जर्मनीको एउटा अन्धकार कोठामा भयभीत छोराछोरीहरू तिनीहरूकी आमाको वरिपरि झुम्मिएका थिए । तिनीहरूमध्ये जिल्ल परेका चार वर्षको बालक पनि त्यहाँ उपस्थित थियो जो अनाथ हुनै लागेको थियो । उसले सुनिरहँदा प्राण त्याग गर्नै लागेकी उसकी आमाले कानेखुसी गरिन्, “मेरा प्रिय छोरा-छोरीहरू हो, तिमीहरूका लागि मसित महान् खजाना छ ।” “आमा, त्यो के हो ?,” एक जना छोरीले सोधी । ती स्त्रीले बाइबललाई देखाइन् र भनिन्, “यसलाई बाइबलमा खोज । त्यहाँ तिमीहरूले महान् खजाना पाउने छौ । मैले हरेक पृष्ठलाई मेरो आँसुले भिजाएकी छु ।” त्यसपछि उनले प्राण त्याग गरिन् । परिवारमा शोक छायो । त्यो चार वर्षको बालकको नाउँ थियो– बारथोलोमाउस जिगनबाल्ग ।
ख्रिस्टाब्द १६८२ मा बारथोलोमाउसको जन्म एउटा गरिब तर भक्त ख्रीष्टियान परिवारमा भएको थियो । बारथोलोमाउस दया देखाउने आफ्ना साथीहरूसित बस्न गए । तिनले मर्ने बेलामा भनेकी आफ्नी आमाका वचनहरूलाई कहिल्यै भुलेनन् । १२ वर्षको पुग्दा तिनले येशूलाई प्रभु र मुक्तिदाताको रूपमा अङ्गाले । १८ वर्षमा तिनी विश्वविद्यालयबाट दीक्षित भए । सात महिना बिस दिनको लामो यात्रापश्चात् ९ जुलाई १७०६ मा बारथोलोमाउस हाम्रै छिमेकी मुलुक भारतमा आइपुगे । तर तिनलाई तुरुन्तै पक्रेर झ्यालखानामा हालियो ।
तथापि बारथोलोमाउसको आदर्श थियोः प्रार्थना गर र काम गर । झ्यालखानामा तिनले तामिल भाषा सिक्न परिश्रम गरे । जेलमुक्त हुनेबित्तिकै तिनले फेरि ख्रीष्टको बारेमा प्रचार गर्न थाले । एक वर्षभित्रमा तिनले पाँच जना दासलाई बप्तिस्मा दिए र चाँडै नै तिनले भारतका स्थानीयहरूका लागि पहिलो प्रोटेस्टेन्ट मण्डलीलाई समर्पित गरे । १७११ सम्ममा तिनले नयाँ करारलाई तामिल भाषामा अनुवाद गरेर फत्ते गर्नुका अतिरिक्त अन्य केही सामग्रीहरूलाई पनि तामिलमा उतारे ।
३५ वर्षकै उमेरमा यस धरतीबाट बिदा भएका बारथोलोमाउसले आफ्नो मृत्युमा शोक गर्न र तिनको कामलाई निरन्तरता दिनका लागि ३५० जना विश्वासी बनाउन भ्याइसकेका थिए । विलियम केरीलाई “आधुनिक मिसनका पिता” भनिन्छ भने सायद बारथोलोमाउसलाई यसको “हजुर बुबा” भनिनुपर्छ किनकि तिनले भारतमा विश्वासका साथ केरीभन्दा १०० वर्षअगि काम गरेका थिए ।