मेरो हृदयलाई चङ्गाइ गर्न परमेश्वरको शक्तिको खाँचो पर्‍यो– किम फुक

उनको नाउँ हो, किम फुक । भियतनामको ट्रङ्ग बाङ्ग नाउँ गरेको गाउँमा बस्थिन् उनी र उनको परिवार । भियतनाम युद्ध (ख्रिस्टाब्द १९५९-१९७५) को चपेटामा पर्ने बाल-बालिकाहरूमध्ये किम फुकको कथा हृदय विदारक छ । यो उनै ९ वर्षकी बच्चीको कहानी हो जो भियतनाम युद्धमा बाँच्न सफल भएकी थिइन् ।

८ जुन १९७२ मा किम फुकको गाउँमा विमानबाट नाप्लाम नामक बम खसालियो । यो अत्यधिक प्रज्वलनशील पदार्थ थियो । यस आक्रमणमा परेर किमका दुई जना नातेदार र अन्य दुई जना गाउँले मारिए । ९ वर्षकी किमको शरीरमा यो पदार्थ पर्ने बित्तिकै उनलाई असहय भयो । आफ्नो वस्त्र खोलेर उनी नाङ्गै भागिन् । फोटो पत्रकार निक उतले किमलगायत अन्य व्यक्तिहरू भागिरहेका दृश्यलाई आफ्नो क्यामेरामा कैद गरे । किमको नग्नताको दृश्यको कारणले सुरुमा न्युयोर्क टाइम्सले यसलाई प्रकाशित गर्न अरुचि देखाए तापनि पछि यसलाई छापिएको थियो र यो फोटो विश्व चर्चित भयो अनि यसले परिचित पुरस्कारहरू हात पार्‍यो ।

धुवाँको कालो मुस्लोको बिचमा रुँदै भागिरहेकी एउटी नग्न स्त्रीको दृश्यले फोटो पत्रकार निक उतको तुरुन्तै ध्यान खिँच्यो । उक्त पदार्थले यति बेलासम्म ९ वर्षकी बच्चीको घाँटी, शरीरको पछाडिको भाग र देब्रे पाखुरामा ठुलै चोट पुर्‍याइसकेको थियो । आफ्नो क्यामेरालाई थन्कोमन्को गरी पत्रकार बच्चीको मदतको लागि खटिए । तिनले किमलगायत अन्य केटाकेटीहरूलाई आफ्नो भ्यानमा राखी अस्पताल पुर्‍याए । भ्यानभित्र किम चिच्च्याउँदै थिइन्, “म मर्दै छु, म मर्दै छु ।” उनको परिवारलाई उनी बाँच्लान् जस्तो लागेको थिएन् । १४ महिनाको अस्पताल बसाइमा उनका कैयौँ शल्यक्रिया गरिनुका अतिरिक्त उनको छालाको प्रत्यारोपण गरियो । अन्तत: उनी बाँच्न सफल भइन् ।

तर किमले शान्तिको सास फेर्न सकिनन् । उनले आत्महत्या गर्नेसम्मको सोच बनाइन् । विभिन्न धार्मिक पुस्तकहरूको अध्ययनबाट किमले जवाफ खोजिन् ।

१९ वर्षको उमेरमा ख्रीष्टियान भएपछि उनले नयाँ जीवन पाइन् । उनले भनेकी छन्, “म ख्रीष्टियान भएपछि म, येशू र परमेश्वरसित मेरो अचम्मको सम्बन्ध रहेको छ ।”

क्यानडाको नागरिकता लिएकी फुक हाल लेखिकासाथै युनेस्कोको गुडविल राजदूत हुन् । फुकले किम फुक फाउन्डेसन पनि खोलेकी छन् जुन संस्थाले युद्धमा परेका बाल-बालिकाहरूलाई मदत पुर्‍याउने काम गर्दछ ।

फुक भन्छिन्, “बमको आगोले मेरो शरीरलाई जलायो । डाक्टरहरूको सिपले मेरो छालालाई निको पार्‍यो । तर मेरो हृदयलाई चङ्गाइ गर्न परमेश्वरको शक्तिको खाँचो पर्‍यो ।”

Facebook Comments

Powered by Youth Circle