जोनी— असक्तता भएकाहरूका लागि प्रेरणाकी स्रोत

“मेरो कमजोरी (गर्दनदेखि मुनि पक्षाघात) मेरो सबैभन्दा ठुलो सम्पत्ति हो किनकि म उठ्दा हरेक बिहान यसले मलाई ख्रीष्टका पाखुराहरूमा लैजान्छ ।” यो भनाइ पक्षाघात भएकी जोनी एरिक्सन टाडाको हो जो चित्रकार, वक्ता, अभिनेत्री र लेखिका हुन् । आफ्नो शारीरिक अवस्था जस्तोसुकै कमजोर भए तापनि इच्छाशक्ति भएमा अद्भुत सफलता हात पार्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण हो, जोनी ।

१५ अक्टोबर १९४९ मा पिता जोन र माता लिन्डीबाट जोनीको जन्म अमेरिकामा भएको थियो । परिवारमा जन्मेका चार छोरीमध्ये उनी कान्छी थिइन् । बुबाआमाको नमुनालाई पछ्याउँदै आफ्नो किशोरावस्थामा उनले निकै सक्रिय जीवन बिताइन् ।

जोनीलाई अन्य खेलहरूका अतिरिक्त पौडी पनि मन पर्थ्यो । कुरो ३० जुलाई १९६७ को हो जुन बेला उनी १७ वर्षकी थिइन् । पौडी पोखरी गहिरो होला भन्ठानेर डुबुल्की मार्दा कहिल्यै कल्पना नगरेको दुर्घटनाको शिकार बन्नुपर्‍यो उनी । उक्त दुर्घटनाको नतिजास्वरूप उनको गर्धन भाँचियो । उनी पक्षाघाती भइन् । उनको शरीरको कुमदेखिको तलको भाग नचल्ने भयो । अनुगामी वर्षहरूमा जोनीले रिस र निराशालाई मात्रै आश्रय दिइनन्, तर आत्महत्या गर्ने सम्मको सोच पनि बनाइन् ।

परमेश्वरले जोनीको जीवनमा त्यस्तो दुःख किन ल्याउनुभयो भनी उनले सोच्नै सकिनन् । तथापि जोनीको जीवनमा परमेश्वरले असाधारण योजना बुन्दै हुनुहुन्थ्यो । आफ्नो दर्दनाक अवस्थाको लागि परमेश्वरलाई गनगन गर्नुको साटो उनले परमेश्वरसितको सम्बन्धलाई गहिरो बनाउँदै लगिन् । त्यस्तो असक्त अवस्थाबाट नै परमेश्वरले उनको जीवनमा काम गर्न चाहनुभएको थियो भनी जब उनले महसुस गर्न लागिन्, तब उनको सफलताको यात्राको थालनी भयो ।

उनले ब्रुस दाँतमा राखेर चित्र कोर्न थालिन् र आफूले बनाएका चित्रहरू बेच्न सुरु गरिन् । उनका चित्रहरूको माग बढ्न थाल्यो । उनले आफ्ना चित्रहरूमार्फत ख्रीष्टको प्रेम पनि बाँड्न थालिन् ।

जोनीले ४८ ओटाभन्दा बेसी पुस्तक लेखेकी छन् र ती पुस्तकहरू अशक्तता र ख्रिस्टियमतको बारेमा छन् । विश्वका विभिन्न परिचित कलेजहरूबाट मानार्थ विद्यावारिधि प्राप्त गरेकी उनले असक्त मानिसहरूका लागि १९७९ मा जोनी एन्ड फ्रेन्ड्स नामक एउटा संस्था पनि खोलिन् जुन संस्थाले असक्तहरूका आवश्यकतालाई पूरा गर्नुपर्छ भन्ने येशूको आज्ञालाई शिरोपर गर्ने प्रयत्न गर्दछ । उनको संस्थाले हजारौँ मानिसलाई सेवा पुर्‍याउनका साथै विकासोन्मुख मुलुकहरूका खाँचोमा परेका अशक्त व्यक्तिहरूलाई एक लाखवटा ह्विलचेएरसाथै बाइबल वितरण गरेको छ । संसारमा अशक्तता भएका एक अरब मानिसकहाँ येशूको सुसमाचार पुर्‍याउनु जोनीको जीवनको लक्ष्य रहेको छ । ४७ ओटाभन्दा बढी मुलुक पुगिसकेकी उनी फरक क्षमता भएका मानिसहरूका पक्षपोषक हुन् ।

१९८२ मा जोनीले केन टाडासित बिहे गरिन् । उनका पति धेरै वर्षसम्म माध्यमिक स्कुलमा शिक्षक थिए यद्यपि तिनले अहिले अवकाश लिइसकेका छन् ।

जोनीका लेखहरू क्रिस्चियानिटी टुडे, टुडेज क्रिस्चियन वुमनजस्ता परिचित पत्रिकाहरूमा छापिएका छन् र उनी ल्यारी किङ्ग लाइभ नामक प्रसिद्ध सोमा चार पटक देखा परिसकेकी छन् ।

विभिन्न पुरस्कारहरू जितेकी ६९ वर्षकी जोनी आज विश्वमा असक्तता भएका मानिसहरूका लागि मात्र नभएर सक्षमहरूका लागि पनि प्रेरणाकी स्रोत बनेकी छन् ।

Facebook Comments

Powered by Youth Circle