के सबै धर्महरू उही हुन् ?

उत्तर–आधुनिकतावादको यस युगमा सत्यतालाई सापेक्ष ढङ्गमा हेर्ने झुकाव प्रायः जताततै फैलिएको छ । यसैले जन्माएको एउटा अभियान हो, धार्मिक बहुलवाद । सबै धर्म साँचा छन् भनी यसले विश्वास गर्छ । सारमा सबै धर्म उही त हुन् नि भन्ने विचारले जनमानसको दिमागमा कब्जा जमाएको छ । आफू इमानदार भएसम्म जुनसुकै धर्म माने पनि केही फरक पर्दैन भनी तिनीहरू भन्ने गर्छन् । व्याप्त सापेक्षवादको एउटा यस्तो संस्कृतिमा हामी बाँचिरहेका छौँ जसमा सत्यताको अवधारणा लचिलो बनेको छ; इतिहासलाई प्रचण्ड सन्देहवादको आँखाले हेरिन्छ र येशू परमेश्वरकहाँ पुग्ने एउटै मात्र बाटो हुनुहुन्छ भन्ने ख्रिस्टियमतको परम्परागत दाबीलाई धार्मिक असहिष्णुताको रूपमा हेरिन्छ । मुक्ति प्राप्त गर्नको लागि ख्रीष्टियान नै हुनुपर्दैन भनी बहुलवादीहरू विश्वास मात्र गर्दैनन्, प्रचार पनि गर्छन् । इमानदार मुसलमान, बौद्ध धर्मावलम्बी, हिन्दु र यहूदीले विभिन्न नाउँमा उही ईश्वरको पूजा आराधना गरिरहेका छन् भनी तिनीहरू सिकाउँछन् । नेपाली धार्मिक वृत्तमा सबै धर्म उही हुन् भन्ने बुझाइ एउटा लोकप्रिय आवाज हो । जुन बाटो गए पनि गन्तव्यमा पुगिहालिन्छ नि भन्ने कथन प्रायः हिन्दुहरूको मुखैमा झुन्डिएको हुन्छ । सबै धर्ममा केही समानताहरू नभएका होइनन् तर असमानता जगमा नै छ । सबै धर्म उही हुन् भन्ने भनाइले सामान्य धर्मावलम्बीलाई खुसी पार्ला तर यसले तर्कशास्त्रलाई बेखुसी तुल्याउँछ । यस पङ्क्तिकारले यहाँ चारवटा तर्कलाई अगि सारेको छ जसले सबै धर्म उही हुन् भन्ने अवधारणामा भुईंचालो ल्याउँछन् ।

१. विभिन्न धर्महरूले फरक–फरक कुरा सिकाउँछन् 

संसारका प्रमुख धर्महरूमा भएका समानताहरूलाई नकार्न सकिँदैन तर समानताभन्दा असमानता बढी छन् भन्दा तपाईं छक्क पर्नुपर्दैन । तिनका आधारभूत तत्त्वहरू यसरी फरक छन् कि धर्मको बारेमा सामान्य ज्ञान हासिल गरेको मान्छेले पनि सबै धर्म उही हुन् भन्ने आँट गर्दैन । हिन्दुहरू बहुईश्वरवादमा विश्वास गर्छन् । तिनीहरूको बुझाइअनुसार ईश्वर एउटा मात्र होइन, धेरै छन् । बौद्ध धर्मावलम्बीहरू नास्तिक होइनन् भने पनि तिनीहरू अनीश्वरवादीहरू हुन् । मुसलमानहरूले एकेश्वरवादमा विश्वास गर्छन् भने ख्रीष्टियानहरूले त्रिएक परमेश्वरमा । नास्तिकहरूले ईश्वरको अस्तित्वमा नै विश्वास गर्दैनन् । परमेश्वरको अस्तित्वको विषयमा कसरी यी सबै धर्म सही हुन सक्छन् जब कि एउटाले बहुसङ्ख्यामा विश्वास गर्छ, अर्कोले एउटामा त अर्कोले विश्वास नै गर्दैन ? यहाँ एउटा मात्र साँचो हुन सक्छ, सबै होइनन् । जसरी गणितमा एक र एक जोडेर दुई हुन्छ र बाँकी सबै उत्तर गलत हुन्छ त्यसै गरी परमेश्वरको अस्तित्वको विषयमा पनि एउटै विश्वास मात्र सही हुन सक्छ, सबै होइनन् । परमेश्वरको विषयमा मात्र नभई अन्य शिक्षामा पनि प्रमुख धर्महरूको बुझाइ नितान्त फरक छ । हिन्दुहरूका अनुसार मानिसको जन्म अगिल्लो कर्मको फल हो र यस कर्मको चक्रबाट छुटकारा पाई ब्रम्हामा विलिन हुनु नै मोक्ष अर्थात् मुक्ति प्राप्त गर्नु हो र यसको लागि तीनवटा विधि तोकिएका छन् । स्वार्थी इच्छाको कारणले दुःखको यस संसारमा मानिस परिबन्धमा परेको छ र उक्त इच्छालाई निर्मूल पारेपछि निर्वाणा अर्थात् मुक्ति पाइन्छ भनी बौद्ध धर्मावलम्बीहरू विश्वास गर्छन् र निर्वाणा प्राप्त गर्नको लागि आठवटा मार्ग छन् । इस्लाम धर्मअनुसार मानिस कमजोर छ तर पापी छैन । अल्लाहले तोकेको नियम कानुन पालन गरेमा स्वर्गमा गइन्छ र स्वर्ग भनेको रक्सी, स्त्री र गीत–भजनको स्थान हो । पापले मानिस र परमेश्वरको बिचमा भएको सङ्गतिलाई टुटाएको छ र येशूमा विश्वास गरेपछि त्यो पुनर्स्थापित हुन्छ र येशू मात्रै मुक्तिको बाटो हुनुहुन्छ भनी ख्रीष्टियानहरू विश्वास गर्छन् । मुक्ति के हो र यसलाई प्राप्त गर्ने विधिबारे यी धर्महरूको अवधारणा पृथक् छन् । हिन्दुहरूले पापलाई एउटा भ्रमको रूपमा लिन्छन् जब कि ख्रीष्टियान, मुसलमान र यहूदीहरूले यसलाई वास्तविकताको रूपमा हेर्छन् । लोकप्रिय विचारको विपरीत संसारका प्रमुख धर्महरूले उही कुरा सिकाउँदैनन् । एउटा धर्मको अर्को धर्मसित आधारभूत तत्त्वहरू नै मेल खाँदैनन् । तिनीहरूका बिचमा अपरिहार्य भिन्नता छन्, सहमति त केवल सतहमा मात्र हो । यति धेरै पृथक्ताका बाबजुद पनि कसरी सबै धर्महरू एउटै र उही हुन सक्छन् ?

२. प्रायः सबै धर्मले आफ्नो धर्मले मात्र मुक्ति दिन्छ भनी दाबी गर्छ 

येशू मात्रै मुक्तिको एउटै बाटो हुनुहुन्छ भन्ने ख्रीष्टियान दाबीको कारणले गर्दा ख्रीष्टियान धर्मलाई घमण्डी र सङ्कुचित धर्मको बिल्ला भिराइदिएको छ । मुक्तिको लागि येशू मात्र एउटै मार्ग हुनुहुन्छ भन्ने दाबी आत्मिक खोजकर्ताहरूको लागि आज एउटा ठुलो अवरोध भएको छ । तर लोकप्रिय बुझाइको विपरीत आफ्नो धर्मले मात्र मुक्ति दिन्छ भनी दाबी गर्ने केवल ख्रीष्टियान धर्म होइन । अन्य धर्महरूले पनि उही दाबी गर्छन् । मुसलमानहरू विश्वास गर्छन् कि इस्लाम धर्मको एउटै मात्र, पर्याप्त र अन्तिम आश्चर्यकर्म हो— कुरआन । हिन्दु धर्मका दुईवटा आधारभूत शिक्षा हुन्— वेदको सर्वाधिकार र जातीय प्रथा । सिद्धार्थ गौतमले यी दुवै शिक्षालाई इन्कार गरेकाले बुद्ध धर्मको जन्म हुन पुगेको थियो । कर्मको चक्र, वेदको अधिकार र पुनअवतारजस्ता शिक्षाहरूमा हिन्दुहरूले कसैसँग सम्झौता गर्दैनन् । हिन्दु धर्म र बुद्ध धर्म दुवैको चुनौतीको रूपमा सिख धर्मको उदय भएको थियो । यसरी यी धर्महरूले आआफूलाई सही मात्र ठान्दैनन् तर ईश्वरको अस्तित्वलाई इन्कार गर्ने नास्तिकहरू पनि हामी नै सही छौँ भनी दाबी गर्छन् । यसरी सबै मार्गले आफूलाई नै सही ठान्दा कसरी ख्रीष्टियान मार्गको दाबी मात्र असह्य हुन सक्छ ?

३. बाइबलले येशू मुक्तिको एउटै बाटो हुनुहुन्छ भनी दाबी गर्छ 

बाइबलले यो परमेश्वरको वचन हो भनेर दाबी गर्छ र यसको लागि पर्याप्त वस्तुगत साक्षीहरू छन् । विश्वसनीय यही प्राचीन धर्मशास्त्र बाइबलमा येशूको दाबीलाई यसरी लेखिएको छ, “येशूले भन्नुभयो, ‘बाटो, सत्य र जीवन म नै हुँ । मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन’” (यूहन्ना १४:६) । येशू मात्र स्वर्ग पुग्ने एउटै बाटो हुनुहुन्छ भन्ने भनाइ ख्रीष्टियानहरूले बनाएको नियम होइन, यो त येशू स्वयम्‌ले गर्नुभएको दाबी हो । उहाँको दाबी कि साँचो हुनुपर्छ कि झुटो । अरू कुनै वैकल्पिक उत्तर हुन सक्दैन । येशूको जीवनीको एक–एक पाटो अध्ययन गर्नेहरूले उहाँजस्तो अद्वितीय व्यक्ति यस धरतीमा कोही फेला पारेका छैनन् । तसर्थ उहाँको यस दाबीमा कुनै खोट छैन । प्रस्ट कुरो यो हो कि यदि उहाँको यो दाबी साँचो हो भने अरू दाबीहरू अर्थात् अरू धर्मले मुक्ति दिलाउँछ भन्ने कथन भ्रम मात्र हुन्छ ।

४. येशूले जे दाबी गर्नुभयो त्यसको पुष्टि पनि गर्नुभयो 

येशूले आफू परमेश्वरको पुत्र हुँ भनी दाबी मात्र गर्नुभएन तर त्यसलाई पुष्टि गर्ने साक्षीहरू पनि उहाँले जुटाउनुभयो । येशू मात्रै एक यस्तो अद्वितीय व्यक्तित्व हुनुहुन्छ जसले सैयौँ वर्षअगिका सैयौँ भविष्यवाणीलाई पूरा गर्नुभयो; आफ्नै शक्तिले अनगिन्ती आश्चर्यकर्महरू गर्नुभयो; पापरहित जीवत जिउनुभयो र मृत्युमाथि विजय हासिल गर्नुभयो । गौतम बुद्ध, मुहम्मद, कन्फ्युसियस, कार्ल मार्क्स वा अन्य धार्मिकसाथै दार्शनिक अगुवाहरूको जन्मअगि तिनीहरूको बारेमा कुनै विशुद्ध भविष्यवाणी गरिएको जानकारी हामीसँग छैन ।

व्यक्तिगत रूपमा मानिसहरूले जुन धर्मलाई पनि अङ्गाल्न सक्छन् र उसको विश्वास जुनसुकै पनि हुन सक्छ र ऊ त्यस धर्ममा ज्यादै इमानदार पनि हुन सक्छ । तर उसको इमानदारीले सच्चाइलाई परिवर्तन गर्न सक्दैन । हाम्रा भावपरक विश्वासहरूले येशू परमेश्वरका अद्वितीय पुत्र हुनुहुन्छ भन्ने वस्तुगत यथार्थतालाई परिवर्तन गर्दैन । येशूको बारेमा हामीले जे विश्वास गरे तापनि त्यसले उहाँ वास्तवमा को हुनुहुन्छ भन्ने सत्यतालाई बद्लन सक्दैन । इमानदारी र समर्पणताले मात्र व्यक्तिलाई सही बनाउँदैन । ती केमा छन् भन्ने कुरा बढी महत्त्वपूर्ण हुन्छ । के हिटलर र स्टालिनजस्ता विभत्स हत्या गर्नेहरू आफ्नो कामको लागि समर्पित थिएनन् र ? तर के तिनीहरू सही थिए त ? पृथ्वी थेप्चो छ भनी इमानदारीपूर्वक म पूर्णतः विश्वास गर्न सक्छु । तर मेरो इमानदार विश्वासले पृथ्वीको गोलाइमा परिवर्तन ल्याउँदैन । म काठमाडौँको कलङ्कीबाट पोखरा जाने गाडीमा चढी इमानदारीसाथ नारायणगढ पुग्छु भनी विश्वास गर्न सक्छु । तर के चालकले मलाई पोखरा नै पुर्‍याउँदैन र ? तसर्थ विश्वास र समर्पणता मात्र महत्त्वपूर्ण अवयवहरू होइनन् । हामीले केमाथि वा कसमाथि विश्वास गरेका छौँ भन्ने कुरा हाम्रो गन्तव्यको सम्बन्धमा ज्यादै महत्त्वपूर्ण छन् । अरूको विश्वासलाई हामीले आदर गर्नुपर्छ तर प्रेमपूर्वक सत्यता बताउन हामी पछि पर्नुहुँदैन । यथार्थतः यदि तपाईंले वास्तवमै मानिसलाई प्रेम गर्नुहुन्छ र आदर गर्नुहुन्छ भने अनन्त परिणाम ल्याउने सत्यताको बारेमा तपाईंले अवश्य बताउनुहुन्छ । मलाई व्यक्तिगत रूपमा सबै धर्म सही छन् र ती सबैले मुक्ति दिन्छन् भन्ने कुरो सत्य भइदिए हुन्थ्यो जस्तो लाग्छ तर मेरो तर्कशास्त्रले त्यसलाई मान्दैन । येशूले मात्र आफ्नो दाबीको पुष्टिको लागि पर्याप्त वस्तुगत साक्षीहरू पेस गर्नुभयो । तसर्थ मेरो तर्कले यही भन्छ कि उहाँ मात्रै, केवल उहाँ मात्रै मुक्तिको बाटो हुनुहुन्छ ।

Facebook Comments

Powered by Youth Circle