परमेश्वर र बाइबलविना राज्यलाई सही प्रकारले शासन गर्न असम्भव छ— जर्ज वासिङ्गटन

अमेरिकी क्रान्तिको समयमा एक जना व्यक्ति सामान्य कपडा लगाएर घोडाबाट सवार भएर जाँदै गर्दा केही सिपाहीहरूकहाँ पुग्यो । तिनीहरूले कुनै छेकबार मर्मत गर्दै थिए । तिनीहरूका अगुवाले चिच्च्याई-चिच्च्याई ती सिपाहीहरूलाई निर्देशन दिँदै थिए यद्यपि तिनी आफैले भने कुनै सहायता गर्ने प्रयास गरिरहेका थिएनन् । ती अगुवालाई किन कुनै सहयोग नगरेको भनी घोडामा सवार हुने व्यक्तिले सोध्दा तिनले गर्व गर्दै जवाफ फर्काए, “सर, म त नाइके पो हुँ ।” त्यो अपरिचित मान्छे दु:खित हुँदै घोडाबाट ओर्ल्यो अनि ती थकित सिपाहीहरूलाई मदत गर्न तम्स्यो । काम सकिएपछि ऊ नाइकेकहाँ आयो र उसले यसो भन्यो, “नाइकेज्यू, अर्को पटक तपाईंले यस्तै काम गर्नुपर्ने हुन्छ जुन काम गर्नको लागि तपाईंसँग यति पर्याप्त मानिसहरू हुने छैनन् । त्यसैले तपाईं प्रधान सेनापतिकहाँ जानुहोस् अनि म आएर फेरि मदत गर्ने छु ।”

घोडामा सवार ती अपरिचित मान्छे अरू कोही नभएर जर्ज वासिङ्गटन थिए जो अमेरिकाका प्रथम राष्ट्रपति बने । अमेरिकी क्रान्ति एउटा कायापलट थियो जुन ख्रिस्टाब्द १७६५-१७८३ सम्म लम्बिएको थियो । यस क्रान्तिमा अमेरिकाले ग्रेट ब्रिटेनलाई सत्ताच्युत गरी संयुक्त राज्य अमेरिकाको स्थापना गरेको थियो । १७३२ मा ब्रिटिस अमेरिकामा जन्मेका वासिङ्गटनले १७८९-१७९७ सम्म अमेरिकामा शासन चलाए । राष्ट्रपति हुनुअगि तिनी अमेरिकी क्रान्तिकारी युद्धको समयमा सेनापति थिए । राष्ट्रनिर्माताको सूचीमा राखी वासिङ्गटनको आदर गरिन्छ ।

वासिङ्गटन मण्डलीका समर्पित सदस्य थिए । आफ्नो निजी जीवनमा तिनले प्रार्थना गर्नुका अतिरिक्त दैनिक बाइबल पढ्थे अनि आफ्नो देश र जनताहरूलाई प्रार्थना गर्न सार्वजनिक रूपमा उत्साह दिन्थे । तिनले सृष्टिकर्ता परमेश्वरमाथि विश्वास गर्थे जो यस विश्वमा सक्रिय हुनुहुन्छ । तिनले अन्य कुनै पनि स्रोतबाट भन्दा बाइबलबाट बढी उद्धृत गरे । धार्मिक सहिष्णुताका समर्थक तिनले विभिन्न सम्प्रदायहरूलाई आदर गर्थे । राजनीतिक कामको लागि यात्रा गर्दा पनि तिनी मण्डलीका सेवाहरूमा उपस्थित हुने गर्थे । यी तिनै राष्ट्रपति थिए जसले बाइबल र परमेश्वरको विषयमा यसरी टिप्पणी गरे, “परमेश्वर र बाइबलविना राज्यलाई सही प्रकारले शासन गर्न असम्भव छ ।”

Facebook Comments

Powered by Youth Circle