ख्रिस्टाब्द १९२३ मा इङ्गल्यान्डको राजधानी लन्डनमा जन्मेका एन्टोनी फ्लु पास्टरसाथै ईश्वरशास्त्रीका छोरा थिए । ख्रीष्टियान परिवारमा जन्मेका भए तापनि तिनी १५ वर्षकै किशोरावस्थामा नास्तिक बन्न पुगे । तिनी सुप्रसिद्ध नास्तिक बनेर निस्के ।
विश्वप्रसिद्ध नास्तिकसाथै दार्शनिक फ्लुले अक्सफोर्ड, योर्क, अबर्डिनजस्ता विश्वका नामी विश्वविद्यालयहरूमा पढाए । रिचार्ड डाउकिन्स, क्रिस्टोफर हिचेन्स र साम हेरिसजस्ता धर्ममाथि आक्रमण गर्नेहरूको सूचीमा फ्लुको नाउँ पनि आउँथ्यो । अविश्वासका प्रवक्ता थिए, फ्लु । धार्मिक दर्शनशास्त्रसित सम्बन्धित आफ्नो योगदानको लागि तिनी विख्यात थिए । परमेश्वरको अस्तित्वको लागि आनुभविक साक्षी नभएसम्म नास्तिकवादलाई नै साँचो ठानिनुपर्छ भन्ने तिनको तर्क रहेको थियो ।
तर आफ्नो पुस्ताका प्रखर नास्तिक फ्लुले २००४ मा संसारलाई तिन छक पारिदिए, परमेश्वरको अस्तित्वमाथि विश्वास गरेका घोषणा गरेर । जीवनको अधिकांश समय नास्तिकवादको पक्ष पोषकको रूपमा चिनिएका फ्लुले ८१ वर्षको उमेरमा परमेश्वरमाथि विश्वास गरे । २००७ मा प्रकाशित आफ्नो पुस्तक (देएर इज अ गडः हाउ द वर्ल्ड मोस्ट नोटोरियस एथिइस्ट चेन्ज्ड हिज माइन्ड) मा तिनले नास्तिकवादबाट ईश्वरवादतर्फ भएको आफ्नो यात्रालाई उल्लेख गरेका छन् । तिनी साक्षीले जता डोर्याउँछ त्यतै जाने बौद्धिक मानिस थिए ।
केले तिनलाई नास्तिकवादप्रतिको जीवनभरिको आफ्नो अडानलाई त्याग्न उत्प्रेरित गर्यो ? तिनका आफ्नै शब्दहरूमा— “[विगत] ५० वर्षभन्दा बेसी लगाएर डीएनए अनुसन्धनबारे पत्ता लागेका खोजहरूले बुद्धिमान् संरचनाको पक्षमा नयाँ र अत्यधिक शक्तिशाली तर्कका लागि सामग्रीहरू जुटाएका छन् ।” तिनले भनेका छन्, “परमेश्वरको अस्तित्वको लागि सबैभन्दा प्रभावशाली तर्कहरू ती हुन् जुन हालैका वैज्ञानिक खोजहरूद्वारा समर्थन गरिएका छन्” र “बुद्धिमान् संरचानालाई मैले पहिलो पटक भेट गर्दा भन्दा यो अत्यधिक मात्रामा मजबुत भएको छ ।”
प्रथम कारण वा कुनै अलौकिक अस्तित्वले यो सारा विश्वलाई सृष्टि गरेको हुनुपर्छ भन्ने फ्लुको तर्क रहेको छ । जीवको उत्पत्ति र प्रकृतिको जटिलताको लागि बौद्धिक रचनाकार एक मात्र उचित व्याख्या हो भनी तिनले व्यक्त गरेका छन् । यसरी एक पटक विश्व हल्लाएका नास्तिकले वैज्ञानिक साक्षीको आधारमा परमेश्वरको अस्तित्वलाई स्वीकार गरे ।