परमेश्वरको अस्तित्वको प्रश्न कत्तिको महत्त्वपूर्ण छ ?

ख्यातिप्राप्त समाजशास्त्रीसाथै धर्मको इतिहासकार रोड्नी स्टार्कको भनाइलाई पुस्तकमा उद्धृत गरिएको छ, “विज्ञान र धर्म एक-अर्कामा मेल मात्र खाँदैनन्, तर ती अलग गर्नै नसकिने गरी गाँसिएका छन् । गहन धार्मिक ख्रीष्टियान विद्वान्‌हरूद्वारा विज्ञानको उदय हासिल गरिएको हो ।” मैले केही हप्ताअगि पढेको पुस्तिकाको नाउँ Does God Exist? Why It Matters हो । के परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ ? किन यो महत्त्वपूर्ण छ ? माथिको उद्धरण यही पुस्तकबाट साभार गरिएको हो ।

ख्रिस्टाब्द २०१५ देखि पढिएका पुस्तकहरू गन्दा पुस्तक पठन यात्रामा यो मेरो ९३ औँ पुस्तक हो । एरिक चाब्बोट र क्रिस भान अल्सबर्गद्वारा लिखित यो पुस्तक यसै साल छापिएको हो । ६९ पृष्ठको यस पुस्तिकालाई पढेर सिद्ध्यान मलाई ३ दिन (अक्टोबर २९-३१) लाग्यो ।

म पुरुष भएर जन्मने कि स्त्री भएर ? म कुन देशमा जन्मने ? कुन परिवारमा जन्मने ? यी यस्ता प्रश्न हुन् जसको जवाफ हामी छनोट गर्न सक्दैनौँ । तर म कुन कलेजमा पढ्ने ? कोसित बिहे गर्ने ? कुनचाहिँ पेसा अङ्गाल्ने ? कुन भूगोलमा गएर जीवन बिताउने ? यी यस्ता प्रश्नहरू हुन् जसको जवाफ हामी छनोट गर्न सक्छौँ । निस्सन्देह, जीवनमा यी निकै महत्त्वपूर्न प्रश्नहरू हुन् र निर्णय लिनुअगि हामी निकै समय बिताउँछौँ । तर हाम्रो जीवनमा अर्को एउटा प्रश्न पनि अत्यधिक महत्त्वपूर्ण छ– के परमेश्वर अस्तित्वमा हुनुहुन्छ ? यो छोटो प्रश्नमा केवल चारवटा शब्द भए तापनि यो यति महत्त्वपूर्ण छ कि यसको जवाफले हाम्रो दैनिक जीवनमा प्रभाव पार्छ ।

पुस्तकको नामैबाट प्रस्ट छ कि यो परमेश्‍वरको अस्तित्वको विषयमा लिखित कृति हो । चारवटा अध्यायमा विभाजित यो पुस्तकको मुटु भनेको अध्याय तीन हो जहाँ लेखकद्वयले परमेश्‍वरको अस्तित्वको पक्षमा विविध साक्षी पेस गरेका छन् ।

मानव जीवनको एउटा सर्वाधिक महत्त्वपूर्ण प्रश्न हो– के परमेश्‍वर अस्तित्वमा हुनुहन्छ ? उहाँ हुनुहुन्न भने चिहान हाम्रो अन्तिम गन्तव्य हुन जान्छ र जीवनको कुनै अर्थ छैन । तर उहाँ हुनुहुन्छ भने हामी उहाँसँगै रमाउन सक्छौँ र चिहान उहाँकहाँ पुग्ने माध्यम मात्र हो ।

पुस्तकको परिचयमा परमेश्‍वरको अस्तित्वको प्रश्नको महत्त्वसँगै विविध विश्वदृष्टिबारे चिरफार गरिएको छ । अध्याय एकमा परमेश्वर अस्तित्वमा हुनुहुन्छ भने उहाँले हामीलाई किन चिन्ह दिनुहुन्न ? के विज्ञानले उहाँको अस्तित्व प्रमाणित गरेको छ ? भन्नेजस्ता प्रश्नहरूको चित्तबुझ्दो जवाफ पाइन्छ । परमेश्वर वास्तविक हुनुहुन्छ भनेर हामीले कसरी थाहा पाउने भनी दुई अध्यायमा छलफल गरिएको छ ।

तीन अध्याय पुस्तकको मुटु हो जहाँ परमेश्वरको अस्तित्वको पक्षमा १२ ओटा तर्क पेस गरिएका छन् । शून्यता हुनुको साटो किन कुनै कुरो (जस्तै: विश्व) अस्तित्वमा भएको होला ? परमेश्वरको अस्तित्वविना यसको जवाफ असम्भव छैन भने पनि पक्कै कठिन छ । प्राकृतिक नियमहरूको विद्यमानता, विश्वको व्यवस्थित अवस्था, मानवीय इच्छासाथै उसमा भएको तर्कशक्ति, विवेक, मानव-जातिका बिचमा पाइने वस्तुगत नैतिक नियमहरू, जीवमा उपलब्ध अकल्पनीय जानकारी आदिजस्ता अवधारणा परमेश्वरको अस्तित्वको पक्षमा पेस गरिएका छन् ।

चार अध्यायले के प्राकृतिक रहस्यबारे मानिसको अज्ञानताले परमेश्वरको सृजना भएको हो त ? भन्ने प्रश्नबारे सम्बोधन गरेको छ ।

परमेश्वरको अस्तित्वको पक्षमा प्राकृतिक ईश्वरशास्त्रलाई प्रयोग गरिएको यो पढ्न लायक कृति हो । परमेश्वरको अस्तित्वले हाम्रो उत्पत्ति, मानवीय अवस्था, छुटकारा, नैतिकता आदिजस्ता विविध पक्षहरूबारे हाम्रो बुझाइलाई प्रभाव पार्ने भएकोले परमेश्वरको अस्तित्वको सवाललाई बेवास्ता गर्नु मूर्खता हुन जान्छ ।

Facebook Comments

Powered by Youth Circle