स्टट— एउटा खुट्टा नभए तापनि चीनमा सुसमाचार लिएर गएका मिसनरी

एउटा मात्र खुट्टा भएको अशक्त व्यक्ति भएर पनि तिनी किन मिसनरी भएर चीन जान लागेका थिए भनी सोधिँदा तिनले यसरी उत्तर दिएका थिए, “दुईवटा खुट्टा भएकाहरू गएका मैले देखिनँ । तसर्थ, म जानैपर्छ ।” यसरी जवाफ दिने व्यक्ति थिए, जर्ज स्टट ।

बुबा जोन स्टट र आमा जेन एन्डरसनबाट १३ अप्रिल १८३५ मा स्कटल्यान्डमा जन्मेका स्टट हाम्रो छिमेकी मुलुक चीनको झेजियाङ्ग प्रान्तको वेन्जु सहरमा जाने प्रथम ख्रीष्टियान मिसनरी हुन् ।

१९ वर्षको उमेरमा लडेर खुट्टा सुन्निएकोले पछि स्टटले देब्रे खुट्टा नै गुमाउनुपर्‍यो । आफ्नो एउटा खुट्टा गुमेपछि सुरुमा स्टट स्कुलका शिक्षक बने । स्टटले कसरी आफ्नो एउटा गुमाउन पुगे भन्ने बारेमा तिनकी पत्नी ग्रेस किगीले लेखेकी छन्, “स्टट कृषिको काममा हुर्काइएका थिए, तर करिब १९ वर्षको पुग्दा तिनी बाटोमा चिप्ले र ढुङ्गामा तिनको घुँडा ठोकियो । यो सामान्य दुर्घटनाको परिणामस्वरूप तिनको खुट्टा सुनियो र दुई वर्षपछि देब्रे खुट्टा काट्नुपर्‍यो । नौ महिनासम्म तिनी सहाराविहीन अशक्त थिए, र यही समयावधिमा परमेश्वरले आफ्नो अनुग्रहमा तिनको आत्मा बचाउनुभयो ।” पत्नीका अनुसार त्यस बेलासम्म स्टटले लापर्वाह जीवन बिताएका थिए र तिनी “ख्रीष्ट येशूमा प्राप्त परमेश्वरको प्रेमप्रति तटस्थ थिए, तर अहिले तिनको सहाराविहीन अवस्थामा तिनको भविष्य नै धरापमा परेको जस्तो देखिँदा त्यही प्रेम कति अनमोल भयो!”

चाइना इनल्यान्ड मिसन नामक अन्तर-साम्प्रदायिक संस्थाको लागि हडसन टेलरले मिसनरीहरूको खोजी गर्दै थिए भनी जानकारी पाएपछि स्टटले पनि योगदान दिन चाहे । अपाङ्ग हुँदाहुँदै पनि कृत्रिम खुट्टा हालेर तिनी ४ अक्टोबर १८६५ मा मिसनरी भएर चीनतर्फ लागे र लगभग चार महिनापछि अर्थात् ६ फेब्रुअरी १८६६ मा चीनको साङ्घाईमा आइपुगे र तिनले तुरुन्तै त्यहाँको भाषा सिक्न थाले । त्यसको दुई वर्षपछि तिनकी पत्नी ग्रेस पनि आइपुगिन् र उनले झन्डै ३८ वर्षसम्म मण्डलीमा योगदान पुर्‍याइन् । शारीरिक अशक्तताको बाबजुत पनि जर्ज एक प्रभावशाली मिसन अगुवाको रूपमा खडा भए ।

मिसनरी हडसन टेलरद्वारा स्थापित चाइना इनल्यान्ड मिसनलाई हाल ओएमएफ इन्टरनेसनल भनेर चिनिन्छ । ख्रिस्टाब्द १८६५ मा स्थापित यस संस्थाले ८०० भन्दा बेसी मिसनरीलाई चीनमा झित्र्याउन महत्त्वपूर्ण भूमिका निभाको छ र यस संस्थामार्फत हजारौँ मानिसले आफ्नो जीवन प्रभु येशूमा सुम्पेका छन् ।

स्टटलाई मिसनको कामको लागि स्वीकार गरेर हडसन टेलरले विश्वासको प्रदर्शनी गरेका थिए किनकि कुनै पनि संस्थाले खुट्टा नभएको मान्छेलाई त्यस्तो देशमा पथ-प्रदर्शकको रूपमा पठाउँदैनथ्यो । आफूलाई स्वीकार गरेकोमा स्टट अक्सर टेलरप्रति आभारी भए ।

स्टटले सेवा गरेका वेन्जु सहरमा स्थापित झेङ्ग्सी क्रिस्चियन चर्च त्यहाँको प्राचीनतम चर्च हो जुन अहिलेसम्म पनि तिनको सेवाको साक्षीको रूपमा खडा छ । आज वेन्जु सहरलाई “चीनको यरूशलेम” भनेर चिनिन्छ किनकि पूरै वेन्जु नगरपालिकामा भएका ६० लाख जनसङ्ख्यामध्ये त्यहाँ १०% अर्थात् ६ लाख इभान्जलिकल ख्रीष्टियान छन् ।

अपाङ्ग भएर स्टटले चीनमा २२ वर्षभन्दा बेसी समय बिताए र ५४ वर्षको उमेरमा २१ अप्रिल १८८९ मा इस्टरको बिहान तिनी आफ्नो स्थायी घरमा प्रवेश गरे ।

Facebook Comments

Powered by Youth Circle