१९६९ मा पूर्वअमेरिकी राष्ट्रपति रिचार्ड निक्सोन र जापानी प्रधानमन्त्री इसाकु साटो ओकिनवा क्षेत्र जापानलाई फर्काउनमा सहमत भए । जापानको यसै क्षेत्रको एउटा गाउँमा विगतमा एउटा घतलाग्दो रूपान्तरण भएको थियो जुन यस प्रकार छ ।
दोस्रो विश्वयुद्धमा अमेरिका र जापान एक अर्काका शत्रु थिए । दोस्रो विश्वयुद्धको अन्त्य नजिकिँदै थियो ।
जापानको ओकिनवा टापुस्थित एउटा गाउँ छ जसलाई सिमाबुकु भनेर चिनिन्छ । केही अमेरिकी सिपाहीहरू त्यहाँ पुगे । तिनीहरू गाउँमा प्रवेश गरिरहँदा तिनीहरूले पूर्णत: आक्रमणको अपेक्षा गरेका थिए जुन अस्वाभाविक थिएन । तर दुई जना भद्र भलादमी मानिसले तिनीहरूको स्वागत गर्दा ती अमेरिकी सिपाहीहरू छक्क परे । तिनीहरूले शिर झुकाउँदै ती सिपाहीहरूलाई ख्रीष्टियान दाजुभाइलाई जस्तै निमन्त्रणा दिए । छक्क पर्दै ती गाउँलेका असल व्यवहारलाई विश्वास गर्न नसकेपछि ती सिपाहीहरूले तिनीहरूका पादरीलाई डाके ।
तिनीहरू सँगसँगै गाउँभित्र प्रवेश गरे । ओकिनवा टापुका अन्य गाउँहरू फोहोर र दुर्गन्धित थिए अनि मानिसहरू गरिबी र अज्ञानतामा बाँचेका थिए । तर सिमाबुकु सफा र मनोहर थियो । के भएको रहेछ भन्ने कुरा ती सिपाहीहरूले पछि थाहा पाए ।
तिस वर्षअगि एक जना अमेरिकी मिसनरी त्यो गाउँको बाटो भएर गएका रहेछन् । तिनी त्यहाँ छोटो समयको लागि बसेका रहेछन् जुन बेला तिनले दुई जना मानिसलाई प्रभुमा जितेका रहेछन्: सोसी किना र तिनका भाइ मोजोन । मिसनरीले तिनीहरूको हातमा जापानी भाषामा अनुवाद गरिएको एउटा बाइबल दिएर त्यहाँबाट प्रस्थान गरेका रहेछन् ।
यस अवधिमा ती दाजुभाइले अन्य कुनै ख्रीष्टियानलाई भेटेनन् । तर बाइबल पढेर तिनीहरू ख्रीष्टप्रति यति समर्पित भएका थिए कि तिनीहरूले त्यस गाउँमा उदाहरणीय जीवन जिए ।
सोसी किना गाउँले प्रमुख बने भने मोजोन मुख्य शिक्षक । तिनीहरूको प्रभावमा परेर प्रत्येक गाउँले ख्रीष्टियान भयो । बाइबलका आदेशहरू नै तिनीहरूका कानुन थिए । गाउँको जीवन पूर्णत: परिवर्तन भएको थियो । तिनीहरू एकले अर्कालाई श्रेष्ठ ठान्थे र दाजुभाइ भनी सम्बोधन गर्थे । त्यहाँ संसारकै सर्वोत्तम प्रजातन्त्र अभ्यास भइरहेको थियो । दस आज्ञा र डाँडाको उपदेशलाई तिनीहरूले कानुन र नीतिशास्त्र बनाएका थिए । किनाको स्कुलमा बाइबललाई मुख्य साहित्य बनाइएको थियो । त्यसलाई दैनिक पढिन्थ्यो ।
यस्तो अभ्यासले के नतिजा ल्याएको थियो त ? सिमाबुकुमा वर्षौंसम्म कुनै जेलको आवश्यक परेन; कुनै वेश्यालय थिएन; मद्यपान थिएन; सम्बन्धविच्छेद थिएन । त्यहाँ उच्च स्तरको स्वास्थ्य र खुसी थियो ।