मिति २८ अगस्त १९६३ को हो । अमेरिकाको राजधानी वासिङ्गटन डी. सी. मा निर्मित लिङ्कन स्मारकको सामु २,५०,००० भन्दा बेसी मानिसको भिड जम्मा भएको थियो । मार्टिन लुथर किङ्गले एउटा भाषण प्रस्तुत गरे जसलाई आई ह्याभ अ ड्रिम अर्थात् मेरो एउटा सपना छ नाउँले चिनिन्छ । तिनको भाषणलाई अमेरिकी इतिहासमा एउटा उत्कृष्ट भाषणको रूपमा लिइन्छ । यस भाषणमा तिनले अमेरिकामा व्याप्त जातिभेदको अन्त्य हुने घोषणा गरेका थिए । त्यसको एक वर्षपछि ३५ वर्षको उमेरमा तिनलाई नोबेल शान्ति पुरस्कार प्रदान गरियो ।
अमेरिकाका गान्धी भनेर चिनिने मार्टिन लुथर किङ्ग जुनिएरले आफ्नो ३९ वर्षको छोटो अवधिमा अमेरिकी समाजमा गहन प्रभाव पारे । तिनी अमेरिकाका पास्टर, अभियन्ता, मानवतावादीसाथै अफ्रिकी-अमेरिकी नागरिक अधिकार अभियानका प्रमुख अगुवा हुन् ।
किङ्गले मेरो एउटा सपना छ नामक आफ्नो भाषण प्रस्तुत गरेका समयमा अमेरिकामा सामाजिक बेचैनी थियो । राज्य जातीय कलहको भूमरीमा जेलिएको बेलामा तिनले अमेरिकाको एउटा अमिट तस्बिरलाई प्रस्तुत गरे । यो भाषण नागरिक हक अभियानको लागि निर्णायक प्रस्तुति थियो । तिनको वक्तृत्व आरोही थियो; तिनको बिम्ब सुस्पष्ट थियो र तिनको कारण सटीक थियो । यो अमेरिकी इतिहासमा बिसौँ शताब्दीकै शीर्ष भाषण थियो ।
यस भाषणमा किङ्गले आठ पटक मेरो एउटा सपना छ भनी उल्लेख गरेका छन् । किङ्गले जुन तरिकाले बोले, तिनले त्यहाँ उपस्थित मानिसहरूलाई मात्रै शिक्षित पारेनन्, प्रेरित गरेनन्, जानकारी गराएनन्, तर अमेरिकाभरका मानिसहरू र नजन्मेका पुस्ताहरूलाई पनि त्यसै गरे । किन किङ्गको भाषण यति शक्तिशाली भयो भन्ने प्रश्नको जवाफमा कसैले भनेका छन्, “सही मानिसले सही समयमा सही ठाउँमा सही मानिसका निम्ति सही वचनहरू बोलेका थिए ।”
बाइबलसित परिचित किङ्गले आफ्नो यस प्रभावशाली भाषणमा धर्मशास्त्रबाट चारवटा खण्ड उद्धृत गरेका थिएः
- आमोस ५:२४– तर न्यायचाहिँ नदीझैँ र धार्मिकता कहिले नसुक्ने खोलाझैँ बगिरहोस्!
- यशैया ४०:४-५– हरेक उपत्यका अल्गो बनाइनेछ, हरेक पर्वत र डाँडा होच्याइनेछ । बाङ्गो-टेढो जग्गा सीधा बनाइनेछ, र खाल्टाखुल्टी समतल बनाइनेछ । …
- भजनसंग्रह ३०:५– … आँसु रातभरि मात्र बग्छ, तर बिहान आनन्द आउँछ ।
- गलाती ३:२८– अब न त यहूदी छ न ग्रीक, न कमारा छ न फुक्का, न त पुरुष न स्त्री छ, किनभने ख्रीष्ट येशूमा तिमीहरू सबै एउटै हौ ।
Reasons to Believe KamalAdhikari.com.np 


