आत्महत्याको लागि हिँडेका नामुद जँड्याहाको जीवनमा वचनद्वारा नाटकीय परिवर्तन

ख्रिस्टाब्द १८७० मा अमेरिकामा जन्मेका मेल ट्रोटर नामुद जँड्याहा थिए । तिनी मादक पदार्थ सेवनको लतमा यसरी फसेका थिए कि रक्सी किन्न तिनले आफ्नो सानो छोरोको जुत्तासमेत बेचिदिन्थे । तिनले रक्सी सेवन नगर्ने कसम कतिपल्ट खाए तिनी आफैलाई याद थिएन होला । जाँडकै कारणले गर्दा तिनी बारम्बार जागिरबाट निकालिन्थे। दुई वर्षको आफ्नो छोरोको निधन भएपछि छोरोको मृत्युको कारण आफै नै भएको महसुस गरी तिनले आत्महत्या गर्ने सोच बनाए ।

कुरो १८९७ को हो । डुबेर आत्महत्या गर्ने हेतुले ट्रोटर लेक मिचिगन नामक तलाउमा हाम्फाल्न अगाडि बढ्दै थिए । तर तिनी लडखडाउँदै पेसिफिक गार्डेन मिसनको ढोकामा पुगे । त्यहाँ ह्यारी मुन्‍रेले सङ्गीत अगुवाइ गर्दै थिए । नसाले हल्लिँदै आएको मान्छेलाई देखेपछि तिनले गाउन छाडी यसो भने, “आउनुहोस्, हामी प्रार्थना गरौँ । हे परमेश्वर, यी दरिद्र मानिसलाई बचाइदिनुहोस् ।” सेवाको अन्त्यमा मुन्‍रेले यसो भन्दै निमन्त्रणा दिए, “येशूले तपाईंलाई प्रेम गर्नुहुन्छ र म पनि तपाईंलाई प्रेम गर्दछु ।” आफ्नो हात उठाए अनि ट्रोटर अगाडि बढे र प्रार्थनाको अगुवाइ खोजे । त्यस दिन ट्रोटरले आफ्नो जीवन प्रभु येशूमा सुम्पे । त्यस दिन तिनको आत्मिक जन्म भएको थियो ।

तिनको परिवर्तनको तीन वर्षपश्चात् केही व्यापारीहरूको निमन्त्रणामा ट्रोटर मुन्‍रेसँगै मिचिगन गए जहाँ ती व्यापारीहरूले रेस्क्यु मिसन सुरु गर्न खोजेका थिए । छक्क पार्ने कुरो त के भने ती भूतपूर्व पियक्कड ट्रोटर नै त्यस मिसनको निर्देशकको रूपमा छानिए जहाँ तिनले आफ्नो जीवनको पछिल्ला ४० वर्ष बिताए ।

मिसन सुरु गरियो । मानिसहरूको भिड लाग्यो । त्यस मिसनमार्फत कैयौँ मानिसका आत्मा बाँचे; जीवनमा रूपान्तरण आयो; विच्छेद भएका परिवारहरूको पुनर्मिलन भयो । आफ्नो जीवनको आखिरी घडीसम्म आइपुग्दा ट्रोटर एक अद्वितीय व्यक्तित्व बनिसकेका थिए ।

यसरी जीवनदेखि विरक्तिएर आत्महत्या गर्न हिँडेका जँड्याहाले जब येशू ख्रीष्टलाई पाए तिनको जीवन मात्र बद्लेन, तर तिनीमार्फत अन्य कैयौँले पनि नयाँ जीवन पाए ।

Facebook Comments

Powered by Youth Circle