पण्डिता रामाबाई भारतका सामाजिक सुधारक, कवि, विद्वान्, स्त्रीहरूको स्वतन्त्रताको लागि हिमायतीसाथै शिक्षाका अगुवा हुन् । पूरै बाइबललाई अनुवाद गर्ने उनी प्रथम स्त्री हुन् । द हाई कास्ट हिन्दु वुमन् नामक अङ्ग्रेजी भाषामा प्रकाशित उनको कृतिले व्यापक प्रचार-प्रसार पाएको थियो । उनी नै मुक्ति मिसनका संस्थापक हुन् जुन मिसन खाँचोमा परेका एकल महिला, टुहुरा-टुहरी र दृष्टिविहीनहरूको निम्ति आजको दिनसम्म सक्रिय छ ।
उनी भारतमा त्यस्तो समयमा बाँचेकी थिइन् जुन समयमा स्त्रीहरूलाई पढ्ने वा काम गर्ने अनुमति थिएन; तिनीहरू पुरुषहरूभन्दा नीच ठानिन्थे । पतिबाट बच्चाबच्ची जन्माउनुबाहेक समाजमा तिनीहरूको अन्य महत्त्वपूर्ण भूमिका हुँदैनथ्यो । बाल विवाह व्यापक थियो । कैयौँ स्त्री सानै उमेरमा विधवा बन्थे अनि परिवार र समाज दुवैबाट तिरस्कृत हुन्थे ।
ख्रिस्टाब्द १८५८ मा पण्डिता रामाबाईको जन्म भारतमा भएको थियो । तिनका पिता अनन्त शास्त्री ब्राह्मण पुजारी, विद्वान्साथै सुधारक थिए । विधुर भएपछि ४४ वर्षको उमेरमा अनन्तले ९ वर्षकी लक्ष्मीबाई नाउँ गरेकी केटीसित बिहे गरे । लक्ष्मीबाईले अनन्तको निम्ति छोरी रामाबाई (जो पछि पण्डिता रामाबाईको नाउँले प्रसिद्ध भइन्) र अर्को छोरो जन्माइन् ।
अनिकालमा परेर पण्डिता रामाबाईले आफ्ना प्रिय बुबासहित परिवारका अन्य सदस्यहरू गुमाइन् । शान्तिको खोजीमा भौतारिएका रामाबाई कलकत्ता पुगिन् र त्यहाँका ब्राह्मणहरू उनको ज्ञानदेखि यति प्रभावित भए कि तिनीहरूले उनलाई ‘पण्डिता’ को उपाधि दिए ।
ब्राह्मण परिवारमा जन्मेर प्रभु येशू ख्रीष्टलाई अङ्गालेका रामाबाईले आफ्नो जीवनको आखिरी वर्षहरूमा मराठी भाषामा बाइबल अनुवादको थालनी गरिन् । उनले पहिले ग्रिक र हिब्रू भाषा सिकिन् । त्यसपछि आफू जहाँ जाँदा पनि उनले अनुवादलाई निरन्तरता दिइन् । उनको मृत्युको दुई वर्षअगि उनकी छोरी मानोराम्बाईको निधन भयो । सुन्ने शक्ति कम हुँदै गए तापनि रामाबाईले बाइबल अनुवाद गर्न भने छाडिनन् । उनी रोगले ग्रस्त भइन् तर उनको अनुवादको काम सकिएको थिएन । त्यसैले उनले सम्पादनको काम सक्न परमेश्वरलाई थप १० दिनको लागि बिन्ती चढाइन् । दस दिनपश्चात् उनले आफ्नो सम्पादनको काम सकिन् अनि ५ अप्रिल १९२२ मा उनी आफ्नो अनन्त घरमा प्रस्थान गरिन् ।
उनी ख्रीष्टियान भएकीले उनको ख्यातिलाई दबाइएको भए तापनि भारतका नारीवादी स्त्रीहरूले बिसौँ शताब्दीको उत्तराद्र्धमा उनको काम र सामाजिक योगदानलाई चर्चामा ल्याएका थिए । ख्रिस्टाब्द १९८९ मा रामाबाईको सम्मानमा भारत सरकारले हुलाक टिकट निकाल्यो ।