरेका छन् ।

हचिङ्ग्स र विल्किन्सोनले तिनीहरूको कृतिमा भौतिकशास्त्र, क्वान्टम यान्त्रिकी, सामान्य सापेक्षतासाथै विश्वको उत्पत्तिजस्ता विषयहरू ओटगेका छन् । हकिङ्ग प्रतिभाशाली वैज्ञानिक भए तापनि आफ्नो हाताभन्दा बाहिर आई दर्शनशास्त्रको बारेमा बोल्दा तिनी फितलो देखिएका छन् भनी लेखकद्वयले दृढतासाथ व्यक्त गरेका छन् ।

पुस्तकमा बहुविश्व (मल्टिभर्स) को धारणा पनि व्यक्त छ । हकिङ्गभन्दा अगाडि नै थालनी भएको यो धारणाअनुसार विश्व (अर्थात् युनिभर्स) को सङ्ख्या अनगिन्ती छ र यस्तो अनगिन्ती विश्वमा जेसुकै पनि हुन सक्छ । तर बहुविश्वको अवधारणा पूर्णत: अनुमानमा आधारित मात्र नभएर यो अवैज्ञानिक सिद्धान्त पनि हो भनी लेखकद्वयले देखाएका छन् । बहुविश्वको सिद्धान्त आधुनिक भौतिकशास्त्रको हाँस्यास्पद अनुमान हो भनी दाबि गरिएको छ ।

लेखकद्वले तर्क गरेका छन् कि शून्यताबाट विश्वलाई अस्तित्वमा ल्याउने हकिङ्गको प्रयास न वैज्ञानिक देखिन्छ न तार्किक । पराभौतिक सृष्टिकर्ता परमेश्वरको अस्तित्वलाई स्वीकार नगरिकन भौतिकशास्त्रले शून्यताबाटको उदयलाई अनुमति दिँदैन । विश्वको अस्तित्वको लागि सृष्टिकर्ता परमेश्वरको स्वीकार नै सबैभन्दा उपयुक्त व्याख्या हो ।

Facebook Comments

Powered by Youth Circle