वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको खोज बाइबलीय धारणासित मेल खान्छ

अल्बर्ट आइन्स्टाइन “जिनिअस” शब्दको पर्यायवाची बने । तिनले आधुनिक भौतिकशास्त्रका दुईवटा खम्बामध्ये एउटा खम्बा (सामान्य सापेक्षताको सिद्धान्त) लाई विकास गरे । अर्को खम्बा क्वान्टम यान्त्रिकी हो । समय, गुरुत्वाकर्षण र पदार्थको शक्तिमा रूपान्तरण (E=mc2) जस्ता विषयमा तिनले क्रान्ति नै ल्याइदिए । १९४० मा अमेरिकाको नागरिकता लिएका आइन्स्टाइनले जीवनकालमा ३०० भन्दा बेसी वैज्ञानिक शोधपत्र र १५० भन्दा बेसी वैज्ञानिकेतर शोधपत्रहरू प्रकाशित गरे । ख्रिस्टाब्द १९२१ मा भौतिकशास्त्रमा नोबेल पुरस्कार हात पारेका आइन्स्टाइनले असृजित विश्वको असम्भाव्यतालाई महसुस गरे । वैयक्तिक परमेश्वरमाथि विश्वास गर्ने मानिस नभए तापनि तिनले प्रस्ट पारेका छन्, “म नास्तिक होइनँ ।”

यो १९१६ को कुरो हो जुन बेला आइन्स्टाइनको समीकरणले जहाँ डोर्‍याइरहेको थियो त्यो तिनी आफैलाई मन परिरहेको थिएन । सम्पूर्ण समय, सम्पूर्ण पदार्थ र सम्पूर्ण अन्तरिक्षको एउटा निश्चित बिन्दुमा आरम्भ भएको तथ्यलाई आइन्स्टाइनका समीकरणहरूले प्रकट गरे । सम्पूर्ण विश्व अनन्त छ भन्ने तिनको विश्वासमा यो नयाँ विचार वैज्ञानिक जगत्‌मा देखिएको थियो । वास्तवमा आइन्स्टाइनको सामान्य सापेक्षताको सिद्धान्तले विश्व अनन्त छैन भनी पुष्टि गरिदियो । सामान्य सापेक्षताको सिद्धान्तलाई आइन्स्टाइनले ख्रिस्टाब्द १९१५ मा प्रतिपादन गरेका थिए । तिनको यो धारणाको प्रारम्भ नै विश्व अनन्त छ भन्ने धारणाको अन्त्य थियो । आइन्स्टाइनको सामान्य सापेक्षताअनुसार सम्पूर्ण समय, सम्पूर्ण अन्तरिक्ष र सम्पूर्ण पदार्थको प्रारम्भ छ ।

यो सम्पूर्ण विश्‍व अनन्त नभई यसको आरम्भ भएको छ भन्ने वैज्ञानिक आइन्स्टाइनको खोज विश्‍वबारे बाइबलीय अवधारणासित सोर्‍है  आना मेल खान्छ । बाइबलको पहिलो पदमा नै लेखिएको छ, “आदिमा परमेश्‍वरले आकाश र पृथ्‍वी सृष्‍टि गर्नुभयो” (उत्पत्ति १:१) । अर्को ठाउँमा लेखिएको छ, “सारा विश्‍व परमेश्‍वरको वचनद्वारा सृष्‍टि भयो, र जो दृश्य छ त्यो अदृश्य कुराबाट बन्यो” (हिब्रू ११:३) ।

१८७९ मा आइन्स्टाइनको जन्म जर्मनीमा भएको थियो । तिनको खोजले विज्ञानको दर्शनशास्त्रमा पनि औधी प्रभाव पार्‍यो । तिनको सुत्र (E=mc2) लाई विश्वकै सर्वाधिक समीकरणको रूपमा हेरिन्छ । आइन्स्टाइनका प्रसिद्ध कथनहरूमध्ये एउटा हो, “धर्मविनाको विज्ञान लङ्गडो हुन्छ र विज्ञानविनाको धर्म अन्धो हुन्छ ।”

Facebook Comments

Powered by Youth Circle