मरे होलान् भनी ठानिएका बालक प्रसिद्ध पास्टरसाथै लेखक बने

तिनको जन्ममा तिनी मरे होलान् भनी ठानियो । त्यसैले धाईहरूको ध्यान आमापट्टि गयो जो बेसरी बिरामी परेकी थिइन् । तर ४० मिनेटपश्चात् शिशुको धड्कन फेला परेपछि तिनलाई जीवन दिने कोसिस गरियो । तिनी बाँच्न सफल भए ।

ती बच्चा अद्भूत देखा परे । तीन वर्षको उमेरमा तिनले बाइबलको एउटा पद कण्ठ पारे, “किनभने मानिसको पुत्र हराएकालाई खोज्न र बचाउन आएको हो” (लूका १९:१०) । आठ वर्षको उमेरमा तिनले बाइबललाई एक पटक पढेर सिद्ध्याए र नौ वर्षको उमेरमा दुई पटक । चौध वर्षको किशोरावस्थासम्म आइपुग्दा तिनले जम्माजम्मी चौध पटक बाइबल धर्मशास्त्रलाई पढेर सिद्ध्याइसकेका थिए ।

एक पटक परिचित प्रचारक डी. एल. मुडीले एउटा ठुलो भिडलाई प्रचार गरिरहँदा ती विलिक्षण केटोको मनमा यस्तो विचार आयो, “हे प्रभु, मलाई पनि एक दिन यत्तिकै ठुलो भिडलाई प्रचार गर्न सहायता गर्नुहोस् ।”

तर डोनाल्ड मुन्‍रो नाउँ गरेका प्रचारकसँगको भेटघाटपछि ती प्रतिभावान् ठिटोलाई लाग्यो कि तिनले त नयाँ जन्म नै पाएका रहेनछन् । आगामी ६ महिनासम्म आफ्नो आत्मिक समस्यासित जुधेपछि १३ वर्षको उमेरमा तिनले येशूलाई प्रभु र मुक्तिदाताको रूपमा अङ्गाले । वर्षौंपछि तिनले व्यक्त गरे, “मैले परमेश्वरको वचनमा विश्राम पाएँ र ख्रीष्टलाई मेरा मुक्तिदाताको रूपमा स्वीकार गरेँ ।” तिनको नाउँ हो— एच. ए. आइरनसाइड ।

ख्रिस्टाब्द १८७६ मा क्यानडामा जन्मेका आइरनसाइड परिचित बाइबल शिक्षक, प्रचारक, ईश्वरशास्त्री, पास्टरसाथै लेखक बने । तिनी बिसौँ शताब्दीका औधी लेख्ने लेखकमा गनिए । तिनले सयवटा भन्दा बेसी पुस्तक, पुस्तिकासाथै पर्चाहरू प्रकाशित गरे । तिनले मनग्गे भजनहरू पनि रचेका छन् । तिनका कतिपय पुस्तकहरू अहिले पनि छापिन्छन् ।

१९१६ देखि १९२९ सम्म १२ लाखभन्दा बेसी मानिसलाई झन्डै ७,००० ओटा प्रवचन तोडेका आइरनसाइड १९२९ देखि १९४८ सम्म सिकागोस्थि मुडी चर्चमा पास्टर रहे । तिनी आफ्नो समयका सुप्रसिद्ध ख्रीष्टियान अगुवा थिए । तिनी संसारले चिनेका महान्‌तम बाइबल शिक्षकहरूको सूचीमा पर्छन् ।

Facebook Comments

Powered by Youth Circle