एरिक— सगरमाथाको टुप्पोमा पाइला टेक्ने एक मात्र दृष्टिविहीन

ख्रिस्टाब्द १९५३ मा सर एडमन्ड हिलारी र तेन्जिङ्ग नोर्गेले पहिलो पटक सगरमाथाको टुप्पोमा पाइला टेकेपछि साहसिक यात्राको लागि सगरमाथा आकर्षण बन्यो यद्यपि आरोहणको क्रममा धेरैले ज्यान गुमाएका छन् । २००१ मा एरिक नाम गरेका दृष्टिविहीनले पनि संसारकै सर्वोच्च शिखरमा पाइली टेकी इतिहास रच्ने योजना बुने । शारीरिक दुर्बलता मात्र तिनको अवरोध थिएन, तर दृष्टिविहीनको लागि शेर्पा गाइडहरूलाई मनाउन पनि पक्कै सजिलो भने थिएन । तर एरिक काठमाडौँ आइपुगेपछि तिनका गतिविधिहरू देखेपछि स्थानीयहरू यति छक्क परे कि तिनले आँखा देख्दैनथिए भनेर पत्याउनै मुश्किल भयो । तिनले वास्तवमै नदेखे तापनि तिनी शारीरिक रूपमा सक्षम थिए भनी शेर्पा गाइडहरूलाई विश्वस्त तुल्याएपछि यस साहसिक यात्राको लागि तिनीहरू राजी भएका थिए । गाइडहरूले मात्र आशङ्का व्यक्त गरेका थिएनन्, तर अन्य पर्वतारोहीहरूले पनि गम्भीर चिन्ता व्यक्त गरेका थिए । तर विविध अवरोधहरूका बाबजुद पनि २५ मे २००१ मा सगरमाथाको टुप्पोमा पाइला टेकेर एरिकले इतिहास रचे ।

एरिकको यो असाधारण प्राप्तिबारे अङ्ग्रेजी पत्रिका टाइममा लेखिएको थियो, “एरिकले जे गरेका छन्, त्यसलाई व्यक्त गर्न सकिँदैन किनकि कसैले यस्तो गरेकै छैन । यो एउटा अद्वितीय प्राप्ति हो ।” तिनी नै संसारको उच्चतम टाकुरा सगरमाथामा पाइला टेक्ने प्रथम दृष्टिविहीन बने र हालसम्म सगरमाथा आरोहण गर्ने दृष्टिविहीन तिनी मात्रै हुन् । ३२ वर्षकै उमेरमा तिनले यो अद्भूत सफलता हासिल गरे । सातवटै महादेशका उच्चतम टाकुराहरूमा पाइला टेकिसकेका तिनले अन्य विभिन्न टाकुराहरूको पनि आरोहण गरेका छन् ।

“ख्रीष्टमा हामीले प्राप्त गर्ने कुरोको कुनै सिमा छैन”, दृष्टिविहीन भएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका एरिकको भनाइ हो यो । एरिक वेहेनमाएर खेलाडी, लेखक, साहसिक यात्रुसाथै प्रभावशाली वक्ता हुन् ।

२३ सेप्टेम्बर १९६८ मा एरिकको जन्म अमेरिकामा भएको थियो । १५ महिनाको पुग्दा एरिकमा रेटिनोसखिसिस दुर्बलता भएको पुष्टि भयो र १३ वर्षमा तिनी पूर्णत: दृष्टिविहीन बने । १६ लागेपछि तिनले आफूलाई अगुवाइ गर्न एउटा बाटो देखाउने कुकुरको प्रयोग गर्न थाले । आफू दृष्टिविहीन भए तापनि तिनले पहाडहरू चढ्ने कोसिस गरे ।

१९९५ मा एरिकले पहिलो पटक अग्लो पर्वत आरोहण गरेका थिए । २००४ मा आफ्ना केही सहयात्रीहरूसँगै तिनी सगरमाथाको उत्तरी क्षेत्रमा २१,५०० फिटसम्म उक्लन सफल भएका थिए ।

आँखा नदेख्ने भएर पनि आफूले गर्न नसक्ने कुरोमा एरिकले ध्यान लगाएनन्, बरु तिनको ध्यान आफूले गर्न सक्ने कुरोमा खिँचियो । परिणामत: तिनी असाधारण सफलतालाई चुम्न सफल भए ।

नो ब्यारियर्स युएसए नामक तिनको संस्थाको नारा नै ज्यादै उत्प्रेरक छ, “तपाईंको मार्गमा जे छ त्योभन्दा तपाईंभित्र भएको कुरो शक्तिशाली छ ।” यस संस्थाले विविध पृष्ठभूमि र क्षमता भएका मानिसहरूलाई अगाडि बढ्न, चुनौतीको सामना गर्न अनि अरूहरूको सेवा गर्न मदत पुर्‍याउँछ ।

मण्डलीका युवाहरूसितै आफ्नो किशोरावस्थामा पहाड चढ्न थालेका एरिकले यसो भनेका छन्, “परमेश्वरले मेरो निम्ति जे गर्नुभएको छ अरूहरूको जीवनमा भएका सगरमाथामाथि विजय हासिल गर्न तिनीहरूले पनि विश्वासको जीवन जिई उहाँको भलाइलाई अनुभव गरेको चाहन्छु म ।”

Facebook Comments

Powered by Youth Circle