“परमेश्वरमाथि विश्वास नगर्नु मेरो लागि असम्भव हुन्छ”— नासाका अन्तरिक्षयात्री जोन ग्लेन

ख्रिस्टाब्द १९२१ मा अमेरिकामा जन्मेका जोन ग्लेन वायुयान चालक, इन्जिनिएर, राजनीतिज्ञसाथै अन्तरिक्षयात्री थिए । पृथ्वीलाई फन्को मार्ने प्रथम अमेरिकी बनी तिनले इतिहास रचे । १९६२ मा तिनले यस ग्रहलाई तीन चोटि घुमेका थिए । यति मात्र नभई तिनी अन्तरिक्षमा जाने पाँचौँ व्यक्ति र तेस्रा अमेरिकी हुन् ।

१९९८ मा ७७ वर्षको बुढेस्कालमा अन्तरिक्षमा यात्रा गरी सबैभन्दा वृद्धावस्थामा अन्तरिक्षको यात्रा गर्ने व्यक्ति बनी तिनले अर्को इतिहास रचे । डिसकभरी नामक अन्तरिक्ष यानबाट गरिएको यस यात्रामा सृष्टिलाई नियाली तिनले यस्तो शानदार अभिव्यक्ति दिएका थिए, “यस्तो खालको सृष्टिलाई हेरी परमेश्वरमाथि विश्वास नगर्नु मेरो लागि असम्भव हुन्छ ।”

आफ्नो एउटा अन्तरिक्षयात्रापश्चात् ग्लेनले “परमेश्वर अस्तित्वमा हुनुहुन्छ भनी म कसरी जान्दछु” भन्ने शीर्षकमा वचन तोडेका थिए जसमा तिनले परमेश्वरबारे भएको आफ्नो दृष्टिकोण फराकिलो भएको थियो भनी बयान दिए । तिनले तर्क गरे, “मैले भन्न खोजेको कुरो के हो ? सबैभन्दा साना परमाणुको संरचनादेखि लिएर हामीले कल्पना गर्न सक्ने सबैभन्दा ठुलो वस्तुसम्म हाम्रो बारेमा सारा विश्वको व्यवस्थितपन हो । के यी आफै अस्तित्वमा आए ? … म त्यो विश्वास गर्न सक्दिनँ । यो एउटा निश्चित योजना थियो । अन्तरिक्षमा भएको यो एउटा ठुलो कुरो हो जसले परमेश्वर अस्तित्वमा हुनुहुन्छ भनी मलाई देखाउँछ ।”

नासाका अन्तरिक्षयात्री ग्लेन प्रेसबिटेरियन मण्डलीका अभिषिक्त एल्डर थिए । एक पटक तिनले भने, “म प्रेसबिटेरिएन अर्थात् प्रोटेस्टेन्ट प्रेसबिटेरिएन हुँ, र म मेरो धर्मलाई वास्तवमै गम्भीरतापूर्वक लिन्छु ।” अन्तरिक्षयात्री बन्नुभन्दा अगावै तिनको धार्मिक जीवनको थालनी भएको थियो र अन्तरिक्षमा यात्रा गरेपछि तिनको विश्वास झनै वृद्धि भएको थियो । दैनिक प्रार्थना गर्ने ग्लेन गहन विश्वास भएका मानिस थिए । मनग्गे इनाम र आभुषणहरू हात पारेका ग्लेनले जीवनको अधिकांश समय स्वस्थ भएर नै बिताए । आफ्नो मिसन पुरा गरी ९५ वर्षको दीर्घायुमा २०१६ मा तिनको निधन भएको थियो ।

Facebook Comments

Powered by Youth Circle