ख्रिस्टाब्द २०१० मा दरेन स्यामी वेस्ट इन्डिज क्रिकेट टिमका कप्तानमा नियुक्त गरिए । हालसम्म तिनी मात्र एक यस्ता कप्तान हुन् जसले दुई पटक आईसीसी वर्ल्ड ट्वेन्टी ट्वेन्टीको उपाधी उचालेका छन् । तिनकै कप्तानीमा वेस्ट इन्डिजले २०१२ मा श्रीलङ्कालाई हराएको थियो भने २०१६ मा इङ्गल्यान्डमाथि जित दर्ता गरेको थियो । २००४ मा बङ्गलादेशको विरुद्धमा ओडीआई (वान डे इन्टरनेसनल) मा डेब्युट गर्दा स्यामी आफ्नो देशबाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने पहिलो व्यक्ति बनेका थिए ।
टी-ट्वेन्टी क्रिकेट म्याचमा भारतमाथि जित दर्ता गरेपछि क्रिकेटको दुनियाँमा आफ्नो पृथक् पहिचान बनाएका स्यामीसित लिइएको एउटा अन्तर्वार्तामा तिनले प्रभु येशू ख्रीष्टको बारेमा बोलेका थिए । उक्त भिडियो भाइरल भएको थियो । तिनले भनेका थिए, “मेरी आमाले मलाई यसरी हुर्काउनुभयो कि म मानसिक रूपमा निकै मजबुत छु जसको लागि म उहाँप्रति धन्यवादी छु । येशू ख्रीष्टमाथि मेरो अत्यधिक विश्वास छ । उहाँले कुनै गलत काम गर्नुभएन र पनि उहाँलाई क्रुसमा चढाइयो ।”
ख्रिस्टाब्द १९८३ मा क्यारेबियन क्षेत्रमा पर्ने सन्त लुसिया नामक मुलुकमा जन्मेका स्यामीलाई मनपर्ने एउटा भनाइ हो, “सर्वशक्तिमान्ले तपाईंलाई तपाईंले बोक्न सक्नुहुनेभन्दा बेसी कहिल्यै दिनुहुन्न ।” स्यामी आफ्नो टिमको लागि प्रार्थना गर्छन् । मार्ग-दर्शनसाथै नेतृत्वको लागि तिनी परमेश्वरलाई बिन्ती चढाउँछन् । सही निर्णय लिन सकियोस् र असल किसिमले खेल्न सकियोस् भनी तिनी येशूलाई पुकारा गर्छन् । इतिहास रचेका क्रिकेटरसाथै येशूका यी अनुयायीले २०१७ मेमा ट्विटरमार्फत ख्रिस्टियमतलाई “मित्र” भन्नुका साथै येशू ख्रीष्टलाई “मेरा प्रभु र मुक्तिदाता” भनी पोस्ट गरेका थिए ।
स्यामीको भनाइअनुसार सानो छँदा तिनले वरिपरिका छिमेकी र समुदायमा प्रचार गर्थे । परमेश्वरले मानिसहरूलाई विभिन्न तरिकाले प्रयोग गर्न सक्नुहुन्छ भन्ने तिनको बुझाइ रहेको छ । उहाँले कसैलाई पास्टर बनाउनुहुन्छ त कसैलाई प्रचारक; कसैलाई शिक्षक त कसैलाई खेलाडी । तिनको विश्वासअनुसार उहाँले तिनलाई क्रिकेटर बनाउनुभयो । तिनको लागि क्रिकेटपछिको जीवन बाँकी नै छ । घरमा हुँदा तिनी मण्डलीमा उपस्थित हुन्छन् ।
Reasons to Believe KamalAdhikari.com.np 


