आगलागीबाट बाँच्न सफल बालक अठारौँ शताब्दीकै प्रखर वक्ता बने

घटना ९ फेब्रुअरी १७०९ को हो जुन बेला तिनी केवल ५ वर्षका थिए । रातको ११ बजिसकेको थियो । केटो बसेको घरमा आगलागी भयो । सबै केटाकेटीलाई सुरक्षितसाथ घर बाहिर निकालियो तर तिनी भने दोस्रो तलामा नै छाडिए । आगो जलेर छाना खस्नै लाग्दा केटो चिच्च्याएपछि मात्र केटो भित्रै छाडिएछ भनी थाहा हुन आयो । केटोको उद्धारको लागि पिताचाहिँ भर्‍याङतर्फ दौडे । तर भर्‍याङलाई आगोले भष्म पार्न थालिसकेकोले तिनको वजनलाई भर्‍याङले थाम्छ जस्तो लागेन पितालाई । पूर्ण नैराश्यमा घुँडा टेकी पिताले सहायताको निम्ति परमेश्वरलाई पुकारे । त्यसै बेला केटो दराजमाथि उक्लेकोले छिमेकीहरूले तिनलाई देख्न सके । भर्‍याङ खोजी बाहिरबाट भर्‍याङमा चढेर गई केटोको उद्धार गर्न अबेला हुने भएकोले मानिसहरू एक-अर्काको काँधमाथि चढे र केटोको सकुशल उद्धार गरियो ।

त्यसको केही समय पनि बित्न नपाउँदै छाना खस्यो । पिताले चिच्च्याउँदै यसो भने, “हे छिमेकीहरू आउनुहोस् । हामी घुँडा टेकी परमेश्वरलाई धन्यवाद दिऔँ । उहाँले मेरा सबै आठ सन्तान दिनुभएको छ । घर जाओस्, म धनी नै छु ।” यस अविस्मरणीय घटनाले ती बालकको मनमा अमिट छाप छाड्यो । पछि तिनकी आमाले तिनलाई “आगोबाट निकालिएको अगुल्टो” (जकरिया ३:२) को रूपमा उल्लेख गरिन् । को थिए ती ठिटो ? पछि तिनलाई सारा दुनियाँले जोन वेस्लीको नाउँले चिन्यो ।

मेथोडिज्मका संस्थापक वेस्ली अठारौँ शताब्दीका एक प्रखर वक्ता थिए । तिनको पहलमा स्थापित यस सम्प्रदायमा हाल करिब ८ करोड अनुयायी रहेको अनुमान गरिएको छ । तिनले आफ्नो जीवन कालमा झन्डै ४०,००० ओटा प्रवचन तोडे । तिनले कैयौँ रचना पनि छाडेर गएका छन् । तिनको समयमा पैदल, घोडा वा रथबाट स्थल मार्गको यात्रा गर्ने चलन थियो । तिनी प्रचारको लागि औधी यात्रा गर्थे— वार्षिक रूपमा ४,००० माइल ।

आफ्नो सेवाकार्यको पछिल्लो घडिमा जोन दास प्रथाको विरुद्धमा खरो रूपमा उत्रे । तिनले यस अमानवीय प्रथाको विरुद्धमा प्रवचन दिए अनि लेख रचनाहरू प्रकाशित गरे । ख्रिस्टाब्द १७७४ मा तिनले दास प्रथाको विरुद्धमा पर्चा नै निकालेका थिए । तिनी जोन न्युटन र विलियम विल्बरफोर्सका मित्र थिए जसको पहलमा ख्रिस्टाब्द १८०७ मा इङ्गल्यान्डबाट दास प्रथा कानुनतः निर्मूलन भएको थियो ।

बीबीसीले २००२ मा प्रसारण गरेको इङ्गल्यान्डको इतिहासमा १०० जना महान्‌तम ब्रिटिस नागरिकहरूको सूचीमा जोन वेस्लीको नाउँ पचासौँ स्थानमा परेको थियो ।

Facebook Comments

Powered by Youth Circle