म अङ्ग्रेजीमा लद्दू विद्यार्थी थिएँ । कक्षा १ र ८ मा गरी म दुई पटक फेल भएँ । यसरी मैले जम्माजम्मी १२ वर्ष स्कुले जीवन बिताएँ । तर यी १२ वर्षको अध्ययनमा I want to eat rice भन्नेजस्ता सामान्य वाक्य पनि मैले मौलिक रूपमा व्यक्त गर्न सक्दिनथेँ । अब तपाईं आफै कल्पना गर्नुहोस् कि मेरो अङ्ग्रेजी कति कमजोर थियो भनेर । म कहिल्यै निजी स्कुलमा भर्ना भइनँ ।
स्कुले जीवनमा एउटा ठुलो चिन्ता थियो— एसएलसी (हाल एसईई) कसरी पास गर्ने होला ? अन्य विषयहरूमा म प्रतिभावान् विद्यार्थी भए तापनि अङ्ग्रेजी पास गर्नु मेरो लागि सगरमाथा चढे बराबर थियो ।
गोरखा जिल्लाको घ्याम्पेसालमा हाम्रो एसएलसीको सेन्टर पर्यो । आरूघाट बजारबाट तीन घण्टाको बाटो हिँडेपछि यहाँ पुग्न सकिन्छ । अङ्ग्रेजी विषयको दिनमा एक जना शिक्षकले कालो पाटीमा व्याकरणका उत्तरहरू लेखिदिनुभयो । एकातिर, ती उत्तरहरू धमाधम सारेँ भने अर्कोतिर ठिक मेरो पछाडि मेरा एक जना सङ्गी विद्यार्थी थिए र तिनको उत्तरपुस्तिकाबाट पनि मैले सार्न भ्याएँ । मलाई लाग्छ, हाम्रो समयमा (यो ख्रिस्टाब्द १९९८ कुरो हो) ३५ अङ्कको व्याकरण सोधिन्थ्यो । ती दिनमा डिस्टिङ्सनको चलन थिएन । ४२० वा सोभन्दा बढी अङ्क ल्याउने विद्यार्थी प्रथम श्रेणीमा गनिन्थ्यो । मैले जम्माजम्मी ४१९ ल्याएर दोस्रो श्रेणीमा चित्त बुझाउनुपरेको थियो । तर अङ्ग्रेजी विषयमा मेरो जम्मा ३४ आएको थियो जुन बेला ३२ आए पास हुन्थ्यो । यसरी चिट चोरेर मुश्किलैले मैले अङ्ग्रेजी विषय कटाएको थिएँ ।
काठमाडौँस्थित एउटा बाइबल स्कुलमा भर्ना भएपछि वास्तवमै अङ्ग्रेजी सिक्ने प्रेरणा पाएँ । बाइबल स्कुलमा छँदा कहिलेकाहीँ विदेशी वक्ताहरू आउने गर्थे । वक्ताको अङ्ग्रेजी प्रवचनलाई नेपालीमा अनुवाद गर्ने अनुवादकदेखि म मनमनै छक्क पर्थें, “ओहो! ती सबै कुरा कसरी याद गर्न सकेको होला ?”
दुई वर्षे कोर्स सकेपछि म भारत गएँ, थप बाइबल अध्ययन गर्नको लागि । वास्तवमा भारतमा त्यही ४ वर्षको अध्ययन अवधि (ख्रिस्टाब्द २००१–२००५) मा मेरो जीवनमा अङ्ग्रेजी अध्ययनमा क्रान्ति आयो ।
भारतको बाइबल कलेजमा जाने पनि नजाने पनि अङ्ग्रेजी भाषामा नै बोल्नुपर्थ्यो र त्यही भाषामा नै लेख्नुपर्थ्यो । बिदाका दिनहरूमा बाहेक अन्य दिनमा मातृभाषा बोल्नेले जरिबाना तिर्नुपर्थ्यो । अगिल्ला महिनाहरूमा आफूलाई अङ्ग्रेजी नआउने भएकोले म कलेजका सहपाठीहरूसँगै उति हिँड्दिनथेँ । कारण प्रस्ट छ— उनीहरूले प्रश्न सोध्थे, मलाई आउँदैनथ्यो अनि नआएपछि लज्जा बोध हुन्थ्यो । तर म हरेक दिन २ घण्टा अङ्ग्रेजी सिक्नको लागि व्यक्तिगत अध्ययनमा बिताउँथेँ । चुडामणी गौतमद्वारा लिखित English Grammar, Composition and Pronunciation लाई मैले एक जना नेपाली मित्रबाट हात पारेको थिएँ जुन किताब अझसम्म मसँगै छ । यो किताबलाई यति अध्ययन गरियो कि अभ्यासका निम्ति प्रयोग गरिएका ती पेपरहरू जम्मा गरिएका भए १० ओटा डोका भरिन्थे होलान् । अभ्यासको निम्ति म कागतलाई प्रयोग गर्थें अनि त्यसलाई कच्याककुचुक पारी फालिदिन्थेँ ।
मलाई अङ्ग्रेजी सिक्न मदत गर्ने अर्को निकै महत्त्वपूर्ण पुस्तकको नाउँ हो— Higher Level Speedy English Grammar & Composition । आर. के. पी. श्रेष्ठद्वारा लिखित यो कृति पनि अङ्ग्रेजी विकासमा मेरो लागि वरदानै साबित भयो ।
यसरी दैनिक अध्ययनपश्चात् अङ्ग्रेजीमा मेरो सुधार हुँदै गयो । म बीटीएचको लागि तेस्रो वर्षको विद्यार्थी थिएँ । हामीलाई व्यवस्थित ईश्वरशास्त्र पढाउनको लागि पावल इन्सद्वारा लिखित The Moody Handbook of Theology लाई पाठ्यपुस्तकको रूपमा प्रयोग गरिएको थियो । एकातिर यो ईश्वरशास्त्रका विद्यार्थीहरूका लागि निकै आधारभूत कृति थियो भने अर्कोतिर यसको भाषा सरल थियो । यस किताबको पाँचवटा मुख्य विभाजनमध्ये दोस्रो विभाजनमा व्यवस्थित ईश्वरशास्त्रबारे लेखिएको थियो जसलाई अनुवाद गर्न कस्सिएँ म । त्यस बेलाको अनूदित नेपाली अंशलाई पढ्दा मलाई अहिले लाज लाग्ने भए तापनि अनुवादमा त्यो मेरो जग थियो । बाइबल कलेजमा छँदा नै मैले येशू ख्रीष्टको दोस्रो आगमनसित सम्बन्धित अर्को कृतिको पनि अनुवाद थालेँ जसलाई मैले कलेज जीवनपश्चात् मात्र फत्ते गर्न सकेँ ।
भारतको बाइबल कलेजमा चार वर्ष बिताएर ख्रिस्टाब्द २००५ मा म नेपाल फर्कें । मलाई सालचाहिँ याद भएन तर मैले पारिश्रमिक लिएर अनुवाद गरेको पहिलो शीर्षक थियो— ब्याप्टिज्म । यो सानो पुस्तिका थियो ।
HTS अन्तर्गत दर्जनौँ पुस्तक-पुस्तिका अनुवाद गर्ने मौका मिल्यो । १८ वर्षको मेरो अनुवादको इतिहासमा आजको दिनसम्म मैले जम्माजम्मी ६७ ओटा पुस्तक-पुस्तिकासाथै ३० ओटाभन्दा बढी लेख-रचना अनुवाद गरिसकेको रहेछ । झन्डै दुई दशकको अवधिमा मैले EBMC, HTS, MTW, NCCC, UMN लगायत अन्य विभिन्न सङ्घ-संस्थाका सामग्रीहरू अनुवाद गर्ने अवसार पाएँ ।
अनुवाद गर्दा अङ्ग्रेजी र नेपाली भाषा दुवैको वृद्धि हुनुका अतिरिक्त अनुवाद गरिएको पुस्तकको विषयवस्तुबारे पनि ज्ञान हासिल हुन्छ । तसर्थ मलाई अनुवाद मन पर्छ । मेरो स्वास्थ्यले साथ दिएसम्म र प्रभुको अनुग्रह भएसम्म म अनुवादलाई जीवनभर निरन्तरता दिन्छु भन्ने लागेको छ ।
मैले १२ वर्ष स्कुलमा बिताएँ र ६ वर्ष आवासीय विद्यार्थीको रूपमा बाइबल इन्स्टिच्युटमा । तर ६ वर्षे अवधिले मेरो जीवनमा उदेकको उन्नति ल्याउन मदत पुर्याएको छ ।
परमेश्वरको असीमित अनुग्रहको टोकरीमा हाम्रो सीमित मेहनतलाई राखियो भने अद्भूत सफलता हात पार्न सकिँदोरहेछ । स्कुले जीवनमा २ वर्ष फेल भई १२ वर्ष स्कुलमा बिताए तापनि I want to eat rice जस्ता सामान्य वाक्य पनि व्यक्त गर्न नसक्ने मजस्तो अङ्ग्रेजीमा लद्दू विद्यार्थीलाई आज परमेश्वरले अनुवादकको रूपमा उभ्याउनुभएकोमा म उहाँप्रति सदा आभार व्यक्त गर्दछु ।